‘…तर त्योभन्दा पहिले बाहिरतिर अनि ग्यारेजमा गएर हेर त कसैले कुनै गाडी छोडेका छन् कि छैनन् ? बिनी, आज तिमीले मलाई यहाँबाट निकालेर पशुपति पुर्यायौ भने मलाई लाग्ने छ– तिमीले मलाई नयाँ जीवन दियौ ।’ मैले एकसासमा भनेँ ।
ऊ केही नबोली बाहिर निस्की । ग्यारेजबाट फर्केर आएर उसले रातो रङको गाडी ग्यारेजमा भएको सुनाई, जुन सुदर्शनको थियो । मलाई लाग्योे– सायद बिनीले त्यो गाडी सजिलै चलाउन पनि सक्नेछ ।
त्यसपछिको २० मिनेटमा उसले सुदर्शनको कोठाबाट गाडीको साँचो फेला पारी र ग्यारेजबाट गाडी निकाली । बडो मुस्किल र सावधानीपूर्वक असिनपसिन हुँदै मलाई गाडीको अगाडिको सिटमा राखी । सिटबेल्टको मात्र भरोसा नगरेर मेरो एक नसुनीकन आफ्नो सलले मलाई सिटमा कसेर बाँधी । ह्याट र गगल्स लगाइदिई । माथिबाट दोसल्ला ल्याएर मलाई, मेरा खुट्टालाई राम्ररी ढाकी । ह्विलचेयर फोल्ड गरेर डिक्कीमा राखी अनि आएर ड्राइभिङ् सिटमा बसेर आफ्नो अनियन्त्रित सासलाई नियन्त्रण गर्ने कोसिस गर्दै भनी– ‘अब ?’
‘अब के नि ? अब अघि बढ अनि केही घन्टाकै लागि सही, मुक्ति दिलाऊ मलाई यो घर र यस घरको चिसो, नमीठो अनुभूतिबाट ।’
‘तर मलाई त बाटो राम्ररी थाहा छैन त ।’
‘त्यसका लागि म छँदैछु नि !’
‘ओके !’ उसले स्टेयरिङ्ह्विललाई छोएर निधारमा स्पर्श गरी अनि गाडी स्टार्ट गरेर सावधानीपूवर्क गेट बाहिर पु्र्याई । तल ओर्लेर गेट बन्द गरेर ताल्चा लगाई र आएर गाडीमा बसी । मैले उसलाई बाटो सम्झाएँ । उसले गाडी अघि बढाई । थाहा छैन किन मैले मुक्तिको लामो सास फेरेँ ।
०००
पशुपतिनाथको मन्दिर नजिकको पार्किङ् एरियामा पुगेर बिनीले गाडी रोकेपछि मलाई गाडीबाट तल ओर्लने इच्छा भएन । किनभने त्यसरी पटकपटक मलाई गाडीमा राख्नु, ओराल्नु बिनीका लागि सजिलो थिएन । त्यसैले उसले लाख जिद्दी गरे पनि मैले गाडीबाट ओर्लेर ह्विलचेयरमा बस्न मानिनँ । केही सीप नलागेपछि मलाई गाडीमा छोडेर ऊ एक्लै मन्दिरभित्र गई । प्रसाद, माला, फूल ल्याएर मलाई लगाइदिई । त्यसपछि मेरो आग्रहमा त्यहीँ पशुपति, गुहेश्वरीको एरियामा गाडी घुमाइरही । एकपटक गाडी रोकेर उसले कहीँबाट तात्तातो जेरी किनेर ल्याएर मलाई ख्वाई, आफूले पनि खाई । निकै समय त्यत्तिकै बित्यो । कतिबेर त हामी पशुपतिमाथिको चौरमा गाडी रोकेर त्यसै बसिरह्यौँ । गफैगफमा मैले आफ्नो घर र परिवारमा यो हप्ताभरि घटेको अपत्यारिलो घटना–परिघटनाको लम्बेतान लिस्ट पनि बिर्सिएँ । बिनीसँग कुराकानीको क्रममा मैले मनमनै अठोट गरेको थिएँ– अब म यो नचाहिँदो टेन्सन बोक्दिनँ । सुमन्त, श्रेया र मामालाई आफ्नो व्यवस्था प्रधान मेन्सनबाहिर गर्न लगाउँछु । बरू पैसा अलि बढी दिन परे पनि केही छैन, तर अब म यिनलाई घरमा राख्दिनँ । वासु र कमलको मद्दतले घरको व्यवस्थामा अलिअलि हेरफेर गर्ने निर्णय गरेपछि मेरो मन अलिकति शान्त भयो ।
निक्कैबेर मलाई यता र उता घुमाईसकेपछि बिनी मसँग घर फर्कन आग्रह गरिरही । मैले आलटाल गरिरहेँ । दिनको उज्यालोलाई साँझको अँध्यारोले विस्थापित गर्न थालेपछि भने मैले घर फर्कने उसको आग्रहलाई अनुमोदन नगरी सुखै पाइनँ । उसले गाडी घरतिर मोडी । ऊ दक्ष ड्राइभर त थिइन तर पनि सतर्कतापूर्वक बिस्तारैबिस्तारै गाडी चलाइरहेकी थिई । म बाटो सम्झाइरहेथेँ ।
बाटोमा एकठाउँमा दमकलले हामीलाई उछिनेर अघि बढ्यो । हाम्रो घरतिर जाने रोडमा छिरेपछि उसले गाडी अघि बढाउन सकिनँ । सायद त्यो पूरै एरियामा बिजुली थिएन । त्यसैले बाटो सधैँभन्दा अँध्यारो प्रतीत भैराखेको थियो । त्यसमाथि मानिसहरू भागाभाग गरेर त्यही बाटोमा आएर जम्मा हुँदैथिए । ड्राइभ गर्न गाह्रो भएपछि उसले छेउ लगाएर गाडी रोकी अनि आफ्नो साइडको झ्याल खोलेर अलिकति टाउको बाहिर निकालेर अघिबढ्दै गरेको मान्छेसँग सोधी– ‘केको भीड हो दाइ यो ?’
‘यहाँ अलिपर घरमा आगलागी भएछ, त्यही भएर…।’
‘कसको घरमा ?’ उसले अत्तालिँदै सोधी– ‘कति बेला ?’
