वसन्तवेला

जहाज उडेको एक छिनमा नै उत्तरतिरको सुन्दर हिमाली शृङ्खलातिर आँखा गयो । हिमाल जति हेरे पनि पुग्दैन नेपाली आँखालाई । हिमगिरिको लामो सुन्दर शृङ्खला देखिउन्जेल म निर्निमेष झ्यालबाट बाहिर हेरि नै रहेँ । नेपाल घुम्न आएका हुन् कि नेपालमै काम गरिरहेका हुन् कुन्नि, केही विदेशी यात्री झ्यालबाट विभिन्न चुचुरातिर औँला देखाउँदै तिनका नाम लिँदैथिए । ती ‘जानिफकार’ हरूसँग अरू केही विदेशी भने ‘एभरेस्टचाहिँ खै त ?’ भनेर सोध्दै पनि थिए । काठमाडौँबाट पश्चिम उडेको जहाजको झ्यालबाट सगरमाथा हेर्नखोज्नेहरू देखी म झन्डै हाँस्न खोजेँ । तर झल्याँस्स सम्झेँ– म पनि तीभन्दा कम कहाँ छु र ? हिमालका कुनै चुचुरा चिन्दिनँ । तैपनि मनमनै भनेँ यी हिमाल त हाम्रा हुन्, हामी नेपालीका’ भन्ने भावले दङ्ग परेँ । त्यसैत्यसै गर्व लागिरहेको थियो । मन प्रसन्न थियो !
मैले किन हो आफ्नै देशका शिखरहरू चढ्ने आकाङ्क्षा कहिल्यै बोकिनँ । बरु केटाकेटीमा महाकविको ‘उडी छुनु चन्द्र एक’ भन्ने मन्त्र पढ्दापढ्दा कुनै दिन आफ्नै आकाङ्क्षाको कुनै चन्द्र छुन्छु कि भन्ने सपना बोकिरहेँ । हरेक जुनेली रातमा चन्द्रमा देख्दा म दङ्ग पर्छु । तर हिमालमा आँखा अड्याइरहेको त्यो वेला खुट्याउन सकिरहेकी थिइनँ– चन्द्रमा देख्दा म बढी खुसी हुन्छु कि हिमाल देख्दा !
केही बेर उँडेपछि जहाजको झ्यालबाट देखिने दृश्य फेरिइन थाले । सुन्दर हिमालका चुचुरा हेर्दाहेर्दै टाढिन थाले । बादलैबादल मात्र देखिन थाल्यो– आकाशभरि बादल । बादलको पहाड, बादलकै दरबार । कपासजस्ता सेता बादलका डल्लाहरू । बादलकै गुफाभित्र घुमाउँदैछ कि जहाजले जस्तो लाग्थ्यो । जेलाई पनि ठाउँ दिने शून्य आकाश आँखाले जति खोज्दा पनि भेटिन्न थियो । त्यसलाई ओगटेको जस्तो देखिने बादल भने जताततै अनेक रूपमा देखापरिरहेको थियो । यो बहुरुपिया अनित्य बादल सत्य हो कि यति वेला मेरा आँखाले नदेखेको तर अपरिमित सर्वव्यापी आकाश ? केही यत्न गरेर बादल खेलाउने आकाशलाई नै सत्य देख्न र आफ्नो ठान्न खोज्छु म ।
