• २०८१ असोज २८ सोमबार

तिमीले छोडेर गएको रित्तो आकाश 

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

तिमीले छोयौ । मैले पनि छोएँ । ढुङ्गा । केवल एउटा ढुङ्गा । फूल त थिएन नि त्यो है ! तर तिमीले छोइदिएपछि त्यो फूल भयो या देउता भयो रहस्य लागिरहेछ । उकालीमा सँगै थियौँ हामी । निधारमा पसिना थियो । सजल तिम्रो मुहारमा हेरेथेँ, बग्दै थियो एक तापीय गुलाबी गुलजार । हाम्रो गन्तव्य थियो झर्नाको आदिम लय सुन्ने । मलाई त्यतै डोर्यायो आज । तिमी पनि त प्रकृति त हौ नि  ! म खिचिँएँ तिमीले अघिअघि लगाउँदै देखाएको स्वर्ण स्वतन्त्रताको  बाटोमा निस्फिक्री हिँड्न । तिमीसँगै चालेका गोडामा तिम्रो पैतालाको अर्को अनौठो तर मीठो रिदम मभित्र प्रतिध्वनित भयो र त सजिलोसँग उक्लिएँ त्यो उकाली ।
धराको त्यो अभिनव शीतलताले म कसरी निःसृत भएँ यतिवेला झङ्कृत भैरहेछ त्यो दिव्य सुखानुभूतिको कलकल कोमलता आफैँभित्र । यस्तो अनौठो अलौकिक अनुभूति कहिल्यै भएको थिएन ।
बित्यो है त्यो सुनौलो दिन ! कसरी बित्यो केही याद छ तिमीलाई ? एक अजम्बरी भेट हाम्रो । एक अभिनव मिलन । जस्तो मिलन आकाश र धराको । मिलेजस्तो पनि नमिलेजस्तो पनि । छोइएजस्तो पनि नछोइएजस्तो पनि । क्षितिजमुनि हेरे छोइएजस्तो । क्षितिजमाथि हेरे नछोइएजस्तो तर अर्कै आनन्द । अर्कै खुसी । अर्कै अनौठो दिव्यतानुभूति । अर्कै आभास । एउटा अर्कै खुसीको इन्द्रेणी  । एक अथाह अतीत मिसिएको एउटा अनौठो वर्तमान देखेँ मैले तिम्रा आँखामा  । कस्तो अपरिसीम है ! एकै पल त रहेँ म तिमीसँग । अब म पर्वतको मध्यभागमा अवस्थित त्यही तिमीले छोएर देउता बनाइदिएको ढुङ्गालाई सोध्नेछु– त्यो गोधूलि स्पर्श कस्तो लाग्यो तँलाई भनेर । तिमीले छुँदा आफैँमा कोमलानुभूति गर्यौ । मैले पढिँरहे तिम्रो जुनेली मुहार । एउटा खुसी अनायास विस्फारित भयो । तिम्रो ओठबाट झर्यो चाँदनी उज्यालो । धपक्कै बल्यो । कति भाग्यमानी त्यो पत्थर । पत्थर परमेश्वर बन्यो है ! बनाइदियौ तिमीले । बिन्ती मलाई पनि छोइदिए हुन्थ्यो नि ! त्यसरी नै जसै छोएर अनमोल बनाइदियौ त्यो ढुङ्गालाई ।