‘खै, कुवेरमान प्रधानको घर भन्छन् । आगो लागेको त निक्कै बेर भो । दमकल पनि बेलामा कहाँ आयो र ?’ त्यो मान्छे एकै छिन अडियो अनि अफसोचपूर्ण स्वरमा भन्यो– ‘घर त जल्योजल्यो तर दुःखको कुरो– कुवेरमानको एक्लो अपाहिज नाति आगलागी हुँदा भित्रै थियो रे । बिचरालाई झिक्नसम्म भ्याएनछन् कसैले । दमकल आउँदासम्म त सबैजसो घर जलेर सखाप भैसकेथ्यो । कुन्नि कसरी सल्केछ आगो, त्यो कोही नभएको घरमा ?’ त्यो मान्छे आफ्नै सुरमा भुतभुताउँदै अघि बढ्यो । बिनीले टाउको भित्र तानेपछि मैले हडबडाउँदै भनेँ– ‘सिसा बन्द गर ! गाडी ब्याक गर छिटो । छिटो निस्क यहाँबाट…!!’
‘तर प्रत्यूष, यहाँ त…यो…।’
‘बिनी, हरीअप, भाग यहाँबाट !’ मैले भनेँ । मेरो स्वरमा थरथराएको आतङ्क अनुभूत गरेर यसपटक उसले प्रतिवाद गरिन । दाँत बाँधेर बडो मुस्किलले गाडी ब्याक गरेर मेनरोडतिर मोडी ।
‘छिटो, छिटो…!’ म कराइरहेँ– ‘अलि टाढा लगेर सुनसान ठाउँमा गाडी रोक !’
‘तर प्रत्यूष योभन्दा स्पिड चलाउन मलाई डर लाग्छ ।’
“डोन्ट वरी, केही हुँदैन । स्पिड अप…।’
चक्रपथ पुगेपछि उसले अन्योलपूर्वक सोधी– ‘क…कता लगौँ ?’
‘सीधै बूढानीलकण्ठतिर हिँड !’ मैले भनेँ । बाँसबारी काटेर ओरालो लागेपछि मैले फेरि भनेँ– ‘अब आउने साइड रोडमा लगेर कतै गाडी रोक !’
उसले यौटा सुनसान बाटोतिर गाडी मोडी अनि अलि भित्र लगेर छेउ लगाएर रोकी र पसिना पुछ्दै सोधी– ‘अब भन, तिमीले मलाई किन त्यस्तरी कुदायौ ?’
मैले टाढा कहीँ शून्यमा हेर्ने कोसिस गर्दै बिस्तारै भनेँ– ‘बिनी, थाहा छैन कसले, आफ्नो धम्की पूरा गरेर देखायो ?’
‘ह..ह्वाट ?’ ऊ अविश्वासपूर्वक कराई । म केही बोलिन तर मेरो अनुहारमा आँधी–हुरी चलिरह्यो । मेरो अनुहारको भाव पढ्दै फेरि उसैले भनी– ‘कसरी हुनसक्छ ? कसले गर्छ ? प्रत्यूष, धम्कीदिनु र पूरा गर्नु बेग्लाबेग्लै कुरा हुन् । किनभने धम्की दिँदा मानिस जोसमा हुन्छ अनि पूरा गर्दा होसमा । होसमा कसैले त्यस्तो बीभत्स र खतरनाक काम कसरी गर्छ ?’
‘गर्छ, त्यसैले त दुनियाँमा यतिका उदाहरणहरू भेटिन्छन् । मान्छेको ज्यान लिनु त सानो कुरा हो बिनी । यहाँ त मान्छेको सोच र नियत यति विकृत भइसक्यो, मान्छेले त्यो पनि गर्नसक्छ जुन कुनै नरभक्षी जनावरले गर्न सक्दैन ।’ मैले भावशून्य स्वरमा भनेँ । ऊ केही बोलिन तर उसको अनुहारबाट अविश्वास पुछिएन ।
निक्कै बेर हामी दुवै मौन आ–आफ्नै सोचमा मग्न रह्यौँ । ऊ के सोचिरहेकी थिई, मलाई थाहा थिएन तर मेरो मनमा त यति धेरै कुराहरू मडारिइरहेका थिए– मैले कुनै कुराको छेउटुप्पोको भेउ पाइरहेको थिइनँ । मेरो दिमागले पनि काम गर्न छोडेको थियो, मेरो शरीरले जस्तै ।
‘अब ?’ निक्कै बेरपछि उसले बिस्तारै सोधी–‘यदि तिमीलाई त्यस्तो लाग्छ भने हामी पुलिसकोमा किन नजाने ?’
‘गएर के भन्ने ? कोतिर औँला उठाउने ? प्रमाण के छ हामीसित ? फेरि कुरा एकपटक पुलिसकोमा पुगेपछि आफ्नो हातमा रहन्न अनि हल्लाखल्ला हुनु भनेको शत्रुलाई सजग गराउनु हो । उसलाई अर्को मौका दिनु हो जुन म दिन चाहन्न । भन्छन्– चिनेको शत्रुको प्रहार रोक्न सकिन्छ तर नचिनेको नजानेको शत्रुको प्रहार रोक्न र छेक्न सकिन्न किनभने त्यो प्रहार कता र कोबाट गरिन्छ थाहै हुन्न ।’ मैले काँतर स्वरमा भनेँ– ‘बिनी ! यसपटक त म तिम्रो कारणले बाँचे, अर्काेपटक पनि बाँच्छु भन्ने के ग्यारेन्टी छ ?’
‘प्रत्यूष !’ उसको स्वर काँप्यो ।
‘बिनी, म पिठ्यूँमा गरिएको प्रहार खपेर मर्न चाहन्नँ । म अपाहिज, लाचार मर्न चाहन्नँ । म आफ्नो मर्नुको कारण नजानी मर्न चाहन्नँ । त्यसैले चुपचाप पत्ता लगाउन चाहन्छु– मेरो कुन त्यो आफन्त हो जो मलाई जीवित देख्न चाहँदैन ?’
‘आफन्त ?’ बिनीले अपत्यारिलो स्वरमा भनी ।
‘मेरा आफन्त र मेरावरिपरिका मान्छेबाहेक अरू कसलाई थाहा थियो, र आज म घरमा एक्लै हुन्छु भन्ने ?’
