• २०७९ माघ २४ मङ्गलबार

गंगा खड्काको कवितासंग्रह ‘यादका बाछिटा’ विमोचन

काठमाडौँ

कवि गंगा खड्का रचित ‘यादका बाछिटा’ एक समारोहका बीच वरिष्ठ कवि तुलसी दिवस, कवि तथा गीतकार डाक्टर गीता त्रिपाठी, लेखनकुन्जका अध्यक्ष कमल ढकाल, कवि गंगा खड्का उहाँका पिता शेरबहादुर खड्का तथा कवि हेम प्रभास तथा मञ्चमा र दर्शकदीर्घाका सबैले हातमा कृति लिएर संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै कवि तुलसी दिवसले कविताले जीवनको भाषा बोल्ने र प्रकृतिको भाषा बोल्ने, आफ्नो भोगाई बोल्ने र आफ्नो अनुहार देखाउने बताउँदै ‘यादका बाछिटा’ले मध्यमवर्गीय काठमाडौँको परिवारको व्यथा र कथा बोलेको बताउनु भयो । कार्यक्रममा कवि तथा गीतकार गीता त्रिपाठीले गंगा खड्काको कविता निकै सरल भएको जसले हृदय हल्लाउने बताउनु भयो । कवि खड्काको शब्द खेलाउने तरिका उत्कृष्ट भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा कवि हेम प्रभासले कविता सुक्तिमय भएको बताउँदै कविताले जीवनमा उत्साहका साथसाथै नयाँ नयाँ आशा प्रदानगर्ने र ‘यादका बाछिटा’ले मुटु र माटोको मर्मको सुवास दिएको बताउनु भयो । लेखनकुन्जका अध्यक्ष कमल ढकालले आफूले सञ्चालन गरेको सिर्जनात्मक लेखन प्रशिक्षणको छैटौँ ब्याचबाट प्रशिक्षित गंगा खड्काले ल्याएको कृतिले नेपाली साहित्य आकाशमा एक तारा पाएको बताउनु भयो ।

कार्यक्रममा कवि गंगा खड्काले आफूले आफ्नो बुबाको हातबाट कृति ल्याउन पाउँदा आफू हर्षित भएको बताउँदै आफूले साहित्य फाँटमा एक विरुवा ल्याएको बताउनु भयो । विगतमा बगेर लेखिएका भावना, वर्तमानमा पाइलै पिच्छे छताछुल्ल छरिएका खुशी, पीडालाई सुम्सुम्याउँदै लेखेका कविता, नीलो आकाश, झरना, पहाड, खोला र आफ्ना प्रियजनहरुको याद आफूले समेटेको बताउनु भयो ।

कवि सिर्जना शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उहाँले ‘यादका बाछिटा’ भित्रको कविता वाचन गर्नुभएको थियो । सङ्ग्रहमा ६४ वटा कविता छन् । प्रकाशन सिमल बुक्सले गरेको यो कविता सङ्ग्रहको मूल्य २५०/- रुपैयाँ रहेको छ ।