• २०८१ फागुन ६ मङ्गलबार

फरक– १९

सानु शर्मा

सानु शर्मा

‘कहाँ गई ?’ सुभद्राले अत्तालिँदै वाणीलाई यताउता खोज्दै भनिन् । म पनि हतारिँदै उसलाई खोज्नथालेँ । त्यो सानो कोठामा उसलाई नभेटेपछि हामी बाहिर निस्कियौँ । सुभद्रा भान्सातिर पसिन् ।
भर्याङको कुनाबाट आएको सानो आवाज सुनेर म त्यतै बढेँ । त्यहाँ वाणी दुई घुँडाको च्यापमा मुन्टो घुसारेर, एउटै डल्लो परेर आफूलाई लुकाउने प्रयास गरिरहेकी थिई । मेरो मन करुणाले भरियो । मैले अवरूद्घ कण्ठले उसको नाम लिएर सुस्तरी बोलाएँ– ‘वाणी !’
उसले टाउको उठाएर मतिर हेरी अनि चोरीऔँला ओठमा जोडेर ‘चुप लाग’ भन्ने सङ्केतमा सासले बोल्दै भनी– ‘छुऽऽऽछऽऽ…।’ त्यसपछि ऊ अझै कुनामा घुस्री अनि हातको इसाराले मलाई भित्र आउने सङ्केत गर्दै उस्तै स्वरमा भनी– ‘प….पापा… भित्ल आऊ, नत्ल बाबाले कुत्छ तिमीलाई पनि, लगत आउने गली…आमालाई दथ्थै, भित्ल आऊ !’
मैले आफ्नो पछाडिबाट आएको ‘हिक्क’ को आवाज सुनेर फर्केर हेरेँ । सुभद्रा मेरैछेउमा उभिएर आफ्नो रुवाइ रोक्ने प्रयास गरिरहेकी थिइन् । मलाई मन लाग्यो, म गएर त्यो जनावरभन्दा गएगुज्रेको मान्छेलाई साफसँग भकुरूँ । तर मन बाँधेर वाणीतर्फ हात बढाउँदै वात्सल्यपूर्ण स्वरमा भनेँ– ‘अब तिमीलाई अनि तिम्री ममीलाई कहिल्यै, कसैले पिट्ने छैन नानू, तिमी बाहिर आऊ !’ उसले मेरो हात थाम्न हात अगाडि बढाई तर फेरि हिचकिचाउँदै सोधी ‘छाँच्चै….?’
‘साँच्चै…साँच्चै…।’ मैले उसलाई भरोसा दिँदै भनेँ । उसले सुभद्रातर्फ हेरी । सुभद्राले सहमतिमा टाउको हल्लाएपछि मात्र उसले मेरो हात थामी अनि फेरि सोधी– ‘कुत्यो भने नि ?’
‘म त्यसैलाई कुटिदिन्छु ।’ मैले उसलाई तानेर काखामा राखेँ । यसपटक उसले खुसी भएर आफ्ना स–साना हातले मलाई अँगाली । मलाई लाग्यो– योभन्दा सुखद, योभन्दा स्वर्गीय, योभन्दा अमूल्य अनुभव मैले मेरो आजसम्मको जीवनमा कहिल्यै अनुभूत गरेको थिइनँ ।
मैले उसलाई बेस्कन छातीमा टाँसे अनि भावविभोर भएर भनेँ– ‘म तेरो ऋणी भएँ, जन्म जन्मान्तरका लागि ।’
बाहिर निस्कने ढोकैनिर उभिएको रमेशले सुभद्रालाई रोक्ने प्रयास गर्दै भन्यो– ‘सत्ते धरोधर्म, म रक्सी छोडिदिन्छु, सुभद्रा, यसपटक मलाई माफ गरिदे । अब म कहिल्यै…।’
‘अरूअरू सयौँ हजारौँपटकका तिम्रा किरिया कहिल्यै सत्यमा परिणत भएनन् भने यसपटक म के गरेर पत्याऊँ ?’ सुभद्राले उसका आँखामा हेरेर सोधिन् । रमेश हडबडायो । उसले टाउको झुकायो अनि सुभद्राको अलिकति उठेको पेटमा हात राख्दै भन्यो– ‘सुभी, यी यसको कसम म…म अब कहिल्यै…।’
‘यसको कसम तिमी यसकारण खाइरहेछौ, किनभने तिमीलाई अझै विश्वास छैन, यो तिम्रै सन्तान हो भन्ने कुरा ! नत्र तिमी मेरो पेट छोएर कहिल्यै कसम खाने थिएनौ । किनभने तिमीलाई जति कसलाई थाहा छ– तिमी आफ्नो कसम कहिल्यै पूरा गर्ने छैनौ भन्ने कुरा,’ सुभद्राले तिक्त स्वरमा भनिन् । रमेशले सुभद्राको पेटबाट यसरी हात हटायो, मानौँ आफ्नो गल्ती सच्याउँदैछ । सुभद्राको अनुहार विवर्ण भयो । आँखाबाट फेरि बग्न सुरु गरेको आँसु पुछ्दै उनले मतिर फर्केर भनिन्– ‘प्रत्यूष, तिमीले ठीक भन्यौ– यो मान्छेको र मेरो कुनै मेल छैन । न म आफ्नो समर्पण र निष्ठाले यसलाई जित्न सक्छु, न यसको झुट ओढेर, अपमान झेलेर, यातना सहेर सारा जीवन काट्न सक्छु । त्यसैले म आज, अहिले, यही मोडबाट योसँग छुट्टिन चाहन्छु । अहिले कमसेकम यस मोडमा अर्को बाटो पनि छ मेरोसामु । नत्र के थाहा भोलि मैले अर्को कुनै बाटो फेला पार्न सक्छु कि सक्दिनँ । हिँड प्रत्यूष, म सास फेर्न चाहन्छु । मुक्त हुन चाहन्छु र मेरो गर्भको सन्तानलाई पनि स्वच्छ वातावरणमा सास फेराउन चाहन्छु !’
