• २०८१ श्रावाण ११ शुक्रबार

झरेको पातमा हराएको जिन्दगी

मधुवन पौडेल

मधुवन पौडेल

तीस वर्षपछि आज अकस्मात् छोराको अपार्टमेन्टनजिकको सार्वजनिक पार्कमा अश्विनसँग भेट भयो । अपार्टमेन्टमा सुत्दासुत्दा दिक्क लागेर त्यो दिन मन नलागीनलागी म समय कटाउन बाहिर निस्केको थिएँ । यतिका वर्षपछि यसरी त्यहाँ ऊसँग भेट होला भन्ने मैले सोचेको पनि थिइनँ ।

अश्विनले लामो समयदेखि सम्पर्क नगरेकोले ऊ क्यानाडामा छ भन्ने हेक्का पनि राखिएनछ, यद्यपि हामी दुवैलाई बितेका दिनहरूमा अश्विनको कमी खट्किरहने गथ्र्यो र विमलाले पनि उसको कुरा बेलाबेलामा गरिरहन्थी । तीस वर्ष भेट नहुनु, अनि केही वर्षयता त हामी कसैले पनि उसको खबर पाएका थिएनौँ ! ऊ त लापर्वाह थियो नै, तर हामीले आफ्नो तर्फबाट पनि समय बित्दै गएपछि अश्विनलाई बिर्सेका थियौँ भने हुन्छ ! छोरो क्यानडा जाने बेला प्रसङ्ग उठेको त हो, तर सम्पर्क नै हुनेनगरेकाले त्यसै सेलायो । पुराना कुरा सम्झँदा ऊप्रति त्यस्तो वितृष्णा त थिएन, तर मलाई ऊसँग रीस भने निकै नै उठेको थियो ।

क्यानडा गएको १०–१२ वर्षसम्म त मेरो अश्विनसँग सम्पर्क हुने गथ्र्यो तर त्यसपछि हामी दुईबीच कुनै पत्राचार वा टेलिफोन–सम्पर्क केही भएको थिएन । मेरो कोलकाता प्रवासमा यदाकदा ऊ मलाई फोन गथ्र्यो, अनि आफ्नो व्यस्तताको कुरा उठाउँथ्यो, टोरोन्टोजस्तो ठूलो सहरको कोलाहलबीच भएर पनि एक्लिएको गुनासो गथ्र्यो र विदेशमा बस्दा ऋणमा डुबेर त्रासदपूर्ण जीवन बाँच्नुपरेको छ भनी गुनासो र घुर्की पनि लगाउँथ्यो । कहिले आफ्नो सफलता र वैभवका कुरा गथ्र्यो र यदाकदा झट्केला छोराछोरीका कथा पनि सुनाउने गथ्र्यो । यसरी अश्विन हाम्रो पूरा परिवारकै लागि दुखेसो पोख्ने र समष्टिरूपमा ऊसँग सम्बन्धित समाचारको एउटा स्रोत मात्र हुनपुगेको थियो केही वर्षसम्म ! अनि एक्कासि ऊ सम्पर्कविहीन भयो ।

मलाई आफू र अश्विनको बाल्यकालको सम्झना हुने गथ्र्यो । केटाकेटीमै अश्विन र म दुवै छिमेकी गाउँबाट काठमाडौँ पसेका हौँ र आफ्नो उमेरले झन्डै धान्न नसक्ने गरी माथिल्लै कक्षामा थियौँ । ऊ मभन्दा सम्भ्रान्त परिवारको भएका कारणले काठमाडौँमा राम्रै स्कूलमा भर्ना भएको थियो र डेरामा पनि काम गर्ने एक जना गाउँबाटै लिएरै आएको, तर मचाहिँ लामो समय कहिले कोसँग एउटै डेरामा खप्टिने, कहिले नातेदारका घरमा गाँसिने र धेरैजसो एक्लै बस्ने गर्थें । तैपनि स्कूल बेग्लै भएका हामीबीच गाढा मित्रता थियो र हामी निरन्तर एक–अर्काको सम्पर्कमा हुनेगर्थौं । तर २ वर्ष बितेपछि उसको बाबु बितेकाले आफन्तहरूले अश्विनलाई डेराबाट होस्टेल भर्ना गरिदिए र हाम्रो भेटघाटको सिलसिला पनि लामो विदा वा मीनपचासको समयमा गाउँ फर्कंदा मात्र हुने अवस्थामा पुग्यो । होस्टेल बस्न थालेपछि अश्विनको पढाइ राम्रो भएछ सायद ! उसको होस्टेलको रुममेट पनि सधैँ क्लासमा पहिलो हुने केटो रहेछ र ऊसँग प्रतिस्पर्धा गर्नुपर्दा अश्विन पनि बढी मेहनत गर्नथालेको थियो, मेधावी त अश्विन पहिलेदेखि थियो नै !