मेरो मनकै कुरा बुझेझैँ गरी बादल मेरो दृश्यबाट सरक्क हटिदिन्छ । त्यसले छाडिदिएको खाली ठाउँबाट तल देख्छु, सुक्खा चट्टानैचट्टानका पहाड छन्– कुनै बोटबिरुवाविनाका सुक्खा ! हेर्दाहेर्दै मनमा अत्यास लाग्नथाल्छ– त्यस्तो ठाउँमा बस्नु परेको भए ? यो नीरस कल्पनाले मलाई निल्न नपाउँदै त्यो दृश्य पनि ओझेल पर्छ । र मैले नचिनेको अर्को नीरस दृश्य देखापर्छ– विशाल सेतो मैदानजस्तो केही । ‘मरुभूमि पो हो कि यो ?’ भनेर मनले ठम्याउन केही बेर लाग्छ मलाई । त्यति तलको मरुभूमि देख्दा पनि मन आत्तिन्छ । पानी नै नभएको जगतमा मान्छे कसरी बाँच्छन् होला ? मेरो प्रश्नको उत्तर झैँ– कतै कतै मरु–उद्यान पनि देखिन्छन्– अलिअलि हरियो । कृत्रिमजस्ता लाग्ने, थोत्रो सेतो तन्नालाई टालेका हरिया टालाझैँ लाग्ने हरिया चोइटाहरू । त्यतिले पनि मन अलि सञ्चो हुन्छ । मरुभूमिमै बाँच्नेका निम्ति कति महत्वपूर्ण होलान् ती मरूद्यान ! कहीँकहीँ बाङ्गाटिङ्गा, लामा रेखाहरू पनि देखिन्छन् तल । नदी होलान् ती । तर कामिरहेका हातले कोरेजस्ता देखिने ती धर्सा नदी भए पनि सुकिसकेका होलान् । कति अत्यासलाग्दो मरुभूमि !
‘लोकल समय १२.४५ !’ सरोज मसँग भन्छ– ‘अब त समुद्र आउने वेला भयो नि, देखिएन बाहिर ?’
‘अहँ अझै मरुभूमि नै देखिरहेछु त…!’ सरोजको कुराले मेरो आँखाले समुद्र देख्न हत्तार गर्छ, पानीको जगत खोज्छ । सरोज मसँगै छ, झ्यालतिर छु म । अरू वेला बच्चा जस्तो लाग्छ ऊ । तर यति वेला भने उल्टो भैरहेको छ । मेरो मन बच्चाको जस्तो चञ्चल भैरहेको छ । आँखा चिम्लेर ध्यानमग्न देखिन्छ ऊ । वेलावेलामा इन्टर–एक्टिभ नक्शा खोलेर हेर्छ– जहाज कहाँ पुग्यो भनेर । अब कति समयमा कहाँ पुग्ने हो मलाई सुनाइरहेको पनि हुन्छ । म भने झ्यालबाटै हेर्नमा ब्यस्त ।
‘ल ल.. पानी देखियो ! अब बल्ल समुद्र आयो !’ म अलि उत्साहित भएर बोल्छु । तल सेतो बालुवा र नीलो पानीबीचको सीमा देखिनथाल्यो । एकछिनमा सर्वत्र नीलो ! मन पनि पानीजस्तै सङ्लो भएझैँ लाग्छ । समुद्रछेउबाट एउटा पानीजहाज बगिरहेको देख्दा झन् रमाइलो लाग्छ । समुद्रदेखि टाढाका हामी, यदाकदा जहाज चढेर यात्रा गरेका क्षणलाई सम्झनपुग्छु, आफैँ रमाउँछु ।
यात्रा त मलाई मनपर्ने कुरा नै हो । मेरो प्रिय सहयात्री सरोजको साथमा हिँड्न झनै मन पर्छ । हरेक यात्रामा– जीवनको होस् वा भूगोलको– ऊ मेरो नक्सा बनिदिन्छ । मनमा लागेका सबै कुरा धक नमानी सोध्न पाइन्छ । भूगोल, इतिहास, संस्कृति … जेबारे पनि मनलागेको कुरा सोध्न सक्छु । ऊ मेरो जीवनसाथी मात्र होइन गुरु पनि हो । उसको साथमा घुम्नु मेरा निम्ति रमाइलो मात्र होइन, त्योभन्दा धेरै हुन्छ ! यसपालि सर्जनहरूको कन्फरेन्समा ग्रीसको निम्तो पाउँदा ऊभन्दा म नै धेरै खुसी भएकी थिएँ । मेरो एउटा ठूलो इच्छा थियो युरोप घुम्ने । बल्ल पूरा हुँदैथियो ।