ढुङ्गा जसले, तिम्रो कोमल स्पर्श पायो– कस्तो भाग्यमानी त्यो ढुङ्गा ! जब तिमीले त्यो पत्थरलाई छोयौ त्यही वेला तिम्रो अनौठो अनुकृति पढेँथेँ तिम्रो मुहारमा । त्यो तिम्रो चमत्कृत आभामण्डलमा त्यस्तो खुसीको उभार कहिले पलाएको थियो त यसअघिको अतीतमा ? नढाँटी भन न  ! तिमीले ढुङ्गालाई देउता बनाइदिने उद्देश्यले छोइदिएकी हौ त ? सजीवले मात्रै होइन, निर्जीव वस्तुले पनि हाम्रो स्पर्शको अपेक्षा राख्छन् है ! तिम्रो छुवाइले यो कुराको अभिबोध भयो मलाई । तिमीसँग छुट्टिएपछि आज हरेक रुखलाई, हरेक  पातलाई हरेक बाटोलाई, हरेक ढुङ्गालाई छुन मन लाग्छ । तर त्यहाँ तिम्रो अभावको कारण उति रमाइलो महसुस गर्दिनँ । तिमी नभएको स्थान रमाइलो लाग्दैन । रमाइलो र आनन्दको स्रोत हामी आफैँभित्र छ नि भन्थ्यौ तर खै मलाई त तिमी नै आनन्दको स्रोत लाग्यौ । घाम नभए पनि घामको न्यानो खोज भन्छ तिम्रो दर्शनले तर म मान्दिनँ । मलाई त तिम्रो अनुपस्थितिको चिसो लागिरहेछ । दर्शन एकातिर छ । सुदूर सभ्यता एकातिर छ । आदर्शवाद एकातिर छ तर म त्यही यात्रामा बाँच्न चाहन्छु । एउटा नाङ्गो यात्रा । एउटा सगोल यात्रा । एउटा यथार्थ यात्रा । एउटा त्यस्तै यात्राजस्तो हौँ हामी, त्यस्तै यात्रा । छलकपटविहीन यात्रा । आदर्श र सभ्यताको बोक्राले नछोपिएको यात्रा । निर्भीक यात्रा । खुला यात्रा । जे माग्छ मनले त्यही गर्दै हिँड्ने यात्रा । तिमीसँगैको त्यो परम यात्रा । एउटा अतीव प्रिय यात्राप्रकृति ! रुन मन लाग्यो भने रुने । हाँस्न मन लाग्यो भने हाँस्ने । ध्यानस्थ हुन मन लाग्यो भने आफैँभित्र हराउने तर तिम्रो स्नेहको जरा समाएर ।
तिम्ले त मलाई पुजारी बनाइदियौ, तिमी आफैँको प्रकृति  ! तिम्रो अनुहारको कान्ति पढेपछि मैले पनि हठात् छोइदिएँ त्यस ढुङ्गालाई अपलक । तर खै किन पो हो घोच्यो मलाई त्यसको यायावरले । तिम्ले जुन भागमा छोएकी थियौ नि, मैले पनि त्यही भागमा  हात राखेको थिएँ । अलिकति मधुर तातो थियो त्यहाँ तिम्रो हत्केलाको । अलिकति सुगन्ध थियो तिम्रो आभाको । अलिकति पुलकता थियो तिम्रो सजीवताको । अलिकति आनन्द मिसिएको उभार थियो तिम्रो दिलको । मेरो हात पवित्र भयो । तिम्रो हात नछोए पनि तिम्रो हातले छोएको पत्थरलाई छोएँ नि मैले नुबी ! । सबै सबै भन्न सक्तिनँ । बयान नै गर्न सक्तिनँ । जिन्दगीका कतिपय परिघटनाहरूको सगोल बयान नै गर्न नसकिँदोरहेछ । हामी यही सपनाको वर्तुल इन्द्रेणीमा स्वप्निल हुन्छौँ । शब्दहरू आफैँआफैँ हराउँदैहराउदै जाँदारहेछन् । यो हो कि सत्य, त्यो हो कि सत्य, तिमी नै पो हौ कि सत्य या हामीसँगै हिँडेको त्यो गोरेटो पो हो कि सत्य ! के सत्य पनि सापेक्ष हुन्छ र प्रकृति ! भन न ।