मेरो अवस्था बेग्लै थियो । घरी घर, घरी डेरा र स्कूल चाहार्नुपर्ने बाध्यताले गर्दा म विद्यार्थीभन्दा बेग्लै यायावरजस्तो हुँदैगएँ, बेलगाम घोडाजस्तै थिएँ म भने पनि हुन्छ । कुनै लगाम थिएन, न त कहिल्यै मैले पढ्नुपर्छ भन्ने आत्मबोध नै भयो मलाई ! स्कूले साथीहरू फुटबल खेलेका ठाउँमा घन्टौँ कुर्ने, साइकल पसलमा गएर एकछिन सित्तैमा साइकल चढ्न पाइन्छ भनेर ग्राहकको साइकलमा हावा हालिदिने, खल्तीमा पैसा परेको दिन दोहो¥याएरै भए पनि सिनेमा हलभित्र पस्ने, अनि राती ढिलो फर्केर हतारहतार कहिले गोलचुलो र कहिले स्टोभमा छिटोछिटो भात पकाएर खाने र भोलिपल्ट दगुर्दै स्कूल, स्कूलबाट फर्केपछि डेरामा झोला फ्याँक्नासाथ हिँड्ने, त्यस्तैत्यस्तै दिनचर्या हुन्थ्यो मेरो । प्रत्येक शुक्रबार स्कूल सक्नासाथ गाउँको घर जानै पथ्र्यो, अर्को कुनै काम कुरा नभए पनि खर्च थाप्न, अनि आइतबार बिहानै कुदेर फेरि स्कूल धाउने त छँदैथियो ! तिनताका पाटन ढोकाबाट सहिदगेटसम्म पहेँला सार्वजनिक बस चल्थे । धेरैजसो कन्डक्टरहरू मलाई सानो देखेर ‘बाबु जाऊ’ भनेर त्यसै छाडिदिन्थे, कोहीचाहिँ ‘सित्तैँ चढ्न पाइन्छ ? पैसा ले !’ भन्दै लिएरै छाड्थे । त्यो बेला पाटन ढोकाबाट सहिदगेटसम्म चल्ने पहेँला रङ र आकारका बस अमेरिका र क्यानडामा अहिले पनि सबै स्कूल बसको रूपमा चलिरहेका देखिन्छन् ।

मेरो बाल्यकाल खास गरी स्कुले जीवन सधैँै मेरो पिताजीले तयार गरिदिनुभएको मोनोटोनस् रुटिनमा चलेको हुन्थ्यो, जसलाई मैले छलछाम गरेर अर्कै बनाइरहेको हुन्थेँ । अर्कोतिर, अश्विन मजस्तै परिवारबाट बेलगाम भए पनि होस्टेलको नियमले बाँधिएकोले एकाग्र र एकबद्ध भएर पढाइ गरिरहेको हुन्थ्यो । हामी छुट्टै यसै गरी म्याट्रिक पास भयौँ, ऊ पहिलो श्रेणीमा, म भने कसकास गरेर दोस्रो श्रेणीमा ! तर हामी दुवैको सपना एउटै थियो इन्जिनियर बन्ने । मेरो रिजल्ट हेरेर पिताजी खासै खुसी हुनुहुन्नथ्यो, त्यसको एउटा कारण केटाकेटीमा मैले सधैँै अश्विनलाई जित्ने भएर पनि होला ।

‘बडाबा, भुवनले आईएस्सीमा राम्रो गर्छ, नडराउनोस् न ! म पनि मद्दत गरूँला !’

