• २०८१ असोज २८ सोमबार

त्यो प्रेम– जो थिएन

कृष्ण धरावासी

कृष्ण धरावासी

पाँचौँ दिनको सेल्फ क्वारेन्टाइन सकिन लागेको थियो । त्यसो त मेरो प्रायः सधँैजसो नै क्वारेन्टाइन नै हुन्छ । जागिर छोडेपछिका यी दस वर्षहरू प्रायः कवारेन्टाइनसरह नै वितेका छन् । अमेरिकाको पाँच वर्षे बसाइमा पनि म सायदै हप्तामा केही दिन मात्र घरबाट बाहिर निस्केँ होला । सबै काममा गएपछि दिनभरि एउटै कुर्सीमा बसेर लेख्ने र पढ्नेमै व्यस्त हुन्थेँ तर, त्यो क्वारेन्टाइनमा कुनै प्रकारको अनिवार्यता वा त्रास जोडिएको थिएन ।

यसपालि जुन क्वारेन्टाइनमा थिएँ, योसँग छिनछिनको आतङ्क मिसिएको थियो । डिजिटल समाचार नहेरुँ, मन नमान्ने, हेरे फेरि मन आत्तिने । खासमा अमेरिका, अस्ट्रेलिया र अफ्रिकातिर छरिएका छोराछोरीहरूप्रतिको अभिभावकीय भावुकताले भित्रभित्रै सताइरहेको थियो । मञ्जुजी र म पनि सँगै बस्दैन थियौँ । उहाँ र मेरा कोठाहरू अलग भएका थिए ।

किताब पढ्न पनि खासै मन थिएन । लेख्ने पनि के ? विषय नै हराएजस्तो भएको थियो । भावुकता पनि सहज मनस्थितिसँग मात्र जोडिएको हुँदोरहेछ । प्राणकै त्रास उत्पन्न भएका बेला न भावुकता, न करुणा, न दया, सबै कुरा गौण हुँदा रहेछन् । साथीभाइ र आफन्तहरूका फोनहरू आउँथे डर मिसिएका र सुरक्षित रहनु भन्ने कामना हुन्थे । सबै कुरा औपचारिकजस्तो लाग्थ्यो र वास्तवमा थियो पनि औपचारिक नै । सबै विचार, दर्शन, धर्म, राजनीति, संस्कृति, आदर्श अनुपस्थित थिए र प्रकटमा एउटै कुरा मात्र थियो– कोभिड– १९ ।

फेसबुकमा लाइभ आउनेहरूका पनि अर्ति उपदेशहरू मात्र थिए, मानौँ उनीचाहिँ एकदम नै सुरक्षित छन् र उनीबाहेक अरू सबै खतराको घेरामा छन् । वाक्क लागेर फेसबुक पनि हेर्न छोडेको थिएँ । कसैले मेसेन्जरमा घण्टी बजाइहाल्यो भने चाहिँ सकसक लागेर हात पुगिहाल्थ्यो आइप्याडको भित्तोमा औँलो तेस्र्याउन ।

एक घन्टाजति अघि भारतको हरिद्वारमा विदा मनाइरहेका मित्र गोविन्द गिरी प्रेरणासँग केहीबेर कुरा गरेर बन्द गरी थन्क्याइदिएको थिएँ आइप्याड । अगाडि लडिरहेको थियो नोवा पौल हरारीको ‘अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड ।’ दीपलेशले पहिल्यै पढिवरी उसका किताबका बीचमा थन्क्याएको रहेछ । धेरै ढिलो यस पुस्तकको चर्चा सुनेपछि कसोकसो हेर्दा आफ्नै घरको ¥याकमा भेटेपछि निकालेर पढ्न थालेको थिएँ । निकै मन पर्दै जाँदै थियो । उनले मानवसभ्यता जङ्गली अवस्थादेखि कसरी क्रमशः अघि बढ्दै आएको हो भन्दै थिए । यसै बीचमा कोरोला आतङ्क आएपछि उनको यस इतिहासले पनि तान्न छोड्यो । कतिन्जेल बाँचिएला भन्नेमै शङ्का उत्पन्न भएपछि तिनको मानवइतिहासको पनि के काम भो र ! म फिल्मको कीरो ! मलाई कुनै फिल्म पनि हेरूँजस्तो लागेकै थिएन ।