बिनी अफ्ठ्यारो मानेर चुप लागी ।
‘हुन त मेरो चिनजानका धेरै जना छन् पुलिसमा तर म उनीहरूसामु गएर कुनै नाम लिन सक्दिनँ । यदि मैले लिएको नाम गलत पर्यो भने त्यस नामसँगको मेरो सम्बन्ध धरापमा पर्छ, जुन म चाहन्नँ ।
अचेल मेरो घरमा, मेरोवरिपरि जेजे घटिरहेको थियो त्यसलाई ध्यानमा राखेर सोच्दा मेरोवरिपरि भएका सबै जना शङ्काको घेरामा पर्दछन् र ती सबै आफन्त हुन् । अभिन्न छन् । तिमी नै भन त, कसको नाम लिऊँ म ? न कसैमाथि विश्वास गर्नसक्ने अवस्था छ, न कुनै एक जनातिर औँला उठाउने ! त्यही भएर भनेको– हाम्रो हकमा यही सही हुन्छ कि हामी शत्रुलाई उसको प्लान सफल भएको भ्रममै रहनदिऊँ र परै बसेर उसको अघिल्लो कदमको प्रतिक्षा गरौँ । उसलाई चिन्ने प्रयत्न गरौँ । त्यसपछि जाऊँला पुलिसकोमा, सबुत–प्रमाणसहित ।’
‘त्यति बेलासम्म कहाँ जाने ? के गर्ने ?’ बिनीले मानौ निसास्सिँदै सोधी ।
‘थाहा छैन ।’ म उदास स्वरमा बडबडाएँ– ‘शरीरले जस्तै दिमागले पनि काम गरिरहेको छैन यतिबेला, तर पनि घर फर्कने या पुलिसकहाँ जाने त प्रश्नै आउँदैन । सबैभन्दा ठूलो र कठिन प्रश्न– यदि घर नगए अन्त कहाँ जानसक्छु म ?’ मैले मुन्टो घुमाएर काँतर भावले उसलाई हेरेर फेरि भनेँ– ‘यत्रो सिङ्गो दुनियाँमा थाहा छैन म कसमाथि विश्वास गरूँ ? कसको सहारा लिऊँ ? हिजोसम्म सारा संसार मेरो थियो । तर आज, यतिबेला यस्तो लागिरहेको छ कि यो दुनियाँमा मेरा लागि ठाउँ छैन । कहाँ जाऊँ ? कसरी निस्कूँ म समस्याको यो चक्रव्यूहबाट ? हे ईश्वर ! या त यो लाचारी नलादेको भए हुन्थ्यो, या यो समस्यामा नअल्झाएको भए हुन्थ्यो मलाई !’
‘प्रत्यूष !’ बिनीले मेरो हात थामी ।
‘यो विवशताभन्दा त मृत्यु नै सजिलो हुन्थ्यो बरू मेरा लागि ।’ मैले खुइय्य गरेँ ।
‘प्रत्यूष !’
‘जानेर कहिल्यै कसैको मन दुखाइनँ । कसैको कुभलो चाहिनँ । सकेसम्म सबैलाई काम लाग्ने कोसिस गरेँ । मित्र बनाउन नसके पनि शत्रु कमाउनबाट सधैँ जोगिने कोसिस गरेँ । त्यति गर्दागर्दै पनि आज आफ्नै छायाँसँग डराउनुपर्ने समय आएको छ मेरो जीवनमा । कहाँ, को मौका ढुकेर बसेको छ ? कसको हातले थामेको छुरी मेरो पिठ्यूँमा रोपिन तत्पर छ, मलाई थाहा छैन । यस्तोमा म कोसँग सहायता माग्न जाऊँ ? कसको विश्वास मानेर आफूलाई उसको भरोसामा सुम्पिदिऊँ ? सद्घे, सक्षम भएको भए त दुनियाँ हल्लाएर राखिदिन्थेँ । तर आज यो हालतमा छु– आफ्नो यो लाचारीको बोझ बिसाउने कुनै ठाउँ देख्दिन ! कोसँग मद्दत मागौँ ? मेरावरिपरिका, हिजोसम्म आफूलाई भन्दा बढी भरोसा गरेका मान्छेहरू शङ्काको घेरामा छन् । यस्तोमा कसको शरणमा जाऊँ म ?’ मैले निरीह भावले उसलाई हेरेँ । डबडबाएका आँखाबाट सकभर आँसु झर्न नदिने प्रयत्न गर्दागर्दै पनि दुई ढिक्का आँसु मेरो गालामा ढल्किए । अवरूद्घ स्वरमा मैले आर्तनाद गरेँ– ‘कसको विश्वास गरूँ बिनी, म यति बेला ? कसको शरणागत होऊँ म, जसले मलाई यो विकराल सङ्कटको धापबाट बाहिर निकाल्छ ?’
उसले निकै बेर, केही खोजिरहेझैँ गरी मेरा डबडबाएका आँखामा हेरिरही अनि बिस्तारै सोधी– ‘मेरो विश्वास गर्न सक्छौ प्रत्यूष ? शरीर बेचेर जीविका गर्ने एउटी आइमाईमाथि भरोसा राख्न सक्छौ ?’