अश्विन मेरो पिताजीलाई बडाबा भन्ने गथ्र्यो । उसलाई म कत्ति लापरवाह र पढाइमा कमजोर छु भन्ने थाहा भएर पनि पिताजीलाई सान्त्वना दिन्थ्यो ऊ ! २ वर्षपछि आईएस्सी सकेर ऊ इन्जिनियरिङ् पढ्न गयो, मैले राम्रो गर्न नसकेर अर्कै विषय पढ्न थालेँ अर्थात् त्यसपछि मेरो जीवन पूरै १८० डिग्री घुमिहाल्यो ! म सधैँै उसले पढ्न बाहिर जानेबेला भनेका कुरा सम्झन्छु । अश्विन मलाई भन्ने गथ्र्यो, ‘आफू के गर्छु वा के बन्छु भन्ने अठोट हुनुपर्छ, अनि त सबै कुरो आफैँ यथास्थानमा पुगिहाल्छ नि !’

म जवाफ दिन्थेँ, ‘नियति के छ, कुन परिस्थिति र कस्तो मार्गर्दर्शन छ, त्यसले मात्र आफूले सोचेको कुरो पुग्नेनपुग्ने तय गर्छ !’ सायद त्यो मेरो मनको भ्रम थियो वा बेमतलबको बुझाइ ! यसै गर्छु भनेर एकचित्त भएर निरन्तर लागिपरेपछि सोचेको कुरा पुगिहाल्ने रहेछ भन्ने अहिले मात्र मलाई आत्मबोध भएको छ ।

केही वर्षपछि अश्विन फक्र्यो पढाई सकेर ! मैले आफ्नो पिताजीको इच्छाविपरीत पछिल्लो र आफ्नै रोजाइको पढाइ सकेर जागिर खाइसकेको थिएँ । त्यसपछि हामी दुवै आ–आफ्नो संसारमा मस्त भयौँ । अश्विनले विहे ग¥यो, ऊ पहिले व्यस्त, अनि बढी व्यावसायिक पनि हुँदैगयो र जनसम्पर्क शून्य ! मचाहिँ यथार्थमा काममा बढ्तै व्यस्त रहेँ, तर उसँग नियमित भेटघाट, जमघटका लागि समय निकाल्थेँ । दुवै घन्टौँ सँगै बसेर पिउँथ्यौँ पनि !

यत्तिकैमा अकस्मात् एक दिन अश्विन मलीनो अनुहार लिएर मेरो ढोकामा आइपुग्यो । ऊ बेग्लै देखिएको थियो, जिङ्ग्रिङ्ग कपाल, हप्तौँ नसुतेकोजस्तो चिप्रा आँखा, ४–५ दिनको झुस्स दाह्री, खजमजिएको टि सर्ट र जिन्स् पाइन्टमा छालाको चप्पल पहिरिएको थियो उसले ! सामान्यतया अश्विन पहिले मेरो घर आउँदा विमलाको डरले पनि दाह्री सफाचट गरेर अनि ढङ्गको जुत्ता लगाएर मात्र आउने गथ्र्यो ।

‘भित्र बोलाउन्नस् ?’ … अश्विनले झर्केर भन्यो ।

‘तँलाई आइज भन्नुपर्छ र ? मलाई लडाएर पस् न !’ उसको पुरानो र केटाकेटीदेखिको बानी ! अप्रत्याशितरूपमा मेरो घर आउने बेला सधैँै ऊ मलाई धकेलेर नै ढोकाभित्र आफू पहिले पस्ने गथ्र्यो । भित्र पस्नासाथ अश्विनले मलाई झ्वाम्लाङ्ग अँगालो मा¥यो । ५ वर्षअगाडि उसकी आमा बित्नुहुँदा पनि उसले यस्तै गरेको सम्झेँ मैले ! मलाई लाग्यो ऊ कुनै सङ्कटमा छ । केही नबोली मैले उसलाई बैठकमा डो¥याएर लगेँ । यत्तिकैमा विमला अर्थात् मेरी धर्मपत्नी भित्र पसिन् ।

‘ओहो अश्विन ! आज कताबाट बाटो बिर्सिस् ?’

विमला र अश्विन मामाचेला फुपूचेली थिए ।

भर्खरै हो ! बरु चिया एक कप ख्वा न नानु !’ अश्विन सायद विमलालाई हाम्रो संवादबाट अलग्याउन चाहन्थ्यो । विमला भान्छातिर लागिन् । उसले कुरो बुझे–नबुझेको मैले थाहा पाइनँ, सायद बुझिनन् होला !

‘के भो भन् न !’