यस्तै बेलामा फेरि एकपल्ट त्यत्तिकै आइप्याडको स्क्रिनमा औँला चले । फेसबुकको फ्रेन्ड लिस्टमा सयौँ अनुरोधहरू आएर त्यत्तिकै पर्खिरहेका थिए । तिनैको सिरानमा भर्खरै एउटा नयाँ अनुरोध आएर मेरो अनुमतिको प्रतीक्षा गरिरहेको रहेछ । यसो हेरेँ । नाम देख्नासाथ झसङ्ग भएँ । धेरैपल्ट आफैँले पनि सम्पर्क गर्नखोजेको नाम थियो त्यो । हतारहतार चोर औँलोलाई सीधा बनाएर कन्र्फममा थिचिदिएँ ।

कन्फर्म गरेको केही छिनमै मेसेन्जरमा घण्टी बज्यो । सानो मोबाइलमा भन्दा आइफोनमा उतापट्टिको अनुहार निकै ठूलो देखिने हुँदा यसमा कुरा गर्न मलाई मन पर्छ । फेरि अघि हतारिएर कन्र्फम गरेझैँ कल एक्सेप्ट गरेँ ।

खोल्नेबित्तिकै जुन अनुहार देखेँ त्यसले मेरो मन र शरीर दुवैलाई एकैचोटि हल्लायो । मैले फेरि यसरी त्यो अनुहारलाई देख्न पाऊँला भन्ने आशा नै मारिसकेको थिएँ । एकपल्ट मात्रै करिब डेढ घन्टाको छोटो रेलयात्रामा भेटिएकी ती पात्रसँग फोन र मेसेन्जरमा कुरा हुननसके पनि इमेलबाट केही वर्षअघि निकै लामालामा संवाद भएका थिए । जसलाई मैले मेरो ग्रेटफल्स उपन्यासमा उल्लेख पनि गरिसकेको छु ।

झन्डै पाँच वर्षपछि लाउरा मेरो मेसेन्जरमा देखिएकी थिई । उसलाई देखेर म जसरी आनन्दित र उत्तेजित भएँ त्यसै गरी एकाएक सेलाएँ पनि । किनकि उसको अनुहार यत्तिका वर्षपछि देखादेख हुँदा पनि खुसी थिएन र करिब करिब रुन लागेकीजस्तो थियो ।

कुन विषयबाट बोल्न थालूँजस्तो अन्यौलमा परेँ केहीबेर । उसले पनि नबोली एकोहोरो हेरिरहेर आँखाबाट पर्लकपर्लक आँसुका ढिक्काहरू खसाल्न थाली । त्यो देख्दा मलाई झन् असजिलो भयो । केही बेरपछि मैले नै त्यो मौनतालाई तोड्दै भनेँ– ‘के छ खबर ? कता छौ ?’ मानौँ उसले झारेका आँसुलाई मैले देख्दै देखिनँ ।

एकछिन उसका ओठ थरथराए । बिस्तारै बोली– ‘तिमी सञ्चै छौ ? कहाँ छौ ?’

मैले भनेँ– ‘म सन्चै छु । अहिले नेपालमै छु ।’

भनी– ‘मलाई पनि लागेको थियो तिमी नेपालमै हुनुपर्छ भन्ने । किनकि म तिम्रो वालमा नेपालकै फोटाहरू देखिरहेकी हुन्थेँ । देवनागरी लिपिमा लेखिए पनि संस्कृत भाषामा भए बुझ्थेँ पनि, नेपाली पढ्न सके पनि बुझ्दिनँ । तिमी आफ्नो देशमा खुब रमाइरहेको देख्छु । यस्तै खुसी रहनु डियर !’

एकोहोरो लामै बोली । मैले भनेँ– ‘हो हामीले अमेरिका छोडेको दुई वर्ष भयो । ग्रिन कार्ड पनि फिर्ता गरिदियौँ । पाँच वर्षको त्यहाँको व्यस्त जीवनलाई नजिकबाट अनुभव गरेर फर्केका छौँ । यसबीचमा मैले तिमीसँग सम्पर्क गर्न धेरै कोसिस गरेँ तर तिमी इमेलमा पनि आइनौ । फेसबुकमा पनि धेरैवटा लाउराहरू थिए, तिमीलाई छुट्याउनै सकिनँ । त्यो दिन छुट्टिने बेलामा मैले तिम्रो एउटा फोटो खिच्न नबिर्सेको भए पहिले नै फेसबुकमा साथी भइसक्ने थिएँ होला । साँच्चै भनूँ भने मैले तिम्रो अनुहार नै राम्रोसँग ठम्याउन सकिनँ ।’

हाँसेजस्तो गरेर भनी– ‘अनि अहिलेचाहिँ कसरी चिन्यौ त !’