‘सक्छु ।’ मैले एक पल पनि नसोचीकन दृढतापूर्वक भनेँ– ‘तिमीमाथि भरोसा गर्छु, त्यसैले नै जीवित छु सायद अहिलेसम्म । तर बिनी, तिमी के गछ्र्यौ ? के गर्न सक्छ्यौ ? म अपाहिजको बोझ उठाएर कहाँकहाँ धक्का खान्छ्यौ ? कहाँ …!’ उसले आफ्नो हात बढाएर मेरो ओठमा राखी अनि दृढ स्वरमा भनी– ‘अब यो तिम्रो समस्या होइन । अब अगाडि तिमी मेरो जिम्मामा ! तिमीले एउटी वेश्यामाथि विश्वास गरेर, भरोसा राखेर जुन सम्मान दिएका छौ प्रत्यूष, त्यसका लागि म जे पनि गर्नसक्छु । विश्वास गर, म तिम्रो विश्वासलाई धमिलिन दिनेछैन । धर्मराउन दिनेछैन ।’
त्यसपछि उसले मलाई केही बोल्न दिइन । गाडीबाट ओर्लिएर बडो सावधानीसाथ मलाई पछाडिको सिटमा पुर्याई । आफ्नो सल झिकेर मेरो अनुहार लगभग ढाकिने गरेर मफलरजस्तै गरी मेरो गर्दनवरिपरि बेरिदिई । क्याथेटरलाई मेरो दुई खुट्टाको बीचमा राखी । ह्याट टाउकोमा व्यवस्थित गरी । मलाई सिटमा ढल्काई । सिटबेल्टले जेली । दोसल्ला राम्ररी ओढाई र गाडी अगाडि दौडाई । मैले ‘कहाँ जाने, कहाँ जाने ?’ भनेर बारम्बार सोधिरहेँ तर उसले दाँत बाँधेर गाडी चलाइरही ।
धुलिखेल पुग्नै लागेपछि परैबाट बाटोमा चेकिङ्मा बसेका पुलिसहरू देखेर उसले पहिले त आफ्नो केश खोलेर अनुहार छोपिने गरी भताभुङ्ग पारी । त्यसपछि बाकाइदा स्वर निकालेर रुन सुरु गरी ।
नजिकै पुगेपछि यौटा पुलिसले गाडी रोक्न इसारा गर्यो । बिनीले गाडी रोकी । त्यो पुलिस बिनीको साइडको झ्यालतिर आएर उभियो । बिनीले झ्यालको कालो सिसा तल झारी । उसलाई रोइरहेको देखेर त्यस पुलिसको ध्यान बिनीतिरै केन्द्रित भयो । उसले साहनुभूतिपूर्वक ‘के भो’ भनेर सोध्यो । बिनीले श्रीमान मुटु थामेर ढलेकाले उनैलाई लिएर धुलिखेल हस्पिटल लान लागेको कथा सुनाई । पुलिसले मतिर चिहायो । मैले आँखा बन्द गर्दै भगवान् भाकेँ । त्यसपछि उसले खासै सोधखोज गरेन, बरू साहनुभूतिपूर्ण स्वरमा ‘राम्ररी ड्राइभ गर्न’ सम्झाएर गाडीबाट पर हट्यो । बिनीले गाडी अघि बढाएर एक किलो मिटर लामो सास फेरी ।
धुलिखेलको अलि भित्रको एउटा सुनसान गल्लीमा लगेर उसले गाडी रोकी अनि ‘एकैछिन बस्दै गर है !’ भनेर गाडीबाट ओर्लेर मेरा आँखाबाट ओझेल भई । म तीव्र उत्कण्ठापूर्वक यताउता मुन्टो घुमाउँदै त्यत्तिकै पल्टिरहेँ ।
बित्दै गएको समयले मभित्र अनौठो छटपटी उमार्यो । किन आइन ऊ यतिका बेरसम्म ? कहाँ गएकी थिई ? उसमाथिको मेरो भरोसा सही थियो या म अर्को कुनै चक्रव्यूहमा फस्दै थिएँ ? निक्कै बेरपछि ऊ फर्की तर ऊ एक्लै थिइनँ । ऊसँग आएको पहलमान टाइपको अजङ्गको व्यक्तिले गाडीको पछाडिको ढोका खोलेर मलाई जुरुक्क उठायो । मैले आतङ्कित भावले बिनीतर्फ हेरेँ । उसले आश्वासनपूर्ण भावले टाउको हल्लाई र गाडीको डिक्कीबाट ह्विलचेयर झिकी । त्यस मान्छेले मलाई बोकेर एउटा पुरानो घरको पछाडिको साँघुरो भर्याङबाट माथि उक्लँदै बिनीसँग भन्यो– ‘यो बाटो चल्तीमा छैन । तिमीले सुटुक्क लग भनेकी भएर मैले यताबाट ल्याएको । हेरेर हिँड है, चिप्लो छ ।’
बिनी केही बोलिन ।
भर्याङ टुङ्गिएको ठाउँमा एउटा झ्याल भन्न सुहाउने एकदमै सानो ढोका थियो । उसले बिनीलाई आफ्नो खल्तीबाट साँचो झिकेर ढोका खोल्न अह्रायो । बिनीले उचालेको ह्विलचेयर बिसाएर उसको खल्तीबाट साँचो झिकेर ढोका खोली । भित्र पसेपछि पनि ऊ अरू दुई तलामाथि उक्लियो । अलि छुट्टै, कुनाको एउटा कोठाभित्र पसेर मलाई त्यहाँ भएको बेडमा लगभग फ्याँकिदिँदै ऊ स्याँस्याँ गर्दै छेउको कुर्सीमा बस्यो ।
‘कत्ति सारो राखेको ।’ बिनीले ह्विलचेयर बिसाएर झम्टेर मेरो छेउमा आउँदै भनी– ‘दुख्दैन कि क्या हो ?’