कस्तो रुमानी  पल हो त्यो । तिर्खा थिएन मनमा कत ैपनि । घामको रापले अलमस्त थियो धरा । जुन ढुङ्गालाई तिमीले छोयौ, त्यो ढुङ्गा यतिवेला एकान्तिक बर्बरताले रुँदै होला । जस्तो म यतिवेला तिमीसँगको बिछोडबाट अनुभूत गर्दै छु । हरेक कुरामा सजीवताको कलिलो घाम खोज्ने तिम्रो यत्नलाई मेरो अभिवादन छ  प्रकृति  !  कणकणमा कला खोज्ने तिमीभित्रको कालिगडलाई मेरो सदैव सम्मान । यतिवेला तिमीले छोएको ढुङ्गामा हीरा बल्दै होला । म आफ्नो हातको भाग्यरेखा हेर्दैछु । भाग्यरेखा त सिधै सलल बगेकै हो सुन्दरीजलको पानीजस्तै तर किन तल अलिक तल वाग्मती नपुग्दै यो धमिलिन्छ । सोधिरहेछु म आफ्नै हत्केलाबाट चिरा पर्दै उठेका रेखाहरूलाई । मैले सोध्न बिर्सिएछु, तिमीले अँगालो हालेको त्यो ढुङ्गालाई । कि निर्जीव र सजीवबीचमा पनि  प्रेमको टुसा उम्रन्छ र ? हे ढुङ्गा तँ त्यही उकालोमै त छस् ! कतै नजा है फेरि कुनै दिन हाम्रो भेट जुर्यो भने सोधूँला त्यो सलिल स्पर्शबोधिताका बारेमा । तैँले सत्य बोल्छस्, मलाई थाहा छ । यहाँ ढुङ्गाले मात्रै हो सत्य बोल्छ भन्ने कुरा । हामी जीवनधारीहरू सापेक्ष सत्य बोल्छौ ! हामी तलतल बग्दै गएका थियौँ सुन्दरीजलजस्तै ।
झर्नाको छेवैमा बस्यौँ हामी । उनी मेरो आकृतिलाई क्यामरामा कैद गर्दै थिइन् । त्यो भूगोल । त्यो सारा इन्द्रेणी । त्यो पवित्र नदीको उद्गम धारा । चराहरूसँगको सम्लाप । निर्मल आकाशको गोधूलि छानो । अनि सबैभन्दा मन परेको उनको निश्चिन्त मुस्कानबाट बग्दैबग्दै आएको एक धर्सो हेराइ, जो मैतिर विस्फारित भैरहेको थियो । अनि झर्नाबाट उछिट्टिएर उत्फुल्ल हुँदै गालामा छुन आएका पानीका सुनौला कणहरू । यस्तो लाग्यो– ती थोपाथोपाबाट एउटा आदिम गीत गुन्जिरहेको छ । प्रेमको । शान्तिको । खुसीको  । चिसो तर सजल ! त्यो शारदीय शान्ति अहो ! । उनलाई हातको इसाराले बोलाएँ । हेरे उनको त्यो रुमानी खुसी उत्फुल्ल आँखामा तरेली परिपरी भिज्दै आएको मखमली माया ।
उनी मसँगै ढुङ्गामा बस्न आइन् । हामी दुवै एउटा अर्कै आनन्दको संसारमा पुग्यौँ । प्यारो–प्यारो त्यो शीतल शान्तिको हृदयस्थलबाट एउटा अर्कै ॐकार गुन्जिएजस्तो अनुभूति भो । मैले भनेँ– ‘हामी ध्यान गरूँ !’ उनी खुसीले अलमस्त थिइन् । म प्रसून थिएँ । मदहोस त्यो रुमानी पल आफैँमा गदगद थियो । ध्यानस्थ भयौँ झर्नाको अगाडि । नजिक थियाँै एकआपसमा । एकले अर्काको श्वासको साउती पनि सुनिने । कस्तो अचम्म है ! मैले उनको मुटुको धुकधुकी सुनेँ झर्नाको सुसेलीमा पनि । झर्नाबाट उछिट्टिँदै आएको पानीले उनको आँखाको परेली भिजाएको थियो । एकाएक हामी ध्यानको गहिराइमा गयौ । शून्यमा हरायौँ कतिबेर ।