कति बेर बित्यो कुन्नि, समुद्रमाथि ! मरुभूमिमा फुलेको फूलजस्तै दोहाको झिलिमिली एयरपोर्ट देखिनथाल्यो । दोहाबाट फेरि अर्को जहाज चढ्न त बाँकी नै छ आजको गन्तव्यसम्म पुग्नलाई । एयरपोर्टमा पुग्नासाथ ट्रान्जिटका निम्ति अर्को बस चढ्नुथियो, चढ्यौँ । बसको बाटो नै कति लामो ! झन्डै २० मिनेट भइसकेपछि मनमा डर जन्म्यो, गलत बस त चढिएन …!? ट्रान्जिटको समय नै २५ मिनेट मात्र थियो । हामी चढेकै जहाजबाट ओर्लेका यात्रु थिए सबै । बिस्तारै सँगै बसेको यात्रुसँग सोधेँ कहाँ जाने हो भनेर ? ‘इजरायल’ भन्ने छोटो जवाफ आयो । झन् डर लाग्यो । सरोजले अर्को मान्छेसँग सोध्यो बस गलत भएछ कि भनेर, एउटै मात्र बस हो, भन्ने थाहा भएपछि भने ढुक्क भइयो । निर्माणकार्य भइरहेको भएर एयरपोर्टमै यसरी हिँड्नुपरेको रहेछ । धन्न समयमै पुगियो ।
मनमा हतार छ, एयरपोर्टमा पर्खिरहेका दुईजना कालो बुर्का लगाएका मुस्लिम महिलाले मेरा आँखा ताने । अनुहार देखिँदैन । तर ती पक्कै धनी छन्– कम्तीमा पनि उनीहरूको साथमा भएकी ती मङ्गोलियन अनुहारकी महिलाभन्दा । उनले सेतो ठूलो रुमालमा बेरिएको सानो बच्चा र एउटा ठूलो झोला पनि बोकेकी थिइन् । ती मुसलमान महिलाकी दासीजस्तै देखिन्थिन् तिनी । मेरो मन अलिकति दुख्यो त्यसै । मेरोजस्तै कुनै गरिब देशकी एक कामदार महिला हुनुपर्छ । उनले ‘मालिक्नी’ ले झैँ कालो बुर्काले मुख छोपिएर त हिँड्नु पर्दैन, तर ती मुखै नदेखिएका महिलाको दासी हुनुछ । त्यो बच्चा र त्यो ठूलो झोलासँगै कति धेरै कथाका भारी बोकेकी होलिन् उनले ! जीवनका यस्ता कथा कति होलान् यो संसारमा !
दोहाबाट जहाज चढेपछि अर्को जहाज फेर्नु पर्दैन भनेर ढुक्क भएँ । एथेन्स नपुगुन्जेल बीचमा एउटा हिन्दी फिल्म हेर्न पनि भ्याएँ परेस रावलको । मज्जैले हाँसेँ एकछिन् । उज्यालै थियो, फेरि लन्च ख्वाए । गर्नु नै के थियो र ? फेरि खाइदियौँ ।