त्यो मान्छेले केही नबोली विचित्र भावले बिनीलाई हेरिरह्यो । बिनीले मलाई राम्ररी ओछ्यानमा सुताई, ओढ्ने ओढाई अनि उसतर्फ हेर्दै भनी– ‘मलाई रुम सर्भिस चाहिँदैन । चाहिएको सामान म त्यहीँ तलै आएर लिन्छु । त्यसैले कुनै वेटरले ढोका नढकढक्याओस् । कोठा, बाथरूम सफा गर्न भनेर पनि कोही नआओस् । अब तपाईं जानूस् म…।’
‘ठीकै छ, अहिले त जान्छु म ।’ त्यस मान्छेले आफ्नो धोद्रो स्वरमा धम्की मिसाउँदै भन्यो– ‘अहिले त म तिमीले भनेको सबै कुरा गरिदिन्छु तर पछि तिमी आफूले बोलेकोबाट फिर्यौ भने तिम्रो त म जे गति बनाउँछु, बनाउँछु, यसलाई पनि जिउँदो छोड्दिनँ ।’ उसले मतिर औँल्यायो । एकै सेकेन्डका लागि बिनीको अनुहार बिग्रियो तर फेरि तुरुन्तै उसले आफूलाई सम्हाल्दै सामान्य स्वरमा भनी– ‘म आफ्नो वचनबाट फिर्ने भए बोल्दै बोल्ने थिइनँ । त्यसैले तपाईंले धम्की दिइरहनु पर्दैन…।’
त्यो मान्छे बाहिर निस्क्यो । ऊ निस्किन नभ्याउँदै मैले आन्दोलित हुँदै बिनीसँग सोधेँ– ‘यो कुन ठाउँमा ल्यायौ तिमीले मलाई बिनी ? को हो त्यो मान्छे ? तिमीले के कमिट गर्यौ ऊसँग ? बिनी, कहीँ…कहीँ तिमी….।’
‘सऽऽऽस्स..!’ उसले ओछ्यानमा मेरो सिराननजिकै बस्तै बिस्तारै भनी– ‘यति बेला तिमी मसँग केही नसोध प्रत्यूष, बस् यति भरोसाचाहिँ राख– तिमी यहाँ सुरक्षित छौ ।’
‘अनि तिमी…?’ मैले उसको मतिर झुकेको अनुहारमा हेरेर काँतर स्वरमा भनेँ ।
‘प्रत्यूष !’ उसको स्वर थरथरायो । उसले मेरा आँखामा हेर्न नसकेर मुन्टो अन्तै घुमाई ।
‘बिनी, मलाई बँचाउने प्रयासमा त्यस्तो केही नगर, जसले गर्दा मलाई आफ्नो बाँच्नुमाथि नै अपसोच लागोस्…।’
‘प्रत्यूष !’ यसपटक उसका सुन्दर आँखाबाट आँसुको ढिक्का झरेको मैले प्रस्ट देखेँ । मेरो मनले हाहाकार गर्यो ।
उसलाई देखेदेखि यो पहिलोपटक थियो जब उसको अनुहारबाट अथाह पीडाले चिहाएको मात्र होइन, त्यो पीडा त्यहीँ जमेर बसिदिएको थियो । उसले सधैँजस्तै कोसिस पनि गरी सामान्य देखिने । आँसु लुकाउने प्रयास पनि गरी तर सफल हुन सकिन । उसले मेरो अनुहार मुसारी र कोमल स्वरमा भनी– ‘मसँग त्यस्तो केही छँदैछैन प्रत्यूष, जसलाई गुमाएर मलाई अपसोच होस् । त्यसैले तिमीले पनि गिल्टी फिल गरिरहनु पर्दैन…।’
त्यसपछि मलाई प्रतिक्रिया जनाउने मौकै नदिई ऊ कोठाबाट बाहिर निस्की ।
केही बेरमा ऊ खानाको ट्रे लिएर भित्र आई । मैले विरोध गर्दागर्दै जबरजस्ती खाना ख्वाई । मेरो आग्रहमा उसले पनि अलिकति खाएझैँ गरी । मलाई राम्ररी सुताएर ऊ ‘गाडीको बन्दोबस्त गरेर आउँछु है’ भन्दै बाहिर निस्की । मैले उसलाई रोक्ने कोसिस गरिरहेँ तर उसले सुन्दै सुनिनँ ।
म उसको प्रतीक्षामा निकै बेर छटपटाइरहेँ । मेरो सोच उसैकोवरिपरि घुमिरह्यो– किन मेरो मद्दत गरिरहेकी थिई ऊ ? कुन प्राप्तिका लागि ?
साह्रै अबेर गरेर ऊ फर्की । तबसम्म मेरो दिमागी हालत पनि मेरो शरीरकै जस्तो हुन लागिसकेको थियो– अपाहिज !
उसले सुदर्शनको गाडी तत्काल कसैले पनि फेला पार्न नसक्ने गरी तर लगाएको विश्वास दिलाई । मैले उसलाई नियालेर तलदेखि माथिसम्म हेरेँ । ऊ सामान्य थिई, शान्त थिई तर मेरो मन छटपटाइरह्यो । यो कसै गरे पनि शान्त हुँदैभएन । त्यो रात ऊ त्यहीँ मेरो छेउमै घुस्रिएर सुती । निकै बेर छटपटाएर थाकेपछि ऊ मेरो छातीमा टाँसिएर निदाई । ऊ निदाएको कत्ति बेरसम्म पनि म जागै थिएँ । एक त उसको शरीरको महकले लठ्याइरहेको थियो अर्को अनेकौँ प्रश्नहरूले मेरो चेतनालाई बारम्बार ढकढक्याइरहेको थियो– के हुन जाँदैथियो मेरो साथमा ? को मेरो ज्यान–प्राणको शत्रु भएर निस्कियो ?? किन ???
भोलिपल्ट उसले घचघच्याएर उठाएपछि मात्र म बिउँझिएँ ।
सँधैके भयो ?’ मैले उसको सातो उडेको अनुहारमा आँखा पर्नेबित्तिकै चिन्तित हुँदै सोधेँ । उसले हातमा भएको सहरको सबैभन्दा नाम चलेको पत्रिकाको फ्रन्ट पेज मेरो सामुन्ने राखी । त्यहाँ दनदन बलिरहेको मेरो घरको फोटो थियो । त्यसको एउटा कुना (इनसेट) मा मेरो फोटो पनि छापिएको थियो । समाचारको हेडलाइन थियो– ‘उद्योगपति प्रत्यूषमान प्रधानको घरमा आगलागी, प्रधानको रहस्यमय मृत्यु’ । तल अलि सानो अक्षरमा लेखिएको थियो ‘षडयन्त्र कि संयोग ?’ त्यसपछि आगलागीको विवरण एवम् घरको अवस्था र मेरो बारेमा लेखिएको थियो । अन्त्यमा प्रत्यूषमान प्रधानको रेखदेख गर्ने नर्स गायब भएको र उसको त्यसरी गायब हुनु सन्देहास्पद भएको उल्लेख गरिएको थियो ।
‘बुल सिट !’ अन्तिम लाइन पढेर म कराएँ ।
‘अब, अब के गर्ने प्रत्यूष ?’ बिनीले त्रसित स्वरमा सोधी ।
‘के गर्ने, कस्तो के गर्ने ? म साक्षात् तिम्रो अगाडि छु । तिमी किन त्यसै डराइरहेकी ?’