‘के भन्नु ! हिजो घर फर्कंदा सरिता थिइन । मेरो कन्सल्ट्यान्टसँग डिनर थियो, अलि बढी पिएकै पनि हो । कुरैकुरामा अलि भनाभन भयो, म सुति पनि हालेँ धेरै नराम्रो नहोस् भनेर … । बिहान उठ्दा ऊ थिइन !’
‘के हो यो तिमेरुको ? मसँग जहिले भेट्दा पनि कि तँ उसको, कि त सरिता तेरै गुनासो गरिरहन्छौ ?’ मैले अश्विनलाई सोधेको थिएँ ।
‘पहिलेजस्तो कुरा होइन । गम्भीर छ, हाम्रो अब कुनै पनि बेला ब्रेक अप हुनसक्छ । त्यो बेला आइ नै सक्यो भने हुन्छ !’
विमला चिया लिएर भित्र पसेकीले हामी चुप लाग्यौँ ।
हामीले मुखामुख ग¥यौँ, हास्यौँ पनि, अर्थात् हाम्रो अनुहारमा देखिने हाँसो अश्विनले भनेका कुरा र त्यसको परिणाम सम्झदा निस्कने रुन्चे हाँसो थियो ! हामी चुप लागेको विमलालाई चित्त नबुझेर ऊ मुख बिगारेर एकछिन उभिएरै घरको आफ्नै काम सम्झेर हतार भएको बहाना गर्दै कोठाबाट निस्की ।
अश्विनको कुरो लामै रहेछ । ऊ एकहोरो बेलिबिस्तार लगाइरहेको थियो । अश्विनले सरिता र उसको नयाँ हाकिमबीचको लसपसको कुरो पनि खोल्यो । उनीहरूको लसपस पुरानै रहेछ रे, अर्थात् बिहेअघि नै उनीहरूबीच गाढा सम्बन्ध थियो रे ! उसले बोलेका कुराहरू र अझ भनूँ प्रत्येक वाक्यमा मैले उसको मनभित्रभित्र गाडिएर बसेको मानसिक पीडा र सन्ताप पढेको थिएँ । सम्झाइबुझाइ गर्ने कुरो पनि भएन । अश्विन र सरिता सल्लाहले नै छुट्टिए । सम्पत्ति र जायजेथा कसैले कसैलाई केही लिनुदिनु परेन, उनीहरू दुवैले त्यस्तो चाहेनन् पनि । तर अश्विनलाई कति ठूलो मानसिक आघात परेको थियो म राम्ररी बुझ्दथेँ । उसले घरबाट अफिस, अफिसबाट घर मात्र गर्ने र लेखपढमा बढ्ता ध्यान दिनथालेको थियो । ऊ बाहिर विरलै निस्कन्थ्यो र उसको मसँग भेट्ने क्रम पनि घट्दो थियो ।
अनि त्यसको ५–६ महिनामा नै अश्विन विदेशिएको थियो । त्यतिन्जेलसम्म उसले केही हदसम्म आफूलाई सम्हालेको थियो । उसको विदाइको क्षण म र विमलाको लागि त्यति सहज थिएन, तैपनि भारी मनले हामीले उसलाई विदा गरेका थियौँ । जाने बेला सरकारी कार्यक्रममा गए पनि अश्विन नेपाल फर्केर आएन । मसँग भने ८–१० वर्ष ऊ निरन्तर सम्पर्कमा थियो । अनि एक्कासि उसले फोन गर्न छाड्यो, अनि फोन र मेल एकाउन्ट नै बन्द ग¥यो ।
आज म कसो भएर निस्केँछु कुन्नि ! दैवले जुराएरै होला नि ! उसलाई एकपल्ट नियालेर हेरेँ फेरि, मलाई अझै धरमर थियो– पार्कभित्र एउटा कुनामा अश्विन ढल्केर बसिरहेको थियो । शिशिर ऋतु भएका कारण रुखहरूबाट झरेका रङ्गीचङ्गी पातमाथि पल्टिएर आफ्नै सुरमा मस्त र बेखबर भई अखबार पढिरहेको त्यो मान्छे साँच्चिकै मेरो बालसखा अश्विन शर्मा नै हो त भनेर दाँया–बाँया, तल–माथि सबैतिर हेरेँ । अनुहार पहिलेभन्दा केही बढी गोरो थियो किन हो ! गालाको खत र घाँटीको कोठी भने अचम्मैसँग हराएछन् ! ऊ काटीकुटी उही अश्विन शर्मा थियो, केही समयदेखि बढेको देखिने उसको तिलचामले दाह्रीले पनि झट्ट हेर्दा अलमलिनुपर्ने नै थियो !