जहाजभित्रका मान्छेहरूको चहलपहलले पनि थाहा हुन्छ, अब एथेन्स पुग्नै लागियो । बादलको गुफाबाट निस्केर जहाज बिस्तारैबिस्तारै तल आउँदै थियो । जहाजले आकाश छोडेर ग्रीसको भूमिमा टेक्दै गरेको थाहा हुन्छ । ‘धन्य भगवान् यहाँसम्म पुर्याइदियौ ।’ कथा, इतिहास र पुराण बोकेको ग्रीसको भूमिमा आइपुगेकोमा खुसी भएँ ।
साँझको ६ बजेको वेला, अझै उज्यालो नै छ जगत । दसैँको टीकाकै दिन घरको टीका लगाएर निस्केका हामी, यतिखेर युरोपको भूमिमा टेक्दैछौँ । टाढा हो र यो ? अब हाम्रो बुक भएको होटल पुग्नलाई झन्डै एक घण्टा अर्को लाग्न सक्छ रे ट्याक्सीबाट । ट्याक्सी चढ्यौँ । ड्राइभर परेछ एउटा प्रवासी पाकिस्तानी । ऊ हामीसँग कुरा गर्नथाल्यो । ऊ सायद उर्दु बोलिरहेको थियो, हामीलाई हिन्दीजस्तै लाग्यो । आफ्नो भाषामा कुरा गर्न पाएकोमा ऊ खुसी देखिन्थ्यो । ऊसँग गफ गर्दै, एथेन्सका बारेमा अनेक कुरा सोध्दै होटेलतिर लाग्यौँ ।
सुन्दर रहेछ एथेन्स ! ठाउँठाउँमा स–साना डाँडा र ढिस्काहरू, झट्ट हेर्दा काठ्माडौँकै दिदीबहिनी भन्न सुहाउने । विकासको हिसाबले हेर्दा मात्र बेग्लै छ एथेन्स । ‘देवभूमि’ नाम साँच्चै सुहाएजस्तो लाग्यो । संयोगले साँझको वेला परेको थियो, हामी जहाँ पुग्थ्यौँ सडकका बत्ती पनि बल्दैजान्थे– साँच्चै हामीलाई नै स्वागत गर्न पर्खेकाजस्तो लाग्ने । हामी बूढाबूढी एक–आपसमा ठट्टा पनि गर्छौं– ‘ल यो देवभूमिले त हामीलाई चिनेछ– अर्को देवभूमिवाट आएका मान्छेहरू भनेर !’
एक घन्टाको लामो बाटो चालै नपाई एकैपल्ट होटलअगाडि पुगिसकेका हुन्छौँ हामी । एकजना अग्लो गोरो बेलब्वायले सलाम गर्दै गाडीको ढोका खोलिदिन्छ र हाम्रा सबै सामानहरू होटलभित्रसम्म लगिदिन्छ । हामी पछि लाग्छौँ– भव्य सुन्दर होटल– ‘डिबानि काराभेल होटल’ । रिसेप्सनमा अलिकति उभिएपछि उही केटोले बाटो देखाउँदै कोठामा पुर्याइदिन्छ । उसको हातमा ५ युरो हालिदिन्छ सरोजले । फेरि एकपल्ट सलाम ठोकेर ऊ जान्छ । अब आरामै गर्नुछ, दुईपल्ट लन्च खाएकोले डिनर गर्ने इच्छा पनि छैन । ‘देवभूमि’ को सुविधायुक्त होटलमा पहिलो साँझ बिताउँदै गर्दा बाहिरबाट ढोकामा बिस्तारै टक्टक् गरेको सुन्छु । बिस्तारै ढोका खोल्छु एउटी सुन्दर युवती हातमा दुइटा चकलेट बोकेर उभिएकी– ‘वेलकम् म्याम’ भन्दै मेरो हातमा चकलेट हालिदिन्छिन् । म पनि धन्यवाद भन्दै लिन्छु– चकलेटमा लेखेको रहेछ– ‘गुड नाइट’ ! गुड् नाइट चकलेट मीठो लाग्छ । त्यही खाएर गुडनाइट भन्छु, देवभूमिको पहिलो गुड नाइट !