त्यो अलौकिक आनन्दको बयान गर्ने सामथ्र्य  मसँग छैन अहिले ।
जब ध्यानबाट हामी बाहिर आयौँ । उनले मलाई सोधिन्– ‘के पाउनु भो ध्यानको अतल गहिराइमा पुगिसकेपछि ?’ मैले भनेँ– ‘निराकार देखेँ, शून्य देखेँ, शान्ति देखेँ र केही बेर देखेँ  उज्यालो ज्योति स्वरूप ।’ उनलाई सोधिनँ मैले  तिम्ले के देख्यौ भनेर । तर पनि उनले भनिन्–
‘केही छ त्यो परपर एउटा आशाको किरण निःसर्त देखिने तर ध्यान गहिरो हुनुपर्छ ।’ हामीले जति वेलासम्म ध्यान गर्यौं । हामी हामीमै थिएनौँ । न उनी त्यहाँ थिइन् । न म नै त्यहाँ थिएँ । हाम्रो भौतिक शरीर त्यहीँ थियो तर हामीचैँ कहाँ गयौँ थाहा थिएन । हामी कुन दिशाबाट आएका थियौँ त्यो पनि थाहा थिएन । केहीकेही थाहा थिएन । मैले जब आँखा खोलेँ, सँगै पाएँ उनलाई । उनको मुहारमा एउटा अलग उज्यालो थियो । एउटा अर्कै शान्ति थियो । मैले हेरेँ त्यो चपल नयनको भृकुटीमा । त्यो नयनका डिलमा छुन मन लागेको थियो । किनभने त्यहाँ पानीको सुनौलो थोपा थियो । पुछ्न मन लागेको थियो ती सुनौला कणलाई हातले । तर सकिनँ छुन । पानीका बुँद र ध्यानको गहिराइले छोइएकी उनी यति कोमल र पवित्र लागिन्, छोइदिनु पनि फूलमाथि चम्केको शीत झारिदिनुजस्तो लाग्यो ।
ब्यूँझिसकेपछि फेरि हामी यही भौतिक भूगोलको संसारमा फर्कियौँ । माया लाग्यो वरिपरिको फेरि । उनलाई हेरेँ, अलिकति हाँसेँ म । उनी अलिक लजाइन् । त्यो लज्जामा पनि एउटा अर्कै सघनता थियो । अर्कै सुखानुभूति र तृप्ति थियो । ढुङ्गाबाट तल झर्नाको पानी जमेर सानो तलाउ परेको थियो । मैले सोधेँ– ‘मलाई त्यहाँ गएर त्यो पानी छुन मन लाग्यो ।’ ‘जानु न’ भनिन् उनले । म तल गएँ । पानी छोएँ । तल अलिक गहिरो नै थियो । तल पुगेपछि मैले हेरेँ उनलाई । यस्तो लाग्यो मैले आकाशमा जुन हेरिरहेछु । म तल गएको । पानी छोएको । अनि ढुङ्गा समाउँदै माथि आएको सबै तस्बिरहरू आफ्नो मोबाइलमा कैद गरिसकिछन् । जीवनमा पहिलोचोटि प्रकृतिसँग यसैगरी  पुलकित भएको म पहिलोचोटि हो । हे शून्य  ! तँलाई कस्तो लागिरहेछ मेरो बयान ? सुन्दै जाऊ है ! कति कति भन्नु छ तँलाई हाम्रा कुरा ।