‘अश्विन होइन ?’ उसले एकपल्ट अखबार हटाएर मलाई हे¥यो ।
अनि फेरि अश्विन आफ्नै सुरमा अखबार पढ्नथाल्यो । म अन्योलमा परेँ, एक्लै आएकोले अरूलाई सोध्ने कुरा पनि भएन ! म उसको अगाडि गएर उभिएँ र ढल्किएर नजिकबाट एकोहोरो हेरिरहेँ । धेरै वेरपछि ऊ झस्कियो र मलाई हेर्दै केके गुनगनाउन थाल्यो, मैले नै बुझिनँ । ऊ जुरुक्क उठ्दै, बस्दै गर्न लाग्यो । मसँग अरू कुनै उपाय थिएन । मैले पुनः उसलाई अश्विन नामले सम्बोधन गरेँ, ‘अश्विन, के भो तिमीलाई ? मलाई चिनेनौ, म विमल ?’ मलाई उसले राम्रोसँग हेर्दा पनि हेरेन ।
‘सर, यू आर डिस्टर्बिङ् मी (महशय, तपाईं मलाई डिस्टर्ब गरिरहनुभएको छ) ! आई डोन्ट नो यू (म तपाईंलाई चिन्दिनँ) !’
मेरो प्रश्नको जवाफ उसले अङ्ग्रेजीमा दिएको थियो ।
मैले अश्विनलाई फेरि एकपटक हेरेँ, मैलो टोपी र पुरानो डाउन ज्याकेट, लगभग च्यातिन लागेको जुत्ता अनि कालो गलबन्दी गुतेको, त्यो अरू कोही थिएन, अश्विन नै थियो । मेरो अन्तस्करणले पनि यही भन्दै थियो ।
यति भनेर अश्विन त्यहाँबाट निस्कियो । म हेरेको हेरै भएँ । मैले उठेर उसलाई भेट्टाउने प्रयत्न गर्दागर्दै उसले बाटो काटिसकेको थियो । ऊ कुन सड्को कता लाग्यो भेउ नै पाइनँ र विहानैदेखि मध्यान्हतिर हिउँको बतास आउनसक्ने भन्ने खबर आइरहेको सुनेकोले म पनि छिटो घर फर्कने हतारमा थिएँ, त्यसैले आफ्नै गन्तव्यतिर लागेँ । तर घर फर्केपछि झन् नरमाइलो लागेर आयो । अश्विनलाई रोक्ननसक्ने गरी म कति लापरवाह भएँछु भन्ने जस्तो पनि लाग्यो ।
साँझ छोरोलाई आफ्नो बाल्यकाल, गाउँले जीवन, आफ्नो पुरानो स्कुल, पिताजीको मास्टरी पेसा र लगन, गाउँमा छँदा अनि अश्विन र आफ्नो स्कुले जीवनका सवै कुरा वेलिविस्तार लगाएँ । तर अन्त्यमा पार्कमा भेटिएको अश्विनको प्रसङ्ग झिक्नासाथ छोरो एक्कासि हामी सबैलाई झस्काउने गरी पड्कियो,
‘हत्तेरी ! कत्रो भूमिका बाँध्नुभ’को ! त्यसको कुरा त म एकै शब्दमा भनिदिन्थेँ नि !’
‘तँ चिन्छस् र उसलाई ?’
‘किन चिन्नुप¥यो ? पार्कमा सधैँै देखिन्छ । ऊ केही वर्ष मेन्टल ट्रमामा थियो रे, अनि आफ्नो पुरानो कुरा सबै बिर्सेको र कहाँबाट आएको पनि थाहा छैन रे ! धेरै पहिले आएको र लामो समय बेपत्ता भएकोले रेकर्ड पनि अझै फेला परेको छैन रे । ऊ अहिले म्युनिसिपलिटीबाट पाएको भत्तामा गुजारा गर्छ भन्थे ! हाम्रो बाबुले पनि कुरा गर्छ ऊसँग ! केटाकेटीहरू देख्यो भने मीठो कुरा गर्छ रे !’