‘तर प्रत्यूष, त्यो को थियो त जो तिम्रो ठाउँमा जलेर मर्यो ?’ उसले सोधी । उसको त्यो प्रश्न मानौँ मेरो चेतनामा गएर कुनै पानीजाहज हिँउको पहाडमा ठोक्किएझैँ ठोक्कियो । म स्तब्ध, उसलाई हेरिरहेँ । ऊ नर्भस भावले नङ टोकिरही ।
‘को थियो ?’ निक्कै बेरपछि म आफैँसँग बडबडाएँ– ‘कोही त थियो, तर…तर कसरी ? घर त बन्द थियो, अनि साँचो हामीसँग थियो, अनि… अनि कसरी…?’
‘घरको साँचो अरू कोकोसँग छ ?’ उसले मेरो कुरा बीचैमा काट्दै सोधी ।
‘एक जोडी सुप्रियासँग छ, एक जोडी यो, एक एक जोडी फुपू र काकासँग छ अनि एक जोडी बुबाको कोठाको दराजमा कतै थियो । अघि–पछि धनबहादुर काका प्रायः गेटमै वा त्यहीँ सँगैको आफ्नो सानो कोठामै हुनेभएकाले र घरमा सधैँ फुपू या कोही न कोही भैरहने हुँदा कहिल्यै ताल्चा लगाउनुपर्ने आवश्यकता नै भएन । त्यसैले पनि कसैले साँचोको आवश्यकतै सम्झेन । हिजो नै यस्तो दुर्लभ दिन थियो, जब काका गेट र गेटको वरिपरि थिएनन् अनि फुपू घरमा हुनुहुन्थेन ।’ म एकै क्षण सोचमग्न भएँ अनि फेरि छटपटाउँदै भने– ‘बिनी, हिजोकै दिन मेरो घरमा आगो लाग्नु, यो संयोग मात्रै कसरी हुनसक्छ ? अहँ म मान्दैमान्दिनँ ।’
‘आगो लाग्नु संयोग हुनसक्छ प्रत्यूष तर तिम्रो बेडरुममा कोही जलेर मर्नु कसरी संयोग हुनसक्छ ?’ उसले विचारपूर्ण स्वरमा भनी ।
‘तर…तर फेरि बिनी, कोही सद्घे, सग्लो हात–खुट्टा चल्ने, जीवित मान्छे कसरी त्यसरी चुपचाप जलेर मर्न सक्छ ? सबैभन्दा पहिले त त्यो बन्द घरभित्र, मेरो कोठासम्म को पुग्न सक्यो ? पुग्यो त पुग्यो तर त्यत्रो भीषण आगो लाग्दा भागेर किन निस्कन सकेन ?’
‘थाहा छैन के षड्यन्त्र हो यो सब ?’ उसले विचलितभावले भनी– ‘त्यसमाथि मेरो नाम त झनै नराम्रो सङ्केत दिने गरी जोडिएको छ । अब तिमी त तिमी, म पनि बाहिर निस्कन डराउनुपर्ने भयो…।’
‘तर बिनी यसरी कति दिन चल्छ ? हामीलाई थाहा त हुनुपर्याे नि के भइरहेछ भनेर ?’ मैले भनेँ । ऊ केही बोलिन तर उसको अनुहारमा चिन्ताको भाव अझै बाक्लियो । चिन्तित ऊ, मेरो बेडको अपोजिट साइडको भित्तासँग जोडिएको अग्लो ¥याकमा भएको टीभी चलाउने प्रयत्नमा लागी । निकै बेरको प्रयत्नपछि पनि टीभी नचलेपछि ऊ केही नबोली बाहिर निस्किई । म आफ्नै सोचमा हराइरहेँ ।
केही बेरपछि बिनी ढोका खोलेर भित्र पसी । ऊसँगै एउटा १४ इन्चको टीभी स्क्रिन बोकेर त्यही राक्षसजस्तो मान्छे भित्र पस्यो । उसले पुरानो टीभी झिकेर आफूसँग ल्याएको टीभी ¥याकमा राख्यो । तारहरू जोडजाड गर्यो र बिनीको हातमा रिमोट थमाएर पुरानो टीभी बोकेर केही नबोली बाहिर निस्कियो । ‘कहाँ बाट ल्यायौ ?’ म नसोधी रहन सकिनँ ।
‘होटलकै हो ।’ उसले मेरोछेउमा बसेर रिमोट थिच्दै भनी । मसँग अरू पनि थुप्रै प्रश्नहरू थिए ऊलाई सोध्नका लागि तर टीभीको स्क्रिनमा अलापविलाप गर्दै रोइरहेकी सुप्रियालाई देखेर म चुप लागेँ । ऊ बलिन्द्रधारा आँसु झार्दै भनिरहेकी थिई– ‘म मर्नुपर्ने उसको ठाउँमा, किनभने म ऊबिना आफ्नो जीवनको कल्पनै गर्न सक्दिनँ । हे ईश्वर ! यो कुन जुनीको पापको सजाय दियौ तिमीले मलाई…!’
‘तपाईंलाई कसैमाथि शङ्का छ ? यदि यो स्वाभाविक आगलागी नभएर कुनै षड्यन्त्र हो भने तपाईं कसमाथि शङ्का गर्नुहुन्छ ?’ संवाददाताले सोध्यो । सुप्रिया एकै क्षण अकमकाई तर तुरुन्तै कङ्कला शब्द रुँदै भनी– ‘भगवानको स्वरूप थियो प्रत्यूष, कसैलाई नदुःखाउने, नबिझाउने । नोकर–चाकरलाई पनि इज्जत दिने । परिवारको सदस्य मान्ने । त्यस्तो मान्छेको शत्रु को हुनसक्छ ? कोमाथि शङ्का गरौँ म ? विधाता ! यो के दिन देखायौ तिमीले ? म अभागिनीलाई पनि हिजै मनकामना जानुपरेको । म मात्रै घरमा भएकी भए यो अनर्थ हुने थिएन । मेरो बाबा, मेरो प्रत्यूष ! अब म के गरौँ, कसरी बाँचूँ ?’
‘बन्द गर यो ड्रामा…!’ मैले विरक्त मान्दै भनेँ– ‘जीवित हुँदा आएर मार्ने धम्कीसमेत दिन पछि परिन, अहिले यो नौटङ्की किन गरिरहेकी हो कुन्नि ?’