म वाणीलाई आफ्नो अँगालोमा च्यापेर बाहिर निस्किएँ । सुभद्रा रुँदै, भक्कानिँदै मेरो पछिपछि आइन् । वाणीले मेरो काँधमा लुकाएको टाउको त्यस बेला मात्र उठाई, जब हामी त्यस घरबाट निस्किएर निक्कै टाढा आइपुग्यौँ ।

गाडीमा सुभद्राले धरधरी रुँदै सुनाइन्– धुलिखेलमा उनी मलाई कुर्न बारम्बार होटेल गएको सुइँको पाएर रमेशले उत्तिखेरै धुलिखेल छोडेर सीतापाइलामा डेरा सर्यो । उनको फोन कब्ज्यायो र उनलाई होटेलमा ‘पेसा’ गर्न गएको आरोप लगाएर लगातार टर्चर गरिरह्यो । कहाँसम्म भने उसले उनको गर्भको बच्चा फाल्नका लागि उनलाई बाध्य गरेर अस्पताल पनि पुर्यायो । छ महिना नाघिसकेकोले अभोर्सन सम्भव भएन तर पनि ऊ अझै कुनै यस्तो डाक्टरको खोजीमा थियो, जसले अलि धेरै पैसाको लोभमा सुभद्राको गर्भ फ्याँकिदेओस् । सुभद्राको कुरा सुनेर म मात्र होइन, वासु पनि द्रवित भयो ।
सुभद्रा जति सजिलोसँग आफ्नो डेराबाट निस्केर आइन् त्योभन्दा कैयौँ गुणा गाह्रो भयो मलाई, उनलाई मनाएर, सम्झाएर मसँगै बस्न राजी गराउन । कमल, वासु र मैले निक्कै सम्झाएपछि उनले काँतर स्वरमा भनिन्– ‘प्र…प्रत्यूष म..म यो घरको, तिम्रो आदरको लायक छैन । म…मलाई जानदेऊ । बरू ममाथि उपकार नै गर्न चाहन्छौ भने मलाई कतै एउटा इज्जतिलो काम दिलाइदेऊ, म…म…!’
‘सुभद्रा, जसलाई वाणीले ‘ममी’ भनेर सम्बोधन गर्छे, जसलाई बिन्तीले ‘दिदी’ भनेर मान दिन्छे, ती सुभद्रा योभन्दा कैयौँ गुणा बढीको हकदार छिन् मेरो नजरमा । त्यसैले यो सब कुरा भनेर आफूलाई अपमानित नगर । त्यसमाथि मैले तिमीलाई बहिनी भनेको छु, मानेको छु । अनि सुभद्रा, प्रत्यूषमानको बहिनीको त्यो सबै कुरामा हक छ, जुन प्रत्यूषमानसँग छ । त्यसैले असहाय भएर रुन छोड । आफूलाई बारम्बार यसरी अपमानित नगर । बरु त्योभन्दा जरुरी काम सम्हाल…।’ मैले थापाथलीको अभिशप्त घरको साँचोको झुत्तो उनको हातमा राखिदिदै भनेँ– ‘यो श्रापित दरबारलाई आफ्नो विश्वास, रेखदेख र शुभकदमले ‘घर’ बनाइदेऊ ता कि मेरा आमाबुबा, हजुरबुबा र फुपूको आत्माले मुक्ति पाउन सकून् त्यहाँबाट । ता कि म पूरा इज्जत र सम्मानका साथ त्यो अर्काे शुभकदमलाई मेरो यस पुर्खाको धरोहरमा भित्र्याउन सकौँ ।’
मेरो कुरा सुनेर उनी मलाई समातेर खुब रोइन् । मेरो पनि आँसु थामिएन । हामी दुवैलाई रोइरहेको देखेर वाणी पनि डराएर रुन थाली । मैले उसलाई फकाउँदै मनमनै प्रण गरेँ– ‘यो तिम्रो आँखामा आएको दुःखको, डरको अन्तिम आँसु हुनेछ वाणी, यसपछि म तिमीलाई कहिल्यै रुवाउने छैन ।’