कति छिटो बिहान भइसकेछ ! एथेन्सको पहिलो बिहानी, सुन्दर बिहानी हत्त न पत्त झ्याल खोली हेर्छु । मीठो उज्यालो घाम कोठासम्म नै आइसकेको, झ्यालबाट अलि पर आँखा अल्झिन्छ डाँडामाथि छानाविनाको घरजस्तो, सेतो पर्खालजस्तो के हो भन्न नसक्ने दृश्य । पछि नक्सा हेरेपछि थाहा पाएँ, त्यो त विश्वविख्यात प्राचीन सम्पदा एक्रोपोलिस रहेछ । कति राम्रो ठाउँमा होटल रहेछ, फेरि आफू बसेकै कोठाबाट ती सुन्दर दृश्य पनि देखिने । आहा ! साँच्चै देवभूमिमै छौँ भन्ने महसुस भयो ।
सरोजको आजै प्रिजेन्टेसन छ, केही तयारी गर्नु पनि छ । ऊ व्यस्त हुनुपर्ने दिन हो आज, यही कामका निम्ति समुद्र पार गरी आइपुगेका छौँ । मेरो भने अरू कुनै काम छैन, घुम्नुबाहेक । ब्रेकफास्ट खाँदाखाँदै म नजिकैको ठाउँहरू घुम्ने योजना बनाउँछु । सरोज आफ्नो मिटिङ्को समयमा होटलकै ठूलो हलमा पस्छ, ‘गूडलक’ भन्दै बिदा गर्छु । अब मेरो समय सुरु हुन्छ …।
नयाँ ठाउँमा हिँड्न कोही साथी भए हुने ! तर एक्लै छु । हातमा एउटा नक्सा बोक्छु । पर्यटक भा’की छु । बिहानै होटल वरिपरिको सडकमा एकै छिन डुलेकी थिएँ । नजिकै एउटा थुम्को देखेकी थिएँ, हाम्रो स्वयम्भूको डाँडाजस्तै लागेको थियो । टाढैबाट मेरो मनलाई तानिसक्यो, त्यो डाँडा चढ़ेर देवभूमि हेर्ने इच्छा जाग्यो । कसँग मेरो झोला छ, पासपोर्ट र पैसा बोकेको छु । अर्को थप कुरा भनेको एथेन्सको नक्सा छ होटलबाटै लिएको । मोबाइल सेट छ तर सिम लिएको छैन, वाइफाई पनि छैन, फोटो खिच्नबाहेक अरू त्यसको कुनै काम पनि छैन ।
एकै छिन हिँडेपछि त्यो स्वयम्भूजस्तो लाग्ने थुम्कोको फेदीमा पुग्छु । थुम्कोमाथि चुचुरोमा सेतो मन्दिरजस्तो लाग्ने संरचना परैबाट देखिन्छ । मलाई लाग्यो– ‘यो देवभूमिमा कुनै देवदेवीको मन्दिरै पनि हुनसक्छ’ । नजिक पुगेपछि माथि चढ्ने खुड्किलाहरू पनि देख्छु । अगाडि बढ्छु, खुड्किलाहरू चढ्दैचढ्दै जान्छु । त्यो सुन्दर सहरको सुन्दर थुम्कोमा प्रशस्त पर्यटक हुनुपर्ने– तर पूरै सुनसान छ ! अलि अचम्म लाग्छ । मान्छे कतै देखिन्न । बिस्तारै डर पलाउँदै जान्छ । म कुनै दुस्साहसको रहरले त्यहाँ पुगेकी त थिइनँ !? कोही बदमासकै फेला परे के गर्ने होला ? यो सोच आएपछि भने अझै माथि जाऊँ कि तलतिरै फर्कूंजस्तो भयो मन । एक्कासि नजिकको बस्तीबाट कुुकुर भुक्न थालेपछि, मन साँच्चै डरायो ! एक छिनमा कुकुरहरूको नाराबाजी नै सुनिन थाल्यो । ‘अब भने बर्बाद भयो !’ अरू केही सोच्न भ्याउनअघि नै खुट्टा पछाडि फर्किए । बल्लतल्ल तलबाट आउँदै गरेका एउटा युवा जोडी देखेँ । ती पनि नयाँ बाटोमा अलमलिएर हिँडेजस्तै देखिन्थे । ती पनि तर्सिएका थिए कुकुरको भुकाइले । उनीहरूलाई देखेपछि मलाई भने साहस आयो । कोही त भेटियो ! कुकुरले तर्साइसकेको मन भएकोले उनीहरूसँग पनि केही नबोली म सरासर तलै झर्न थालेँ । झन्डै एकै सासमा तल पुगेजस्तै भयो । तल सडकछेउ पुगेपछि बल्ल आनन्दले लामो सास फेरेँ । एउटा खुद्रा पसलमा एक बोतल पानी किनेर अलिकति पानी पिएँ अनि मनको डर कम भयो । जुन बाटो आएको, त्यही बाटो फर्किएँ । मूलसडक पुगुन्जेल पनि मुटु भने ढुकढुक हुन छोडेको थिएन । थुम्कोमाथि चढ्न नपाएकोमा मन खल्लो भयो ।
अर्को सडक क्रस गर्ने वेला सडकको पुल चढ्छु– पूलमाथि भित्ताको छेउमा एक जना सुन्दरीलाई भेट्छु । कालो गाउनजस्तो लामो कपडा लगाएकी गोरी, छाँट परेको अनुहार कुनै देवीको जस्तै लाग्छ । उनकै छेउबाट हिँडनु थियो । नजिक पुगेपछि उनले बिस्तारै हात थाप्छिन् । हाम्रो सडकमा भेटिने माग्नेहरूले जस्तै । मलाई अचम्म लाग्छ मन पनि दुख्छ– ‘यो देवभूमिमा पनि माग्ने ?!’ झोलाबाट एउटा सिक्का पानी किन्ने वेला फर्केको पैसा निकाल्छु र हातमा राखिदिन्छु । उनको राम्रो सुन्दर अनुहारलाई फेरि नजिकबाट नियाल्छु । अनुहार गोरो र सुन्दर भए पनि निस्तेज र डिप्रेस्ड देखिन्छ । तर उनले अलिकति हाँसेर कृतज्ञता ब्यक्त गर्छिन् पैसा पाएकोमा । म उनलाई छोडेर अगाडि बढ्छु । तल अर्को सडकमा पुग्छु– सडकमा अर्को एउटा ह्यान्डसम फिल्मको हिरोजस्तो लाग्ने युवकको चटक देख्छु । सडकको बीचैमा बसेर आफ्नो हातमा आफ्नै हातलाई माथि फाल्दै फेरि टाउकोमा ठ्याप्प लगाउँदै बाटोमा खाशगरी गाडीहरूलाई नै रोकेर पैसा माग्दै गरेको देख्छु । झट्ट हेर्दा प्रतिभावान् खेलाडीजस्तो, नाटकको नायक बनाउन सुहाउने युवक त्यस सडकमा त्यसरी पैसा माग्दै बसेको देख्दा फेरि मेरो मन दुख्छ ।
अब मलाई फेरि अर्को बाँकी भएको मन दुख्छ कि भनेर डर लाग्छ, ‘म त रमाउन भनेर हिँडेकी !’ मन केही भारी जस्तो हुन्छ । सरासर फेरि होटलतिरै लाग्छु, बरु साँझ सरोजको समय पाएपछि सँगै घुम्नु नै राम्रो भन्ने लाग्छ । फर्किरहँदाको सडकपछि घर बस्तीतिर जाने सडक पनि फराकिला नै छन्, दाँयाबायाँ लाइनै गाडीहरू बिसाएका छन् । सडकमा भने गुडेका गाडीहरू कमै देखिन्छन् । सुरुमा म बुझ्दिनँ कुरा किन ? नामीदामी सहरको अवस्था यस्तो किन ? हिजो बाहिरवाट झट्ट देखेको देवभूमि र यतिखेराको वास्तविक एथेन्स सहरको रूप केही फरक देख्छु । मैले सुनेको सहरको सुन्दरता र यतिखेराको रुपरङ्गमा म केही फरक देखिरहेछु । मेरो दृष्टि मात्र कि वास्तविकता । मलाई छुट्याउनै पनि गाह्रोजस्तो भइरह्यो ।