‘नमरीकन स्वर्ग देखिन्न भनेको यही हो सायद । तिमी जीवित नै भएको भए तिमीलाई कसरी थाहा हुन्थ्यो कि तिम्री धर्मपत्नी तिमीलाई कति माया गर्छिन् भनेर ?’ उसले टीभीको स्वर सानो गर्दै भनी ।
‘तिमी व्यङ्ग्य गरिरहेकी छ्यौ, मजाक उडाइरहेकी छ्यौ मेरो ?’ मैले खिन्न हुँदै भनेँ ।
‘होइन होइन…।’ उसले तुरुन्तै भनी– ‘सरी, म त…।’
‘नो, नो यु डोन्ट ह्याभ टु,’ मैले उस्तै स्वरमा फेरि भनेँ– ‘एक किसिमले त राम्रै भयो । कमसेकम मेरा आफन्तहरूको आफ्नोपन र सक्कली रूप त देख्न पाइने भयो अब । तर मलाई थाहा थिएन, सुप्रिया यति कुशल अभिनेत्री पनि रहिछ भनेर ।’
‘स्वास्नीमान्छेहरू जन्मजात अभिनेत्री हुन्छन्, कोही अलि बेसी, कोही अलि कम भन्ने सुनेका छैनौ तिमीले ?’ उसले भनी । मैले खुट्याउँन सकिनँ, ऊ मजाक गर्दै थिई या गम्भीर थिई ।
‘आफ्नोबारेमा के भन्छ्यौ ? स्वास्नीमानिस त तिमी पनि हौ ?’ मैले बिस्तारै भनेँ । ऊ केही बोलिन ।
संवाददाता घरमा उपस्थित सबैसँग प्रश्न सोधिरहेथ्यो, उत्तरमा सबैले दुःखी भएर, रोएर, मसितै सती जानेजस्तै गरी विलौना गरेर हृदयविदारक हाउभाउ देखाइरहेथे । मैले छुट्ट्याउनै सकिनँ– को साँचो बोलिरहेको थियो, को झुट । को साँच्चै दुःखी थियो मेरो मृत्युमा अनि को दुःखी हुने नाटक गरिरहेको थियो ?
त्यो एक सनसनीपूर्ण टेलिभिजन कभरेज थियो, जसको शृङ्खलावद्ध प्रसारण जलेर ध्वस्त भएको मेरो घर र घरका मान्छेहरूको दुर्दशाबारे दोहोर्याउँदै लगातार चलिरह्यो । आखिर प्रत्यूषमान सानो नाम त थिएन यो सहर, यो देशमा !
साँझमा ऊ आफैँ गएर खाना लिएर आई । साँच्चै भन्ने हो भने हामीलाई न खाना रुच्थ्यो, न निद्रा नै लाग्थ्यो । म हरघडी छटपटाइरहन्थेँ । मसँगै बिनी पनि छटपटाइरहेकी हुन्थी । ऊ मुखले प्रायः केही भन्दिनथी तर उसको अनुहारमा चिन्ताका रेखाहरू प्रस्ट देखिन्थे । मलाई हौसला दिन खोज्थी तर यस्तो लाग्थ्यो, मानौँ यतिबेला मलाईभन्दा बढी हौसलाको आवश्यकता उसलाई छ । हामीसँग बोल्नका लागि थुप्रै विषय थिए तर सायद हामी दुवैजना डराइरहेथ्यौँ । त्यसैले दुवै मौन थियौँ । यद्यपि उसको साथमा हुनुले मलाई निक्कै आड–भरोसा दिएको थियो । हाम्रो सारा समय टीभी हेरेर, समाचार सुनेर र पढेरै बितिरह्यो ।
राती सुत्ने बेलामा मैले चिन्तित हुँदै भनेँ– ‘समय हाम्रो हातबाट यतिकै चिप्लिरा’छ, हाम्रो हकमा यो ठीक होइन ।’
बिनीले प्रश्नवाचक दृष्टिले मलाई हेरी ।
‘आज मिडियाले जेजे फुके पनि भोलि–पर्सि फोरेन्सिक रिपोर्ट, डीएनए रिपोर्ट आएपछि मेरो ठाउँमा अर्कै कोही मरेको साबित हुनेछ । त्योभन्दा पहिल्यै केही गर्नसके हुन्थ्यो तर…।’
‘हो र ?’ बिनीले झनै चिन्तित हुँदै मेरो कुरा काटी– ‘साँच्चैमा पनि त्यस्तो हुन्छ र ? अरू देशमा भए पनि हाम्रो देशमा पनि त्यस्तो हुन्छ र ? मैले त सिनेमामा, टीभी सिरियलहरूमा मात्रै देखाउने होला भन्ने सोचेकी !’
‘हुन्छ । ढिलो, चाँडो हुन्छ । म अरूजस्तै सर्वसाधारण भएको भए नहुन पनि सक्थ्यो तर प्रत्यूष प्रधानको मृत्युलाई झारा टारेको भरमा पाखा लगाउन मिल्नेवाला छैन । त्यसैले झन् चिन्तित छु म । मेरो ठाउँमा अरू नै कोही मरेको खवर बाहिर आएपछि म लुकिरहनु सम्भव हुँदैन र यही अवस्थामा बाहिर निस्कनु पनि सुरक्षित हुनेछैन मेरा लागि ।’
बिनीको अनुहार चिन्ताले आक्रान्त देखियो । बिचरी ! मेरो मन करूणाले भरियो । कस्तो दिनमा मसँग ठोक्किइछ ऊ ! मसँग नभेटिएकी भए यो सबै जन्जालबाट टाढा त हुन्थी ! तर फेरि मेरो के हुन्थ्यो ? ऊविनाको आफ्नो कल्पना गरेरै डराएँ म ।
भोलिपल्ट सबेरै उठेर तयार भई ऊ । मलाई पनि नुहाइधुवाइ गरेर ह्विलचेयरमा राखी । मेरा सबै प्रश्नको उत्तरमा प्रायः मौन नै रही । कुन्नि कुन सोचमा मग्न थिई ऊ ?
उसले मलाई जबरजस्ती ब्रेकफास्ट ख्वाइसकेकी मात्र थिई, कसैले कोठाको ढोका ढकढकायो । बिनीले उठेर ढोका खोली । ढोकामा लगभग २८–३० वर्षकी जस्ती देखिने एउटी महिला उभिएकी थिइन् ।
उनलाई देख्नेबित्तिकै बिनीले सोधी– ‘मेरो चीज ल्याउनुभयो दिदी ?’