ढुङ्गा त ढुङ्गा नै हो तर ढुङ्गा पुजियो भने ईश्वर बन्दोरहेछ । यही कुरा प्रमाणित गरिदिइन् आज उनले । कस्तो मीठो थियो त्यो मैले बयान गरेको हाम्रो हिजोको आज । ‘मसँग कुरा गर्दा वा मसँग रहँदा पुरुष र प्रकृतिभन्दा माथि उठेर व्यवहार गर्नुहोला है’ उनको यस भनाइमा एउटा विहङ्गम व्याख्या लुकेको थियो । प्रकृति र पुरुषभन्दा माथि के छ त्यो सबैले देख्दैनन् । देख्नेले देख्छन् । अनुभूत गर्नेले गर्छन् । ‘एउटा पुरुषसँग छु भन्ने कुरा मैले यतिवेला बिर्सेको छु ।’  उनको यो वाक्य बोलेपछि म एकछिन सोचमग्न भए । हो वास्तवमा कति सजल कुरा थियो त्यो । एउटी नारी कुनै पुरुषसँग हुँदा पुरुषसँग बसेको अनुभूति नगर्नु भनेको त्यहाँ कुनै दूरी र सङ्कोचको पर्वाह नगर्नु पनि हो । एकै आखाले हेर्नु हो यो चराचर जगत्लाई । लाज, सङ्कोच, क्षोभ, भय, चिटचिटापन, उन्माद, यौन, वासना, आलिङ्गन, आतुरता, रन्जकता, यी सबैसबै कुराहरूबाट मुक्तिको कुरा थियो उनको ।
भौतिकरूपमा जसै पार्वती र शिवको रूप अलग देखिए पनि आत्मिकरूपमा उनीहरू दुई एकै त थिए । अर्धनारीश्वर ! शिवको आधा स्वरूप पार्वतीकै थियो अनि पार्वतीको आधा स्वरूप शिवकै थियो । यही हो स्त्री र पुरुषबीचको समभाव । उनले यही भन्न चाहेकी थिइन् मसँग । वासनाको अवशेष केही नरहेपछि त्यहाँ अर्कै शान्ति र प्रेमको अनुधारा बहन्छ । त्यही बगिरह्यो त्यो दिन हाम्रो आँखाबाट । जीवन त गीत हो  । सरल पाराले गाउन जानियो भने त्यो गीत गीत नभएर प्रार्थना बन्छ । हरेक सन्ध्यामा सुनिने मन्दिरको घन्टबाट गुन्जिने आरतीजस्तै हो प्रेम । त्यो शान्तिको एउटा चपल बाटो । जति हिँडे पनि कहिले अन्त्य नभैदियोस्जस्तो लाग्ने ।
हामीले हिँडेको त्यस बाटोमा हाम्रो पैतालाको डोब पानीले पखाल्यो होला है ! किनभने त्यो दिन प्रकृतिले पनि आफ्नो काख धोएकी थिइन् हामीलाई अशेष माया दिन । तिमी अलिकति भिज्यौ । म अलिकति भिजेँ । हाम्रो भिजाइमा पनि माया भिजेको थियौ है ! म पुरुष नै त थिएँ नि  ! तिमी प्रकृति नै त थियौ । र पनि म आकाश थिएँ । तिमी धरा थियौ । कहाँ थियो र खै त्यसको मिलन ? मिलेजस्तो त त्यतिवेला  देखिन्छ, जतिवेला इन्द्रधनुको सात रङ बिलिन्छ कुनै बैँसालु पोखरीमा । अनि माया र म्वाईको मधुधारा उद्भासित हुन्छ । तरङ्ग उठ्छ । प्रश्वास बढ्छ । मादको विलीनतापछि एउटा अर्कै रङ देखिन्छ आकाशमा । सबैसबै ओठमा बैजनी रङ भरेर धरतीबाट जब उठाउँछ पानी–इन्द्रेणीले । त्यही हो मायाको व्याख्या पनि । माया त आकाश हो । माया त धरा हो । अलिकति छोइँदा पनि कोमलानुभूति हुने त्यो इन्द्रेणी–तिर्खा मलाई पनि लाग्छ नि बुझ्यौ !  मेरो मुस्कानको दीप्तिमा तिमी जलेको हेर्ने रहर मलाई पनि छ नि ! के तिमी जल्ने हो त ?