त्यसपछि अर्को एक हप्ता मलाई बिन्तीको विगतलाई पीडापूर्ण र अभिशप्त बनाउने मान्छेहरूको खोजखबर गर्नमा लाग्यो । बिन्तीको बाबुको हाकिमको फ्याक्ट्री अझै चलिरहेको मात्र होइन, अझै फलिफूली, झाँगिइरहेको थियो । सुदीपको अझै विवाह भएको थिएन । ऊ पढाइ सकेर एउटा सरकारी अफिसमा सेक्सन अफिसर भएको थियो तर उसको चरित्र, आचरण यति खराब थियो– सद्घे र सही मान्छे उसको सङ्गत गर्न डराउँथे ।
म कहिलेकाहीँ सोच्थेँ– बिन्तीजस्ती केटीको जिन्दगी बर्बाद गर्ने मान्छेहरूले पनि जीवनमा कहिल्यै सुखको सास फेर्न पाउँछन् र ? तर उनीहरू त सुखको सास मात्र फेरिरहेका थिएनन्, बरू बिन्तीजस्ता अरू कैयौँ बिन्तीहरूलाई बर्बाद गरेर, आफ्नो पुरुषार्थमाथि गर्व गर्दै, विनाकुनै पश्चात्ताप खुसी साथ बाँचि नै रहेका थिए ।
के यस्ता मान्छेहरू सजायको हकदार थिएनन् र ? अवश्य थिए । यिनीहरूले सजाय पाए भने कमसेकम भविष्यमा अरू कैयौँ बिन्तीहरू बर्बाद हुनबाट बँच्ने थिए ।
यिनीहरूलाई यिनका भागको सजाय दिलाउनु मेरा लागि कुनै ठूलो कुरा थिएन । खालि सही च्यानल समात्न जरूरी थियो । त्यसका लागि कमल र वासुले मलाई लागेपुगेको साथ दिए । खासगरी कमलले । हामीले अर्को एक हप्ता खुब दौडधूप गर्यौं । परिणाम– बिन्तीको बाबुको हाकिम र सुदीप दुवै जेलमा थिए । उनीहरूमाथि एक होइन, अनेक मुद्दाहरू थिए, जसमध्ये चेलीबेटी बेचबिखन र ड्रग्सको व्यापार मुख्य थिए । यो केवल आरोप मात्र थिएन, पुलिसले फ्याक्ट्रीमा छापा मारेर त्यहाँबाट ड्रग्स बरामद पनि गर्याे । दुई युवतीले आफूलाई कोलकाताको कोठीमा पु¥याउने व्यक्तिको रूपमा सुदीपको नाउँमा किटानी जाहेरी गरिदिए । बाँकी भ्रष्टाचार, घुसखोरीजस्ता आरोप त उसमाथि छँदैथिए, जसलाई सावित गर्न हामीलाई कुनै कसरत गर्नै परेन । अब हाम्रो कोसिस यही थियो– उनीहरू ती आरोपबाट कुनै पनि तरिकाले मुक्त हुन नपाऊन् ।
उनीहरूलाई पुलिस कस्टडीमा पुर्याएपछि बल्ल मैले ढुक्कको सास फेरेँ । अब बल्ल मलाई लाग्यो– मैले बिन्तीसम्म पुग्ने बाटो बनाएँ ।
सुभद्रा त पत्र–पत्रिकामा प्रकाशित भएका ती खबर पढेर मेरो खुट्टै छुन आइन् । भनिन्– ‘रावणैरावणको लङ्कामा कोही त राम भेटियो, जसले यो सृष्टिमा न्याय अझै जीवित भएको सावित गरिदियो । नत्र त मान्छे के ? ईश्वरबाटै भरोसा उठ्न लागिसकेको थियो हाम्रो ।’
‘सुभद्रा ! मान्छे नै बनिरहन सकौँ, त्यति नै काफी छ । राम बन्न खोजेँ भने फेरि मैले पनि उसलाई गुमाइदिने त होइन ?’
‘प्रत्यूष…!’