‘दिदी’ भनेर सम्बोधन गरिएकी ती महिलाले भित्र पसेर ढोका बन्दगर्दै भनिन्– ‘ल्याउन त ल्याएँ बिनी, तर यो के गर्न …?’
‘तपाईं यता आउनूस् त !’ बिनीले उनको हात समातेर तान्दै भनी । मेरो ह्विलचेयर छेउमा आएर उसले ती स्वास्नीमान्छेतिर इसारा गर्दै भनी– ‘प्रत्यूष, उहाँ सुभद्रा दिदी । अनि दिदी, ऊ प्रत्यूष ।’ बिनीले मतिर औँल्याई तर ‘दिदी’ ले मतिर आँखा उठाएर पनि नहेरी बिनीसँगै भनिन्– ‘तर बिनी, तैँले यो पैसा…।’
‘दिदी !’ बिनीले उनलाई बोल्नै नदिईकन भनी– ‘म अहिले भन्छु क्या ! तपाईं मसँग आउनूस् त एकैछिन ।’ अनि मतिर फर्केर ‘एकैछिन है’ भन्दै ऊ सुभद्रा दिदीलाई लिएर छेउको सानो बाथरुमभित्र पसी । उसले आफ्नो पछाडि बाथरुमको ढोका तानी तर त्यो पूरै बन्द नभएकाले उनीहरूबीचको वार्तालाप धेरथोर मैले सुनिरहेँ ।
‘तपाईं पनि दिदी, यसो बोली त दिनुपर्छ नि !’ बिनी भन्दैथिई– ‘कुन्नि के पो सोच्यो होला बिचराले ।’
‘जेसुकै सोचोस् मलाई के मतलब ?’ दिदीले बेवास्तापूर्वक भनिन् अनि बिनीलाई हप्काइन्– ‘हैन, तँलाईचाहिँ के भएको नि ? नदुखेको टाउको दुखाउन किन यो घाँडो भिरेकी ? मति फिर्यो कि क्या हो तेरो ?’
‘त्यसो नभन्नूस् न दिदी ! बिचरामाथि दिन र दैव दुवै एकैचोटि लागेका छन् । यस्तो बेलामा…।’
‘तँमाथि, ममाथि दैव लाग्दा हाम्रा लागि टिठ्याउने को थियो यो सिङ्गो संसारमा ? भन्छन् लडेको, लाचारमाथि त कसैल टेक्दैन तर तँलाइ, मलाई त सारा संसारले टेक्ने मात्र होइन टुक्राटुक्रामा विभाजित गरेर निल्ने कसर छोडेनन् भने हामी किन विनाकाममा लडेकालाई हात दिएर उठाऊँ ? भोलि उठेर ठाडिएपछि, औकातमा आएपछि, यिनैले लडाउने हुन् हामीलाई ।’ उनको स्वर चर्कोभयो– ‘तँ जतिसुकै सहयोग या पुण्य गर तर तेरो निधारको यो वेश्याको छाप मेटिनेवाला छैन बिनी ! हाम्रो राम्रो हुनु, असल हुनुले एकपटक दुनियाँको नजरमा खराब सावित भएका तँ र म फेरि असल बन्न सक्दैसक्दैनौँ । चाहे काशी जाऊँ, चाहे मथुरा– हामी वेश्या थियौँ, छौँ र त्यही कहलाइन्छौँ ।’
‘दिदी, तपाईं किन त्यसो भन्नुहुन्छ ? तपाईं त बिहे गरेर, घरजम गरेर…।’
‘कस्तो बिहे, कस्तो घरजम ?’ उनको स्वरमा व्यङ्ग्य र पीडा एकैपटक झल्क्यो– ‘पहिले पैसा लिएर आफ्नो सर्तमा अनेक ग्राहकसँग सुत्थेँ । अहिले फोकटमै, आफ्नो इच्छाविरूद्घ एउटै ग्राहकसँग सुत्छु । अपमानित हुन्छु । उसको गाली मात्र होइन, उसको निर्घात पिटाइ पनि खान्छु ।’
‘तर…किन दिदी ?’ बिनीको नैराश्यपूर्ण स्वर सुनियो ।
‘किनभने मजस्ती वेश्यासँग बिहे गरेर उपकार जो गरेको छ उसले ममाथि । अब उसको त्यस उपकारको बदला सायद यसै गरी चुकाउनुपर्ने छ मैले सारा जीवन या एकदिन रक्सीको झोँकमा उसैले कतै लगेर फेरि बेचिदिनेछ मलाई ।’
‘दिदी…!’
‘त्यसैले भनेको मोरी, तँ पनि चेत । एकपटक यो रछ्यानमा खसेपछि तँ जतिसुकै नुहाएर, धोएर, अत्तर लगाएर हेर तर त्यसको दुर्गन्ध मेटिँदैन । न यो दुनियाँले मेटिन दिन्छ । हामी खराबमा गनिन्छौँ र त्यही रहन्छौँ । र सायद त्यो नै ठीक हुन्छ हामी जस्ताका लागि । नत्र मैलेजस्तै तैँले पनि घरजमको सपना देख्नथालिस् भने मेरोजस्तै दुर्गति हुन्छ तेरो पनि । हामी घरजम जोड्ने प्रयासमा न गृहिणी नै बन्न सक्छौँ न वेश्या नै रहन सक्छौँ ।’
‘तर दिदी मैले त कुनै घरजमको सपना देखेकी छैन । त्यो सपना त मैले १७ वर्षको उमेरमै यस्तरी चकनाचुर बनाएर फालेकी छु कि अब त्यो सपना फेरि मेरो आँखामा झुल्कन आउने छैन । म त केवल प्रत्यूषको मद्दत…।’
‘मद्दत ? कस्तो मद्दत ?’ उनको स्वर फेरि चर्को भयो– ‘हाम्रो के औकात कि हामी कसैलाई मद्दत गरौँ ?’
क्रमशः
विगत डेढ दशकदेखि उपन्यास र कथाका विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँच कृति प्रकाशित छन् । उनको आख्यान–शृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।
[email protected]