मैले पनि हाँसेकै पारामा भनेँ– ‘खै !’

एकछिन फेरि संवाद शून्य भयौँ । उसैले भनी– ‘मैले पनि निकैपल्ट तिम्रो फेसबुकमा रिक्वेस्ट पठाउने कोसिस गरेँ तर तिमी निकै प्रख्यात मानिस रहेछौ । पाँच हजार जना तिम्रा साथी पुगिसकेछन् । मेरा लागि ढोका बन्द थियो । कहिलेकहीँ झोँक पनि चल्थ्यो– के ती सबै मानिसहरू सधैँ चाहिने नै होलान् त ? त्यति धेरै मानिस आफ्नो खातामा किन पाल्नु ? त्यस्तो भीडमा कसरी बस्न सकेको होला ? नयाँ साथीहरूलाई पनि त ठाउँ दिनुपर्ने हो ।’

उसले ठीकै भनेकी थिई । मैले भनेँ– ‘बेलाबेला छाँट्ने त गर्थेँ तर फेरि तुरुन्त भरिइहाल्थे ।’

भनी– ‘तर आज कसरी साइत परेछ कुन्नि । कसोकसो गरेको तिमीसँग जोडिइहाल्यो । आजको दिन मेरा लागि धेरै नै महŒवपूर्ण छ । तर यो तिमीसँगको मेरो निकै छोटो भेट पनि हुनसक्छ ।’ एकाएक उसले फेरि आफूलाई भावुकतामा प्रवेश गराई ।

उसको पछिल्लो कुराले मनमा अघि उदाएको खुसीमा तुवाँलोजस्तो लाग्यो । मैले सोधेँ– ‘किन त्यसो भनेकी ? पहिलोपल्ट त हामी बल्ल फेसबुकमा साथी हुनपाएका छौँ । मैले तिमीबाट अझै कति सहयोग लिनु छ । तिमीले इमेलमा पठाएका तिम्रा आमाबाबुका कथाहरूलाई मैले उपन्यास बनाइसकेको छु । चाँडै नै त्यसको अङ्ग्रेजीमा अनुवाद पनि सकिनलागेको छ । मैले त्यो किताब तिमीलाई नै पढाउनकै लागि मात्र भए पनि अनुवाद गराउँदै छु ।’

मेरो कुराले ऊ एकपल्ट निकै खुसी भई । हाँस्न खोजेको अनुहार बनाउँदै भनी– ‘वाउ ! के म तिम्रो कथाकी पात्र पनि हुन पाएँ त ?’

‘हो तिमी मेरो किताबकी महŒवपूर्ण पात्र भएकी छौ ।’ फेरि आँखाभरि आँसु पारेर भनी– ‘तर मेरो दुर्भाग्य, मैले तिम्रो किताब पढ्न नपाउने भएँ । जे होस्, त्यस भेटमा तिमीले भनेको ‘राधा’ किताब अमेजनबाट किनेर पढेँ र मेरा निकै केटी साथीहरूलाई पनि पढ्न सिफरिस गरेँ । मलाई धेरै मन प¥यो तिम्रो त्यो किताब ।’

ए ! पढ्न त पढिछे भनेर मनमा खुसी लाग्यो ।

उसले भनी– ‘म तिमीसँग धेरै बेर कुरा गर्न सक्दिनँ । तैपनि केही कुरा भन्नै मन छ । त्यतिबेला मैले भनेकी थिएँ म नर्स हुँ र हवाईको कोहाला अस्पतालमा काम गर्छु भनेर । त्यहाँ लामै समय काम गर्न भनी गएकी थिएँ तर एक वर्षपछि नै म फेरि न्युयोर्क फर्कें । त्यो ठाउँ मैले सोचेजस्तो लागेन । कहाँकहाँ अनकन्टार टापुमा पुगेजस्तो लाग्यो । सबै आफन्त, साथीहरू यतै छुटेजस्तो लाग्यो ।

‘न्युयोर्कको ब्लेभ्यु अस्पतालमा काम पाएपछि म आइहालेँ । यहाँ आएपछि ढुक्कैले काम गरिरहेकी छु । तिमी त्यहीँ नजिकै भर्जिनियामै छौ भन्ने थाहा थियो तर सम्पर्कमाध्यम नभएर मैले चाहेर पनि भेट्न गर्न सकिनँ ।

‘न्युयोर्क आएपछि म फेरि अर्को एउटा केटोसँग प्रेममा परेँ । ऊ पनि पहिलेकै जस्तो असल थियो । तर एक दिन त्यत्तिकै छोडेर हिँड्यो । केटाहरूको मन किन यस्तो हुन्छ कृष्ण ! तिमी पनि केटै हौ । किन कति सजिलै सम्बन्धहरू भत्काउन सक्छौ ?’

