• २०८३ जेष्ठ १, शुक्रबार

खराब मान्छे

गोविन्द सुबेदी

गोविन्द सुबेदी

तिम्रो दिन उज्यालो छ,
घाम तिम्रो झयालमै आइपुग्छ,
त्यसैले तिमी
म देखी टाढा बस-
म त अँध्यारोको मान्छे हुँ ।

मसँग बिहानको हाँसो छैन,
साँझको चिया र सपनाको कुरा छैन,
मसँग त
छुटेको समय छ,
बिग्रीएको घडी छ,
र नसोधिएको पीडा छ ।

तिमी फूल जस्तै फक्रिन सिक्यौ,
म काँडा जस्तै चुपचाप उम्रिएँ,
तिमी मेला हिँड्यौ,
मैले अलमलको बाटो चिनेँ ।

तिमीलाई शुभकामना चाहिन्छ,
मलाई त सहनशीलता नै काफी छ ।

म खराब मान्छे हुँ-
हो, स्वीकार्छु ।
तर खराब मान्छे
खराब समयमा मात्र काम लाग्छ,
यो कुरा
उज्यालो दिनले कहिल्यै बुझ्दैन ।

जब तिम्रो विश्वास चर्किन्छ,
जब आफ्नै छायाँले तिमीलाई डराउँछ,
जब मित्रहरू शब्दमा सीमित हुन्छन
त्यतिबेला
मेरो मौन उपस्थिति
तिमीलाई काम लाग्छ ।

म तालीका लागि जन्मिएको होइन,
म त
आगो निभाउन खुट्टाले कुल्चिने मान्छे हुँ,
धुवाँ निल्ने मान्छे हुँ,
र आफू जलेर
अरूलाई न्यानो दिने मान्छे हुँ ।

तिमी सही समयमा सही ठाउँमा हुन्छौ,
म गलत समयमा पनि
ठिक ठाउँमा उभिएको हुन्छु ।

यसैले,
तिम्रो दिन राम्रो छ
तिमी टाढा नै बस,
तिमीलाई मेरो आवश्यकता छैन ।

तर याद राख-
जब समय नै खराब हुन्छ,
जब शब्दले धोका दिन्छ,
र संसारले ढोका थुन्छ,
त्यतिबेला
यो “खराब मान्छे”
एक्लै भए पनि
काम लाग्छ ।

म उज्यालोको साथी होइन,
म त अँध्यारोको साक्षि हुँ ।


गोविन्द सुबेदी
२०८२/१०/१९ गैंडाकोट–२, नवलपरासी