‘सुभद्रा ! यति नगरेसम्म म कसरी गएर ऊसँग भन्नसक्थेँ कि मलाई…मलाई उसको पीडाको, उसको अपमानको, उसको बर्बादीको, उसको उजाडिएको ‘हिजो’ का लागि साँच्चै दुःख छ भनेर ? यति नगरी म कसरी भन्नसक्थेँ कि म…मलाई उसको साँच्चै पर्वाह छ भनेर ? अनि…अनि यो सब मैले उसका लागि कहाँ गरेको हुँ र ? यो त म आफ्ना लागि गरिरहेको छु । किनभने बिन्तीको पीडालाई मैले आफ्नो मुटुमा अनुभूत गरेको छु र यो पीडा म सारा जीवन मुटुमा बोकेर बाँच्न सक्दिनँ । त्यसैले बिसाउन चाहन्छु यसलाई सधैँका लागि अनि बल्ल उसलाई लगेर उभ्याउने छु उसका जन्मदाता र उसका दाइभाउजूका सामु– बाँकीको हिसाब किताबका लागि ।’ मैले दाँत बाधेँ– ‘सुभद्रा ! म बिन्तीलाई ‘बिनी’ बन्न बाध्य पार्ने कसैलाई पनि त्यतिकै छोडने छैन, मेरो बुताले भ्याएसम्म । हुन त मलाई उसको ‘बिनी’ हुनुसँग कुनै आपत्ति, कुनै अप्ठ्यारो छैन तर मलाई पर्वाह छ उसको ‘बिन्ती’ देखि ‘बिनी’ सम्मको कष्टकर यात्राको, सरोकार छ उसको अपमान र आँसुसँग, त्यसैले म बिन्तीमाथि अत्याचार गर्ने कसैलाई पनि त्यतिकै छोड्ने छैन ।’
‘प्र… प्रत्यूष ! कति सही चिनेकी थिई बिन्तीले तिमीलाई ? अनि कति गलत सम्झेथेँ मैले ?’ सुभद्राले बिस्तारै भनिन् ।
त्यसपछि मैले बिन्तीको परिवारको बारेमा खोजखबर गरेँ । बिन्तीको दाइ विवेक हाम्रै बैङ्कको बिराटनगर शाखामा असिस्टेन्ट म्यानेजरको पोस्टमा काम गर्दैथियो । घरको (उसलाई पढाउँदा उसको बाबुले घर बन्धक राखेर लिएको) ऋण विवेकले आफ्नो कमाइले तिरेको भएर घर अब उसको र उसकी स्वास्नीको नाममा थियो । त्यसैले बाबुआमाको बिचल्ली थियो । अपाहिज बूढालाई लिएर हरेक दिन मृत्युको कामना गर्दै बूढी अति कष्टकर दिन काटिरहेकी थिइन् । रहलपहल खाएर, फाटेको पुरानो लगाएर, बुहारीको यातना, छोराको उपेक्षा सहेर बाँचिरहेका तिनीहरूलाई बिन्तीको कतिको याद आउँथ्यो, मलाई त्यो जान्ने तीव्र इच्छा जाग्यो । म बिन्तीलाई लिएर उनीहरूको अगाडि जान चाहन्थेँ । अनि उनीहरूलाई सोध्न चाहन्थेँ– बिन्तीजस्ती छोरीलाई बर्बाद गरेर, गुमाएर उभ्याएको छोराले दिएको उपेक्षाले बिन्तीको बर्बादीको याद दिलाउँछ कि दिलाउँदैन भनेर । तर त्यसभन्दा पहिले मलाई अरू नै केही गर्न जरुरी थियो । त्यसैले भोलिपल्ट बिहानै म वाणीलाई साथमा लिएर पोखरातिर हुइँकिएँ ।
मलाई थाहा थियो बिन्तीलाई खोज्नभन्दा उसलाई मनाउन गाह्रो थियो । बिन्तीजस्ती विदूषी र स्वाभिमानी केटीलाई लजिकले जित्न असम्भवप्राय थियो । त्यसैले म उसलाई भावनात्मक कुराले दवाव दिएर आफ्नो अनुकूल निर्णय गराउन चाहन्थेँ । थाहा थियो– गलत थियो तर थुप्रै सही गर्नका लागि यो गÞलत गर्न अति आवश्यक थियो ।

मैले सुभद्राले दिएको बिन्तीको नयाँ डेराको ठेगानामा मात्र होइन, पोखराका प्रायःजसो त्यस्ता ठाउँमा उसलाई खोजेँ, जहाँ रातको त्यो प्रहरमा उसलाई भेट्ने सम्भावना हुन्थ्यो । तर भेट्टाउन सकिनँ । उसले आफ्नो त्यो डेरा पनि छोडिसकेकी थिई । उसको अहिलेको डेराको बारेमा सुभद्रालाई पनि थाहा थिएन । जेसुकै भए पनि यसपटक म उसलाई खोज्न, भेट्न प्रतिवद्ध थिएँ । चाहे जतिसुकै समय लागोस् ! त्यही कारणले मैले कसैलाई साथमा ल्याउन चाहेको थिइनँ तर धनबहादुर काका, वासु र कमलले साह्रै जिद्दी गरेकाले मैले काकासँग भने पिछा छुटाउन सकिनँ ।
म अझै पूर्ण स्वास्थ्य भैसकेको थिइनँ । डाक्टरहरूको भनाइअनुसार न्युरोटक्सिनका कारण मैले अझै आब्जर्भेसनमा बस्न आवश्यक थियो । म अझै औषधीको कडा डोजमा थिएँ । त्यसैले पनि वासु, कमल, काका र मामा पनि मेरा लागि चिन्तित थिए । तर म बिन्तीलाई नभेटेसम्म सन्चमन्चले बस्नै सक्थिनँ । यो कुरा उनीहरूलाई पनि थाहा थियो । बिन्तीलाई भेट्नु मेरा लागि औषधोपचारभन्दा पनि आवश्यक थियो किनभने ऊ नभेटिएसम्म म राम्ररी ठीक हुनैसक्थिन !