उसको त्यो प्रश्नको उत्तर मसँग पनि थिएन । सबैको सामूहिक जवाफ कसरी दिन सकिन्थ्यो र !

‘कृष्ण म आज धेरै भावुक भएकी छु । तिमीलाई भेटेर मात्र हैन, तिमीसँगको यो अन्तिम भेट हो भनेर पनि ।’

फेरि पनि उसले त्यही कुरा दोहो¥याइरहेकी थिई, अन्तिम भेट भनेर । मैले खेर्दै सोधेँ– ‘तिमी किन अघिदेखि नै यो भेटलाई घरिघरि अन्तिम भनिरहेकी छौ ? के भएको छ तिमीलाई ? तिमी सञ्चै त छ्यौ ?’

उसको अनुहार एकछिन कच्याककुचुक भयो । आँखा पनि अन्तैतिर हेरी । नाक पुछी, आँखा पुछी । अनि बिस्तारै बोली– ‘हो कृष्ण ! मलाई सञ्च छैन र मलाई थाहा छैन म यस रोगलाई जित्न पनि सक्छु कि सक्दिनँ ।’ फेरि एकपल्ट अर्कोतिर फर्की ।

भनी– ‘यस बेलामा साथी र आफन्तको ज्यादै खाँचो हुँदोरहेछ । मलाई आजसम्म जीवनमा यस्तो एक्लोपनको अनुभव कहिल्यै भएको थिएन । म तन्दुरुस्त हुँदा लाग्थ्यो, जीवन यस्तै विन्दास हुन्छ । कमाइयो पनि । खर्च पनि खुब गरेँ । मैले कसैसँग मेरो कमाइ सेयर गर्नु पनि थिएन । मैले बैङ्कमा पनि राम्रो रकम जम्मा गरेकी छु । पैसाको त मलाई कुनै खाँचो छैन तर अब त्यो पनि के काम नै लाग्ने भो र !

‘वास्तवमा यो एक्लो बेलामा मलाई निकैपल्ट तिम्रो याद आइरह्यो । हुन त तिमी मेरो कोही पनि होइनौ । तर पनि त्यो एउटै भेटमा तिमीसँगको छोटो सङ्गतले तिमी असल मित्र हुन सक्छौ जस्तो लागेको थियो । मलाई अहिले पनि राम्रो सम्झना छ, त्यो दिन रिनेक्लिफ स्टेसनमा रेल पर्खिरहँदा त्यत्तिकै तिमीसँग पटकपटक आँखा जुधिरहेका थिए । किन हो तिम्रो अनुहारलाई मैले फरक किसिमले अनुभव गरेकी थिएँ । त्यही भएर रेलभित्र पसेपछि पनि तिम्रो अनुमति लिएरै म तिम्रो छेउमा बसेकी थिएँ ।

‘जीवनमा पहिलोपल्ट मैले कुनै लेखकलाई आफ्नो छेउमा पाएर अत्यन्त हर्षित भएकी थिएँ । मैले कुनै लेखकका औँला त्यही दिन छोएकी पनि थिएँ । पछि तिमीले इमेलबाट पठाएको तिम्रो ‘झोला’ कथा पढेर म निकै भावुक बनेर तिमीलाई इमेल पनि लेखेकी थिएँ । त्यस कथाको फिल्म पनि छ भनेका थियौ, पछि मैले युट्युबमा त्यो पनि हेरेँ । डेढ घन्टाको त्यो रेलयात्रा मेरो जीवनका कैयौँ यात्राहरूमध्ये सबैभन्दा स्मरणीय छ, त्यसको कारण तिमी लेखकसँग भेट्न पाउनु पनि थियो ।

