काठमाडौँ २०८० फागुन ३ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला –२०८० को आयोजना गरेको छ ।यस पुस्तक प्रदर्शनीको आयोजना २०८० फागुन १८ गतेसम्म रहने छ ।
पुस्तक प्रदर्शनीको उदघाटन प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको थियो । यसै क्रममा कुलपति राईले पठन संस्कृतिलाई व्यापक तुल्याउने उद्वेश्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको हो भन्नु भएको थियो । उहाँले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठक सामू पुर्याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोडदिनु भएको थियो ।
यस क्रममा उहाँले अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञालाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको छ भन्नु भएको थियो । प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित शब्दकोष, समालोचना, खोजअनुसन्धान, भाषा, साहित्य, दर्शन, सामाजिक, इतिहास, कला र संस्कृति लगायतका विधागत पुस्तकहरू राखिएका छन् ।
आमपाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश लगायत एक हजारथान भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएका छन् । प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले रु २० (बिस)देखि ४० (चालीस) प्रतिशतको विशेष छुटमा खरिद गर्न सक्ने छन् । प्रदर्शनीमा रू. ५ (रु पाँच) मूल्य रहेको काव्यर्चनादेखि रू.(तीन हजार तीन सय पाँच रूपैयाँ ) ३,३०५/- मूल्य रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोशसम्म राखिएको छ।