उसको खोजीमा भौतारिँदाभौतारिँदै रातको साढे दस बजिसकेको थियो । थाकेर लोथ, निदाउँदै ब्यूँझँदै, आफ्नो तोते बोलीले सयौँ, हजारौ प्रश्न सोधिरहेकी वाणीलाई गाडीमै लिएर घुमिरहेको थिएँ म ।
लगभग पौने ११ बजेतिर महेन्द्रपुलको बसस्टपभन्दा केही तल, बिन्तीको नयाँ डेरा नजिक, एउटा पुरुषसँग उभिएको महिला आकृति बिन्तीजस्तै लाग्यो मलाई । मैले काकालाई गाडी अलि अगाडि लगेर रोक्न भनेँ अनि उनलाई वाणीको ख्याल राख्न इसारा गर्दै, वाणीलाई त्यहीँ बसिरहन भनेर म गाडीबाट ओर्लिएँ ।
‘पापा, त… तिमी काँ जाने ?’ उसले सोधी ।
‘म… ?’ एकै क्षण के जवाफ दिने भनेर अलमल्लमा परेँ, तर फेरि सम्हालिँदै भनेँ– ‘एक छिन तिमी काकासँग यहीँ बस है, म तिम्री आमालाई लिएर आउँछु ।’
‘पापा ! को आमा ? तिमी काँबाट ल्याउँथौ ?’ उसले सोधी ।
‘वाणी…!’ मैले उसको सुन्दर अनुहारमा फिँजिएका केशराशिलाई यताउता पन्छाइदिँदै अनुरागपूर्ण स्वरमा भनेँ– ‘म ती आमालाई लिएर आँउछु वाणी, जसले हामी दुवैलाई जिन्दगी दिएकी छिन् । अब हाम्रो पालो, उनलाई जीवन दिने, त्यो जीवन दिने, जसको उनी हकदार छिन् ।’ मैले भनेको एक शब्द नबुझे पनि उसले सहमतिसूचक टाउको हल्लाई । मैले बिस्तारै उसको निधारमा चुमेँ, ड्यासबोर्डबाट यौटा जम्बो साइजको डेयरी मिल्क चक्लेट झिकेर उसको हातमा राखेँ, गाडीको पछाडिको झ्यालको सिसा दुई–दुई इन्च खोलेँ अनि उसलाई काकाको रेखदेखमा गाडीमै छोडेर अघि बढेँ ।

‘मैले भनेँ नि म आज जान सक्दिनँ भनेर । तपाईं प्लिज कर नगर्नूस् ।’ बिन्ती भन्दै थिई । म अलि वरै रोकिएँ ।
‘के नाटक हो यो मैयाँ तिम्रो ? कोठासम्मै मनाउन आएको ग्राहकलाई कोठामा छिर्न नदिएर बाहिर लघार्ने, के तालहो तिम्रो ? किन यसरी भाउ खाएकी ?’ पुरुष स्वर भनिरहेथ्यो– ‘पैसा बढी चाहिए सीधै भन न बरु, नत्र किन ‘भोलि’ ‘भोलि’ गरिरा’छौ यत्तिका समयदेखि ? भन कति दिऊँ ?’
‘साथीले मेरो नयाँ नम्बर र ठेगाना दिनै नहुने थियो तपाईंलाई । म माफी चाहन्छु ! यो पैसाको कुरा हुँदैहोइन । मनको कुरा हो । मनै छैन मेरो । मनलाई मनाउन सकेँ भने भरे–भोलि म आफैँ फोन गर्छु तपाईंलाई ।’ विनीत भावमा आफ्नो कुरा सकेर बिन्ती फरक्क फर्केर अघि बढ्न खोजी तर त्यस मान्छेले उसको हात थामेर व्यङ्ग्यात्मक स्वरमा भन्यो– ‘प्रस्टिट्युटहरूले कहिलेदेखि मनको सुन्न, मान्न थाले ? मनको सुनेर तिमीहरूको धन्दा कसरी चल्छ ? पेट कसरी पालिन्छ मैयाँ ?’