‘रेलबाट उत्रेपछि तिमीले बाहिरसम्म मलाई बोलाएर ट्याक्सी खोज्न सहयोग माग्दा म सानो काममा भए पनि तिम्रो सहयोग गर्न पाउँदा हर्षित भएकी थिएँ । विदा हुने बेलामा तिमीले मलाई आफ्नो गोजीबाट निकालेर तिमीले नै चलाउँदै गरेको कलम दिएका थियो र भनेका थियौ–‘तिमीले यो कलमले साहित्य लेख्नू ।’ हेर्छौ त्यो कलम अहिले पनि मेरो टेबलमै छ ।’

उसले कलम टिपेर देखाउँदै भनी– ‘तर मैले यस कलमले आजसम्म एक शब्द पनि लेख्न सकेकी छैन । त्यो दिन तिमीले भनेको सुन्दा त सजिलै रै’ छ लेख्नुजस्तो लागेको थियो तर त्यो त्यति सजिलो कुरो रहेनछ ।’

मैले बिर्सिसकेका कुराहरू पनि उसलाई अझै थाहा रहेछन् ।¬¬¬¬

भावुक भएर बहकिइरहेकी थिई– ‘मेरा दुईदुई जना ब्वाइफ्रेन्डहरू भए तर तिम्रै सम्झनाचाहिँ मलाई किन धेरै आएको होला !’

ऊ नै एकोहोरो बोलिरहेकी थिई– ‘म न्युयोर्कमा आउनु गल्ती नै गरेकी हुँ त भन्दिनँ तर यो अब मेरो अभाग्य भएको छ । हुन त यो मेरो मात्र दुःख होइन । अहिले विश्व नै यसको चपेटामा परेको छ तर मलाई लाग्छ ममाथि अन्याय भएको छ ।’

‘के भएको छ र तिमीलाई ?’

‘तिमी नेपाल गएर राम्रै गर्यौ । अमेरिका ठूलो देश, विकसित देश भनेर के भन्नु ? आज यही देश संसारको सबैभन्दा कमजोर र असक्षम हुनपुगेको छ । कोरोना भाइरसको चपेटामा परेर आज अमेरिका संसारमा सबैभन्दा ज्यादा छटपटाइरहेको छ । त्यसमा पनि बिरामीभन्दा बढी डाक्टर र नर्सहरूको हैरानी छ । सर्वसाधारण मानिसहरू आफ्नो सुरक्षा गर्नका लागि सेल्फ कोरेन्टाइनमा बस्न स्वतन्त्र छन् तर हामी स्वास्थ्यकर्मीहरूलाई त्यो छुट छैन ।

‘रातदिन अरूको स्वास्थ्यका लागि खट्दाखट्दै आफूलाई नै कतिबेला त्यसले समातेछ थाहै भएन कृष्ण । सरकारले पनि हामी स्वास्थ्यकर्मीहरूलाई पुग्दो सुरक्षा सामग्रीहरू दिन सकेन । सामान्य माक्सको भरमा काम गर्नु पर्यो । कसले पत्याउला र अमेरिकाजस्तो देशका सवास्थ्यकर्मीहरूले स्वास्थ्य सुरक्षा सामग्री पाएनन् होला भनेर । तर सत्य यही हो । यी हेर अहिले म मर्नका लागि मेरो कोठामा छोडिएकी छु ।

‘तिमीलाई सुन्दा पत्यार नलाग्ला तर न्ययोर्कका अस्पतालहरूमा अकल्पनीय ढङ्गले बिरामीको चाप बढेको छ । डाक्टरहरूको सङ्ख्या कम भइरहेको छ । कैयौँ सूचना बाहिर आउन पाएका छैनन् । बिरामी मानिसहरू बाहिर सूचना आएभन्दा बढी मरिरहेका छन् । मरेका लासहरूलाई रेफ्रिजेरेटर ट्रकहरूमा राखिँदैछ । तिनलाई कहाँ लगेर फेनरल गर्ने हो भन्ने अझै टुङ्गो भएको छैन । बिरामीका लागि भेन्टिलेटर यति कम छन्, कसलाई दिनु, कसलाई नदिनु । हाम्रो अस्पतालमा हरेक दिन सयौँ बिरामी आउँछन्, सिकिस्त हुनेहरूका लागि पुग्दो भेन्टिलेटर नै छैन । यत्रो अस्पतालमा पाँचवटा भन्टिलेटरले के काम गर्नु ! सरकारका मान्छेहरू भन्छन्, सबै चाँडै ठीक हुन्छ तर कहिले हुन्छ, कसैलाई थाहा छैन ।

‘मजस्ता कैयौँ डाक्टर र नर्सहरू पनि यही चपेटामा आएका छन् । सरकार अझै पनि गम्भीर छैन । तिमीले सुन्यौ होला भर्खरै तिमीहरूकै एकजना नेपाली मानिस हामै्र अस्पतालमा मरे । तिनको लास पनि त्यही ट्रकमा राखिएको छ । त्यो लास तिनका परिवारले छुन त के हेर्न पनि पाउँदैनन् । मर्दा पनि यति अज्ञात भएर मर्नुपर्ने यो के रोग आयो कृष्ण !