पर्वतबाट बहँदै आएको बतासले छोयो तिमीलाई । तिम्रो केशराशिबाट एक प्रकारको अत्तर उडिरहेको थियो । त्यो अत्तरमा तिमी नै तिमी वास मगमगाइरहेको थियो । अलिकति तिमी अगाडि थियौ । आधा जुनेली मुहार मात्रै देख्दैथिएँ म । तिम्रो सुगन्धको महकतालाई छोएँ मैले । तिम्रो छायाँ अलिक अगाडि नसर्दै तिम्रो आधा मुहार हेरेँ मैले । खोई के भएको हो मलाई ! तिमीसँगै छँदाछँदै पनि मलाई किन तिम्रो न्यास्रो लागेको होला ! अचम्म लाग्यो । जब तिमी मेरो सान्निध्यमै थियौ । एउटा पातलो रेखा थियो तिम्रो र मेरोबीचमा । एक धर्सो मात्रै । केवल एक धर्सोले मात्रै हामी अलग थियौँ । तर छुवाइको अनुभूति यति सघन थियो कि गुलाफको गालामा बतासले छोएर भागेजस्तै । केवल एक पातलो रेखाले तिमी मदेखि पर थियौ । त्यसैले पनि होला मलाई तिम्रो न्यास्रो लागेको ।
ध्यान सकेर जब त्यो आनन्दलोकबाट बाहिर निस्कियौँ हामी, खोई किन पो हो सबैसबै चीजहरू कोमल लाग्न थाले मलाई । बिरुवा, पात, नदी, ढुङ्गा, पहरा, माटो, मन्दिर, घर, वन सबैसबै कोमल । तिम्रो हातमा रहेको स्प्राइट लिएँ । दुई घुट्की मजाले पिएँ । अलिकति बाँकी थियो । मैले ‘तिमी पिऊ न’ भनेँ । तिमीले नाइँ भन्यौ । फेरि मैले कर गरेँ । तिमीले धेरै गुलियो छ भन्यौ । अलिकति पानी राखिदिऊँ त भनी जवाफ दिएँ मैले । मेरो जवाफ सुनेर तिमी यति मीठो हाँस्यौ– अझैसम्म पनि त्यो हाँसोको झुल्का मेरो आँखाको नानीबाट अस्ताएको छैन । तल नदी बगेको हेर्न मलाई साथै लिएर गयौ । म पछि लागेँ । छेउ पुगेर तिमी रोकियौ । म पनि रोकिएँ । हामीले हेरिरह्यौँ नदीलाई । नदी पनि हतारमा थिइन् । सायद मानिसलाई मात्रै होइन, यहाँ प्रकृतिलाई पनि हतार छ । कहीँ पुग्नुछ उसलाई । महासमुद्रमा मिसिनु छ र शान्तिले त्यहीँ बस्नुछ । एक तमासले पानीको बहावलाई हेरिरह्यौ तिमीले । मैले ‘जाऊँ’ भनेँ । तिमी मोडियौ म भएतिर । हेर्यौ मलाई एक पलक । तिम्रो आँखामा अडिएँ म । एकछिन सन्नाटा छायो ।
जवानी घामले सिङ्गो आकाश ओगटेजस्तो लाग्यो । गर्मी भयो । रुखको छायाँमा हिँड्दै थियौँ हामी । रुखका पातहरूलाइँ छुँदैछुँदै हिँडिरहेको बतासका कारण हामी फेरि शान्त भयौँ । तिम्रो ओठ र मुहार कस्तो उज्यालो देखेँ मैले । हावाले फेरिफेरि छोइरह्यो भने मयल पो लाग्ने हो कि जस्तो । पसिनाले पखालेको उनको मुहारमा नारी सोह्रश्रृङ्गार केही पनि बाँकी थिएन । अलिकति गाजल लगाएकी भए कस्तो सुहाउँथ्यो होला नि । ओठमा पनि लाली थिएन । ओहो ! मैले त ख्याल गरेको रहेनछु । कस्तो हुन्थ्यो होला त्यो ओठ यदि गुलाफी लाली लगाएको भए । गाजल बग्थ्यो होला आँखाको दुई धर्साबाट । आँखामा तिम्रो अलिकति गाजल होस् । ओठमा तिम्रो अलिकति गुलाबी रङ होस् । कपालको चुल्ठोमा वनफूल सिउरी दिनपाए कस्तो सुहाउँथ्यो होला नि ! यस्तैयस्तै के सोच्दै थिएँ तिमीसँग हिँड्दा ओरालीमा । तिमी अनायास करायौ । म तिम्लाई के भो भनेर अत्तालिएँ । तल खुट्टाको छेवैनिरबाट एउटा सुनौलो सर्पको बच्चा तिमीलाई छोएर तल जङ्गलतिर ओर्लियो ।
यात्रापछि छुट्टिएको एउटा अर्को यात्रा सम्झनाको आकाशमा उडिरहेछ । खोई आज कस्तो याद आयो र सम्झिरहेछु आँखाभरि ।
समय कति छिटो बित्छ है ! मलाई त यस्तो लागिरहेछ कि तिमी र म चराचुरुङ्गीको एक जोडी अनि एकै हाँगामा बसेर वार्ता गरेजस्तो । तिमी भर्खरै पङ्ख फिजाई मेरो दुनियाँबाट उडेर एउटा अर्कै जगत्मा गएजस्तो । अनि म तिम्रो आगमनमा प्रतीक्षा गरी हाँगामा घोत्लिएर बसेजस्तो । खै के भएको यस्तो ! आज चरा भएर यो खुला आकाशको तारा गन्न मन लाग्यो । सिङ्गो आकाशमा कति तारा छन् भन्न मन लाग्यो । तिमीसँगै भए त गन्ने थिएँ नि । आजकल अँध्यारोको अध्याय सुरु भएको छ जिन्दगीको बाटोमा । तिमीसँगै हुँदा म कति खुसी थिएँ । तिमी नभएको पल, खोई किन पो हो विरही लाग्छ दुनियाँ । एउटा हाँगामा सँगै बसेको हामी । तिमी उडेर गयौ । कसरी तितरबितर भयौँ है हामी ! भरे यही गुँडमा सायद वास होला कि नहोला ! कस्तो भरोसा नहुने है जिन्दगीको ! तिमीले छोडेर गएको यो हाँगालाई छोइरहेछु आफ्नै चुच्चोले  ! यो हाँगोमा म एक्लै छु नि ! कति नमीठो भएर बितिरहेछ यो पल । सुन्दर लाग्ने ममाथिको आकाश किन यति शून्य लागेको छ ।
वैशाख किन वैशाखजस्तो छैन । किन जीवनको हरियाली खोसिएको जस्तो भो । तिमी कुन दूर देशमा छौ । मलाई जस्तै तिमीलाई पनि यतिकै शून्य लागेको छ त ? म यो विशाल जीवनको जङ्गलमा भौतारिरहेको छु । तिमी भरे गोधूलि गुँडमा फर्केर आए म कति खुसी हुन्थेँ नि ! किन भड्किरहेछु आफैँमा आज । एउटा निस्सारबोध भएको छ मलाई तिम्रो अप्राप्तिमा । के पाउनु मात्रै ठूलो कुरा हो र भन त ! । तिम्रो उडानमा के मेरो गति कमजोर हुन्थ्यो र ? म पनि तिमीसँगै पहाडैपहाड खोलैखोला जङ्गलैजङ्गल अनन्त आकाशमा उड्थेँ नि ! किन मलाई तिम्रो उडानमा सामेल गराइनौ । अशक्त त थिएँ तर मेरो पखेटा नै चँुडिएको त थिएन नि । मेरो उडान आवेग त्यति कमजोर छैन, जति तिमीले यो विराट् अन्धकारमा छोडेर गयौ । कति वेगवान तिम्रो पङ्ख । म त तिमी उडेपछिको यही हाँगामा झोक्राएर बसिरहेको छु ।