‘त्यसको चिन्ता तिमीले गर्नुपर्दैन ।’ मैले अघि बढेर हस्तक्षेप गर्दै भनेँ– ‘तिमी उसको हात छोड अनि आफ्नो बाटो लाग !’
‘प्र…प्रत्यूष !’ बिन्तीले निरीह स्वरमा भनी । उसको स्वरमा आश्चर्य नभएर अवसाद बढी थियो– मानौँ ऊ मलाई देखेरभन्दा नदेखेकी भए बढी खुसी हुने थिई ।
‘को हो यो ?’ त्यस मान्छेले अझै उसको हात छोडेको थिएन ।
‘म यिनको बच्चाको बाउ ।’ मैले अधिकारपूर्ण स्वरमा भनेँ । मेरो कुरा सुनेपछि त्यस मान्छेले हडबडाएर बिन्तीको हात मात्र छोडेन, एक शब्द नबोली फरक्क फर्केर लगभग दौडँदै विपरीत दिशातर्फ लाग्यो ।
‘के…के मजाक हो यो ?’ बिन्तीले आफूलाई सम्हाल्न सक्दो कोसिस गर्दै भनी– ‘कहाँबाट आयौ तिमी मेरो ग्राहक बिथोल्न ?’
‘बिन्ती ! अब पनि तिम्रो र मेरोबीचमा यो सब कुरा जरुरी छ र ? के बाँकी छ हामीले एक–अर्काको बारेमा जान्न, बुझ्न ? मुखले नभने पनि व्यवहारले, आँखाले नभनेको यस्तो कुन कुरा बाँकी छ हामीबीच, भन त ? या तिमी चाहन्छ्यौ म घुँडा टेकेर, मुख फोडेर यो भनूँ कि मेरो जिन्दगीबाट तिम्रो आवश्यकता अझै सकिएको छैन र यो कहिल्यै सकिने पनि छैन– म बाँचुन्जेल ।’
‘यसैको डर थियो मलाई ।’ ऊ थरथराउँदै टाउको समातेर त्यहीँ सडकको पेटीमा थचक्क बसी ।
‘डर केको ?’ मैले उसको सामु टुक्रुक्क बस्दै भनेँ– ‘बिन्ती, म…!’
‘प्लिज मलाई त्यो नामले सम्बोधन नगर !’ उसले थकित भावले भनी– ‘तिमी मेरो कुरा ध्यानपूर्वक सुन प्रत्यूष ! मलाई तिमीबाट केही चाहिँदैन सत्य, न पैसा, न प्लेजर न अरू केही । म यसैमा खुसी छु कि तिमी ठीक छौ, सक्षम छौ, बस् । तिम्रो स्वास्थ्य, सुरक्षा र सक्षमताबाहेक मैले भगवानसँग पनि कहिल्यै केही मागिन् । यदि फेरि पनि तिमी मेरा लागि केही गर्न चाहन्छौ भने आइन्दा मलाई खोज्दै, मेरोसामु नआइदेऊ प्लिज ! मेरो के ? दुईचार दिन मन भाँडिन्छ अनि विकल्प नदेखेपछि सम्हालिन्छ । पहिले पनि त सम्हालिएकै थियो आखिर ?’
‘मलाई लाग्छ तिम्रो मन यसपटक सम्हालिने मुडमा पटक्कै छैन ।’ मैले बिस्तारै भनेँ– ‘तिमीलाई किन लाग्छ, यतिका दिनमा नसम्हालिएको तिम्रो मन अरू दुईचार दिनमा सम्हालिनेछ भनेर ?’
‘प्रत्यूष !’ उसले टाउको उठाएर डबडबाएका आँखाले मलाई हेरी अनि मेरो हात थामेर काँतर स्वरमा भनी– ‘मेरो कुरा मान ! यसरी भावनामा बहकिएर कसैको भलो हुँदैन । कमलको मोहमा कसैले टाउकोमा हिलो बोक्दैन । मेरो सुन्दरता तिमीलाई कमलको फूलजस्तै लागे पनि म फोहोर, दुर्गन्धयुक्त हिलोबाहेक अरू केही सावित हुन सक्दिनँ तिम्रा लागि । बदनामीको दुर्गन्धित हिलो, जसमा तिम्रो मानसम्मान र प्रतिष्ठा सबै भासिनेछ । म चाहन्न तिम्रो साथमा त्यस्तो केही अनर्थ होस् । तिमीजस्तो सभ्य, प्रतिष्ठित र असल मान्छेको जिन्दगीमा सबै कुरा असल नै होऊन् भन्ने चाहन्छु म ।’
‘म पनि त त्यही चाहन्छु ।’ मैले उसको हातमाथि आफ्नो हात राख्दै कोमल स्वरमा भनेँ– ‘असल, अति असल बिन्तीको जिन्दगीमा त सबै सही हुन सकेन– उसको दुर्भाग्य ! तर वाणीको जिन्दगीमा केही गलत होस्, म त्यो चाहन्नँ ।’
‘त…तिमी के जान्दछौ वाणीका बारेमा ?’ उसले मेरो हातबाट आफ्नो हात तान्दै भनी ।
‘तिमी जे जान्दछ्यौ उसका बारेमा, म त्योभन्दा धेरै जान्दछु ।’ मैले उसको हात आफ्नो हातबाट फुत्कन नदिन अझै दह्रोसँग समात्दै भनेँ– ‘के सोच्छ्यौ तिमी कि विश्वनाथ खरेलको सभ्य, संस्कारी परिवारमा बिन्तीले नपाएको सुरक्षा उसले तिम्रो या सुभद्राको छत्रछायाँमा पाउली ?’