यो सन् २०१२ को समयको एउटा चित्र हो एथेन्स ग्रीसको । त्यो वेला विभिन्न पश्चिमा देशमा मन्दी सुरु भइसकेको वेला ग्रीसले अझै धेरै सामना गर्नुपरेको वेला थियो । उता जानुअगाडि नै सुनेको पनि थिएँ, यो वेला ग्रीस घुम्ने वेला होइन भनेर । एउटा ऐतिहासिक सुन्दर ठाउँको दुर्दशा त्यो दुखद् अवस्थाको वेला थियो ।
ग्रीसका मान्छेहरूको आफ्नै एउटा गर्व पनि रहेछ ‘देवभूमि’ हुनुप्रति । त्योसँगै अलि बढी मस्ती गर्ने स्वभाव पनि रहेछ, आर्थिक अवस्था राम्रो भएको वेला । एक्कासि देशको अवस्था खस्कँदै गएपछि भने धेरै मान्छेहरूमा छिटोछिटो निरासाले छोपेछ । त्यहाँ सडकमा लस्करै बसेका गाडीहरू पनि सबै बन्द हुनुको रहस्य त ‘तेल हाल्न पैसा नै नभएर’ रे भन्ने बुझेपछि मेरो मन अझै धेरै भारी भयो । प्रायः मान्छेहरूको अनुहार राम्रो भईकन पनि डिप्रेस्ड देखिनुको कारण पनि यही रहेछ । अझ वृद्धावस्थाका मान्छेहरूको अनुहार हेर्न नै गाह्रोजस्तो हुनथाल्यो उज्यालोमा । दुःख, निरासा, अँध्यारो र अभावको कुइरोले छोपिँदै गरेको देवभूमिको अवस्था त्यहाँ पुगेको भोलिपल्टको बिहानै छर्लङ्ग भयो । यी अझै एकै छिनको समयमा मात्र प्रत्यक्ष देखेको कुरा भए । अरू कुरा हेर्नु र देख्नु बाँकी नै छ । यद्यपि देवभूमिको अतुलनीय प्राकृतिक सुन्दरताको कुरा बेग्लै छ । पश्चिमा जगतमा यसले गरेका ऐतिहासिक महत्वपूर्ण भूमिकाको श्रृङ्खलाहरूको तथ्य–सत्यहरू हेर्नै पनि बाँकी नै छ । विश्वप्रसिद्ध एक्रोपोलिस खम्बाहरू यहीँ नै छन् । ओलम्पिक सुरु भएको देश पनि हो यो । खुल्ला मैदानमा रहेका त्यो ऐतिहासिक ठाउँ जस्ताको तस्तै सुरक्षित साथ नै राखेका छन् अझै । तर यति नै खेरा भने यहाँ आन्दोलन पनि भइरहेको रहेछ । जहाँ अभाव, त्यहाँ असन्तुष्टि स्वाभाविक छ । यो कुरा पनि बुझ्न सकिन्छ, हामी नेपालीका निम्ति । त्यहाँको सरकारको अस्थिरता, अनि नागरिकहरूको असुरक्षित मानसिकता आदिले देवभूमिलाई धमिलो बनाइराखेको वेलाको दृश्य हो यो । अनित्य छ सबैकुरा– अहमता, विकास, सुन्दरता आदिको पनि सापेक्षित महत्व हुँदोरहेछ ।
कुनै पनि देशको सुन्दरता, विकास सधैँ एकनाश रहँदैन । संसारमा देखिएका दुःख होस् या सुख सबै अनित्य छ । देवभूमिको यात्रा वास्तवमा वेलामा नै पुगेका रहेछौँ, जहाँ सत्यलाई नजिकबाट नियाल्न पायौँ । पछि लाग्दैगयो म जस्ती चुलबुले स्वप्नदर्शी जिज्ञासुलाई यही समय जुराइदिएको रहेछ दैवले– त्यो अवस्था देख्नलाई, धन्य ! समय एकनाश रहन्न, यो त एक समयको मात्र चित्र हो ।
(मानन्धर प्रसिद्ध कवि एवम् लेखक हुन्)