तिम्रो महकतामा किन सुवास आउँछ मलाई ! तिम्रो झझल्कोको नदी बगिरहेछ आँखाबाट । एउटा कुरा भन त  के यो संसार यस्तैयस्तै दुःखले भरिएको आँसुको पोखरी हो त ! होइन भने तिमीले बिर्सेर जानु मैले के गल्ती गरेको थिए र ?  यी पोथ्रापातहरूमा झ्याउँकीरीको आवाज आज कत्ति पनि मीठो लागिरहेको छैन मलाई । झ्याउँकीरी एकोहोरो कराएको हिजो एकै हाँगामा एकै कानले सुनेको है ! कस्तो प्रीतिकर थियो त्यो धुन । तिमीले मलाई  साउती गरेर भन्यौ– ‘त्यस्ले पोथीलाई बोलाएको रे !’ त्यसो भन्दा मेरो ओठ  तिम्रो हृदयनजिक थियो । हामी दुवै मख्ख परेर त्यो झ्याउँकीरीको आवाज सुनिरहेका थियौँ । आज तिमी छैनौ । नदीको कलकल आवाज पनि मलाई विरक्त लाग्दोछ । तिमी गुँडमा आउँछौ नि है ! म आशाले पर्खिरहेको छु । लुकेको छु हाँगामा । कतै उड्ने जाँगर पनि चलेको छैन । लोलाएका छन् मेरा आँखा जो बिरानीमा तिमीले नै पुछ्ने गथ्र्यौ । मलाई पनि कस्तो तिमीसँगै आकाश चुम्ने रहर छ अनि धराको त्यो चन्चलता, माटोको सुवास सुँघ्ने रहर छ ।
देख्दैछु अलिकति तिम्रो स्नेहको उज्यालो त्यो पातले बोकेको जस्तो । तिमीले यतैकतै पङ्ख फरफाराए जस्तो । मलाई बोलाएजस्तो । के यो मेरो भ्रम हो त होइन कतै ! सुदूर आकाशको यो विराट् स्वरूप खालिखाली देख्छु । फेरि निहाल्छु तिम्रो मधुर आकृति परैबाट उडेर आएजस्तो । सन्ध्याकालीन बतासको उच्छवासले कत्ति पनि छोएको छैन मलाई । पारि मन्दिरबाट आरतीको शङ्खध्वनि सुन्दैछु । यस शैलको सजल उज्यालो बालेर तिमी आउने एउटा सत्यको गीत खै किन पो हो गुन्जिँदैछ । यतिवेला फर्कैंदैछन् अरू वासमा । हेरिरहेको छु तिनको उत्सुकता अनि मिलनको आतुरतालाई । तिमी कुन पहाडको माथि आइपुग्यौ भन त ! म लिन आउँछु नि ! अलिकति आवाज त देऊ ! अलिकति पङ्खको ध्वनि त देऊ ! अलिकति छायाँको अनुभूति पाए म तिमी भएतिरै उडेर आउँथेँ नि ! तिमी नभए यो विराट् आकाश केका लागि यो त केवल खालिखाली रित्तो देख्छु म ।
अस्तु !!
(सिटौला विगत तीन दशकभन्दा अघिदेखि निरन्तर सिर्जना सक्रिय स्रष्टा हुन् ।)

लक्ष्मीबाई

आज का मंजर