‘प्रत्यूष !’ अझैसम्म आफ्नो हात मेरो हातबाट छुटाउन कोसिस गरिरहेकी ऊ अनायास रोकिई । उसको अनुहार विवर्ण भयो । आँखाबाट तँछाड–मछाड गर्दै आँसुको भेल बग्यो ।
‘यसको मतलब मैले तिमीहरूको अवमूल्यन गरेको चाहिँ कदापि होइन है !’ मैले उसको आँसु पुछिदिँदै भनेँ– ‘मलाई पुनर्जीवन दिन सक्षम बिन्तीको क्षमता कसरी कम आँक्न सक्छु म ? म त खालि डराउँछु कि एक दिन अचानक बिन्ती बिनी बनेजस्तै वाणी वेणी नबनोस् ! वेणी, जो देउताको शिरबाट झरेपछि फोहोरमा फ्याँकिन्छ अनि मानिसको पाइतालामुनि मिचिन्छ…।’
‘चुप लाग ! प्लिज उसका लागि केही गलत नबोल !’ उसले आफ्ना दुवै कानमा हात राखी अनि टाउको घुँडामा टेकाई । मैले बडो मुस्किलले उसको टाउको उठाएँ । उसका हात उसका कानबाट हटाएँ अनि उसका अश्रुपुरित आँखामा हेर्दै बिस्तारै तर दृढ स्वरमा भनेँ– ‘मसँग बिहे गरेर वाणीलाई त्यो सुरक्षा कवच देऊ बिन्ती, जसले उसलाई वाणी नै भैरहन देओस्, वेणी बनाउन नपाओस् ।’
‘प्रत्यूष !’ ऊ झन् बेस्सरी रोई ।
‘मेरो चिन्ता गर्दै नगर । तिमी साथमा छ्यौ भने म जस्तोसुकै ठूलो उतारचढाव झेल्न सक्छु । संसारसँग लड्नसक्छु । तिम्रो साथले मलाई मृत्युमाथि त विजयी बनाउन सक्यो भने अरू त के कुरा ? तिमी र वाणी मेरो साथमा भए मलाई अरू कुनै कुराको चिन्ता छैन । अनि सुन, यो भावनाको आवेगमा गरेको निर्णय हुँदैहोइन । यदि भावनामा बगेर निर्णय गर्ने भए यति सफल बिजनेस म्यान कसरी हुनसक्छु, सोच त । आफ्नो फाइदा सोचेको हुँ बिन्ती ! किनभने तिमीजस्ती जीवनसाथी मैले अर्को कोही भेट्टाउने छैन ।’ मैले उसको आँसु पुछिदिँदै भनेँ । उसले निक्कै बेर केही खोजेझैँ मेरो अनुहारमा हेरी अनि आफ्ना दुवै हातले मेरो अनुहार थामेर अवरूद्ध स्वरमा भनी– ‘मलाई थाहा छ तिम्रो हृदय विशाल छ, समुद्रजस्तै, त…तर म कसरी त्यति स्वार्थी हुनसक्छु कि मन परेको, माया गरेको मान्छेलाई…।’ उसले जिब्रो टोकी । मेरो अनुहारबाट हात हटाई र अपसोचपूर्ण भावले टाउको हल्लाई । उसका आँखामा आँसु भरिँदै, पोखिँदै गालाको ओरालो झरिरहे ।
‘तिमी आफ्नो मनबाट निस्कने शब्दहरूलाई त जबरजस्ती रोक्न सक्छ्यौ बिन्ती, तर म तिमीले ओठको पर्खालले थुनेर राखेका तिम्रा शब्दहरू तिम्रो अनुहारको भावमा पढ्नसक्छु, तिम्रा आँखामा देख्नसक्छु– त्यस बेलादेखि, जब तिमी र म पोखरा एयरपोर्टमा अलग भएथ्यौँ, पाँच दिन साथमा बिताएर । याद छ ?’