‘त्यो अश्विन हो मेरो पुरानो साथी ! कहाँ भेट होला त अहिले ?’ छोरोले एकपल्ट झस्किएर मलाई हे¥यो र हाँस्यो पनि ।
‘केके भन्नुहुन्छ केके ! हावा कुरा ! ऊ धेरै पहिले यहाँ आएको हो, सायद एक्सिडेन्टपछि परिवारले एबन्डन गरेको (त्यागेको) होला । रक्सी धेरै खाएको बेला गाडी हाँक्दा दुर्घटनामा पर्दा उसको शरीरको भाग टुक्रिएर छरिएको रे अचम्मसँग ! उसको अहिलेको अनुहार पनि पुरानो अनुहारको अलिकति मात्र रिस्टोर्ड हो रे, अनि जिउ पनि टुक्रा–टुक्रालाई जम्मा गरेर जोडेको रे ! उसले मान्छे भने चिन्दैन तर निकै पढे–लेखेको छ र वैज्ञानिक हो भन्थे । जे भए पनि तपाईंको साथीचाहिँ होइन, बोलेको सुन्दा पनि नेपाली होइन जस्तो छ क्या ! के ठेगान ! हामीले त सधैँै अङ्ग्रेजी मात्र बोलेको सुनेको हो ?’
‘नेपाली बोल्दैन ?’
‘कहाँ बोल्नु ? त्यसैले त नेपाली हैन भनेको ! त्यस्ता मान्छे खोज्ने नै हो भने यहाँ पार्कैपिच्छे भेटिन्छन् ! तपाईं पनि वेकारमा टाउको दुखाउनुहुन्छ !’
अश्विनको सम्पूर्ण प्रसङ्गलाई नै छोरोले यसरी हल्कारूपमा लिइदियो मानौँ ऊ कुनै अस्तित्व नै नभएको एउटा निर्जीव वस्तु हो । त्यो रात अबेरसम्म निद्रा लागेन, मेरो आँखामा अश्विनले नेपाल छोड्दाको अनुहार र मेरो आँखामा आफूले ऊसँग बिताएका बाल्यकालका तीता–मीठा दिनहरूको झझल्को आइरह्यो ।
भोलिपल्ट छोरो काममा हिँड्नासाथ म पनि फेरि पार्कतिर निस्किएँ । अश्विनलाई जसरी भए पनि मनाएर नेपाल लैजाने भनी विमला र मेरो सल्लाह भएको थियो । मैले हिजोको ठाउँमा धेरैबेर कुरेँ, त्यसपछि पार्कमा हेरचाह गर्ने कामदारलाई पनि सोधेँ तर कसैसँग मेरो प्रश्नको जवाफ थिएन । केहीबेर ऊ हिजो बसेको सिटसँगै उभिएर हेरेँ, त्यहाँ अरू केही रङ्गीचङ्गी नयाँ पातहरू झरेका थिए । आफ्नो मनमा अश्विन सँगै छ जस्तो लागेर होला, मेरा हातका औँलाहरू पातहरूमाथि सलबलाइरहेका थिए मानौँ अश्विन त्यतै कतै लुकेको छ र मलाई छलेर भागिरहेको छ अर्थात् मसँग लुकामारीको नाटक खेलिरहेको छ ।
अश्विन भने साँच्चिकै हराएको थियो । एक्कासि ! त्यो दिन केहीबेर पार्कको चक्कर काटेपछि म थकित र निराश मन लिएर अपार्टमेन्टमा फर्केँ ।
‘ए ! त्यो मान्छेको फाइल फेला परेर उसलाई त्यहाँबाट हिजो राती नै लगिसकेछन् त !’ मेरो छोरो साँझ ढोकाभित्र पस्नासाथ मलाई भन्दै थियो ।
‘के भन्छ यो !’ छोराको कुरा सुनेर म दिक्क भएको थिएँ । त्यो साँझ मलाई खाना पनि रुचेन । प्रत्येक दस मिनेटमा मेरो आँखाअगाडि उसको अनुहारको झझल्को आइरह्यो । मेरो बालसखालाई मैले म्यापलको झरेको पातमाथि पल्टिएको देखेको थिएँ, तर अहिले ऊ मेरो लागि फेरि दोस्रोपल्ट हराइसकेको थियो ।

[email protected]
२७६, भीमनिधि तिवारीमार्ग
पिङ्गलास्थान, काठमाडौँ– ९