‘मैले जब कसशीको यात्रा गरेँ र त्यहाँ संस्कृत भाषा र धार्मिक ग्रन्थहरूको अध्ययन गरेँ, कुनै बेला भारतमै गएर बस्नेछु भन्ने ठानेँ । अझ पछि जब नेपाल पुगेँ र नेपालका गाउँगाउँमा महिलाहरूले अस्पतालको अभावमा सुत्केरी व्यथामै मर्नुपरेको देखेँ त्यसपछि मन परिवर्तन भएको थियो । पछि कुनै बेला अलिक राम्रो पैसा कमाउन सकें भने नेपालको दुर्गम ठाउँमा एउटा अस्पताल खोलेर ती महिलाहरूको सेवा गरेर बस्नेछु भन्ने निश्चय गरेँ । मैले पैसा जम्मा पनि गर्न थालेकी थिएँ तर अब मेरो त्यो सपना पूरा होला जस्तो छैन । वास्तवमा आज मैलै तिमीलाई खोजेको कारण पनि यही हो ।

‘म मेरो रोगसँग अन्तिमसम्म नै लड्नेछु । हुन त अस्पतालमा पनि ठाउँ नपुगेर मलाई घरमै बस्नु भनेका छन् । सारै गारो परे खबर गर्नु भनेका छन् तर धेरै नै सारो भयो भने म कसरी खबर गर्नसक्छु र ! यो घरमा म एक्लै छु । मलाई तातो पानी दिने मानिस पनि छैनन् । कोही मेरो नजिकमा आउन पनि चाहँदैनन् । म आफैँ पनि चाहन्न, कसैले पनि मेरो निमित्त, मेरै रोग सारेर मरोस् ।

‘हुन त एक दिन जसले पनि मर्ने नै हो तर आजै मरिहाल्नु पर्ला भन्ने त लागेको थिएन कृष्ण । मर्न त थाहै नपाई, सोच्दै नसोचेको बेलामा पनि पो पर्नेरहेछ त । म नेपाल आउन पाएकी भए पक्कै पनि तिम्रो सहयोग पाउने थिएँ होला तर अब त्यो सपना धेरै टाढा पुगिसकेकी छ । म केही गरी बाँचिहाले पनि मेरो आत्मबल फर्किन धेरै समय लाग्ने छ ।

‘तिमीलाई एउटै कुरा भन्छु– मैले तिम्रो कलम जस्ताको तस्तै सुरक्षित राखेकी छु र त्यो कलम म तिमीलाई नै फर्काउन चाहन्छु, जसले कुनै बेला मेरो कथा लेखोस् । यस्तो एउटा प्रेमको कथा बनोस्, जो वास्तवमा थिएन ।’

बोल्दाबोल्दै त्यसलाई सास फेर्न गारो भएजस्तो देखियो । मैले भनेँ– ‘लाउरा ! तिमी त्यसरी नआत्यौ । तिमीलाई केही हुन्न । तिमीलाई सञ्च भएकी परिपक्व केटीका रूपमा म फेरि भेट्ने छु ।’

अन्त्यमा भनी– ‘तिम्रो शुभेच्छालाई म स्वागत गर्छु । केही गरी म मरिगए पनि अब तिमीले फेरि थाहा पाउने छैनौ किनकि यो महामारीमा को, कहाँ, कहिले मर्यो कसैलाई थाहा हुँदैन । त्यसमा पनि मेरो लागि रुने र खबर गर्ने पनि कोही मानिस छैनन् ।’

वास्तवमै उसले मलाई भावुक बनाइसकेकी थिई । उसको अनुहार मेसेन्जरमा पहिलोपल्ट देख्दाको खुसी अघि नै कपूरजस्तो बिलाइसकेको थियो ।

मैले केही भन्नुभन्दा पहिल्यै उसले फोन काटी र तुरुन्तै मेसेन्जरमा लेखी– ‘प्रिय कृष्ण ! गुड बाई ।’

म तिनै अक्षरहरूमा टोलाई रहेँ ।