‘कसरी बिर्सन सक्छु म ती दिनहरू !’ ऊ बिस्तारै बडबडाई ।
‘तर तिमीले कहिल्यै पढ्न सकिनौ बिन्ती मेरा मनका भावहरू, जो चिच्याइचिच्याई एउटै कुरा भनिरहन्छन्– तिमीभन्दा पर मेरो कुनै भविष्य छैन, सुख छैन, जीवन छैन ।’ मेरो स्वर अवरूद्ध भयो ।
‘प्रत्यूष !’ उसको स्वर काँप्यो ।
‘त्यसदिन एयरपोर्टमा तिमी दुई कदम मतर्फ बढेकी थियौ मलाई अँगाल्ने चाहनामा, तर थाहा छैन किन पछि हट्यौ ?’ मैले उसको सामु घुँडा टेकेर अँगालो फैलाउँदै भनेँ– ‘म चाहन्छु आज तिमी आफ्नो त्यो अधुरो चाहना पूरा गर ! अघि बढ र यसरी अँगाल मलाई– तिम्रो अँगालोको बन्धनलाई तोड्नुअघि मृत्यु पनि दसपटक सोच्न बाध्य होस् ।’
‘प्रत्यूष !’ उसले यसरी भक्कानिएर मलाई अँगालो हाली– म उसलाई थामेरै त्यो धूलोमैलो सडकमा पछारिएँ ।
‘लौ हेर यिनीहरूको चालमाल ! सडक पनि छाडेनन् बा यिनीहरूले ! सम्साँझै यसरी सडकमै गुथ्थमगुथ्था हुन कस्तो लाज नलागेको भन्या ? लबस्तराहरू !’
मैले टाउको उठाएर हेरेँ । हाम्रोछेउमै मोटो डन्डा समातेर एउटा जुँगे पुलिस उभिएको थियो । बिन्ती हडबडाउँदै उठ्न खोजी तर मैले उसलाई अझै कसेर छातीमा टाँस्दै ठट्टाको भावमा भनेँ– ‘हबल्दार साहब, सम्साँझै कहाँ छ र अब ? नयाँ दिन सुरु भैसकेको छ । त्यसमाथि मायाले बाटोघाटो कहाँ भन्छ र ?’ मैले बिन्तीको केशमा चुमेँ । त्यो पुलिस हातको इसाराले पैसा माग्दै हामीभन्दा अलिपर गएर यसरी उभियो मानौँ हामीलाई भाग्नबाट रोक्ने कोसिसमा छ । मबाट अलग हुने आफ्नो कोसिस सफल नभएपछि बिन्तीले मेरो छातीमा टाउको लुकाई । मलाई लाग्यो, आधा सृष्टि मेरो अँगालोमा समेटिएको छ । म गाडीमा छोडेर आएको मेरो बाँकी आधा सृष्टि, वाणीलाई अँगाल्न हतारिएँ । सम्पूर्ण हुन हतारिएँ ।
म, प्रत्यूषमान प्रधान !
त्यस दिन बिन्तीलाई अँगालोमा समेटेपछि मेरो जीवनको सारा अधुरोपन मेटियो । मनको उदास कुनामा शरद् मुस्कुरायो ।
जीवनको सुनसान, खाली गोरेटोमा आफ्नोपनको भीड लाग्यो ।
यस्तो लाग्यो– अब बल्ल सम्पूर्ण भएँ म ।
म उसको कानमा मुख जोडेर गुनगुनाएँ– ‘मेरो जीवनमा आएकोमा, मलाई बाँच्नुको अर्थ सिकाएकोमा, सम्बन्धको मतलब बुझाएकोमा र मायाको परिभाषा चिनाएर मलाई नयाँ जीवन दिएकोमा धन्यवाद बिन्ती !’
ऊ चुपचाप आँसु बगाइरही । मेरो छातीलाई आफ्नो आँसुको तातोले न्यानो बनाएर मेरो मुटुको ढुकढुकीमा जीवन भरिरही ।
अलि पर उभिएको पुलिस हाम्रो अघिल्लो (उसको दिमागमा भएको) कदमको प्रतीक्षामा उत्सुकतापूर्वक घरिघरि हामीतिर हेरिरह्यो ।
म बिन्तीलाई आफ्नो अँगालोमा लिएर उठेँ !
धन्यवाद जिन्दगी, मलाई यो मौका दिएकोमा !!

त्यो मध्यरातमै पनि कतै टाढा नारायणगोपाल दाइ मधुरो स्वरमा गुनगुनाइरहेका थिए– एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा….!!!
अस्तुः
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । यो उनको आख्यान–श्रृङ्खला– ‘फरक’ को अन्तिम भाग हो ।)
[email protected]