वैशाख मास थियो । घरभित्र बगैँचमा ढकमक्क फूल फुलेका थिए । जनकविकेशरी धर्मराज थापा दौरा–सुरुवालमाथि अस्कोट अनि शिरमा उनको आफ्नै ढाँचाको भानुभक्तीय बिर्खे टोपीमा सजिएर मलाई पर्खिरहेका थिए । मैले झुकेर नमन गरेँ । उनले बढो हर्षका साथ मलाई स्वागत गर्दै आफ्नो पाहुना कक्षमा बसाए ।विसं १९८१ साउने सङ्क्रान्तिका दिन पनि पोखराको बाटुलेचौरमा यस्तै हर्ष छाएको थियो । तर त्यो हर्ष एक निमेषमा शोकमा परिणत भयो । श्रीभद्र शर्माले इन्द्रको फूलवारी नामकरण गरेको बाटेलेचौरमा त्यस दिन बाहिर साउने झरी दर्किरहेको थियो भने हर्कबहादुरको घरभित्र आँसु झरी बर्सिरहेको थियो ।
त्यस दिन मनमायादेवीको कोखबाट एक नवजात शिशु यस लोकमा आएको थियो । तर त्यसमा सास थिएन, जीवन थिएन । गाउँका जान्नेबुझ्नेहरूले शिशुको स्वास्थ्य परीक्षण गरेर घोषण गरिदिए– “यो त मरेको बालख जन्मियो ।” अनि छिमेकी साहू ओमकुमार श्रेष्ठलाई बोलाएर अब यसलाई खरबारीमा गाड्नुप¥यो भनेर खाल्डो खन्न कोदालो दिए । ओमकुमारले त्यो शिशुलाई बोकेर लैजाँदै गर्दा मामलकी हजुरआमा मैना बस्नेत आकस्मिकरूपमा प्रकट भइन् र ओमकुमारको हातबाट त्यो शिशु खोसेर लिँदै भनिछन्– “खै त म पनि हेरू !” अनि उनले एउटा आम्खोराबाट हत्कोलामा चोखो पानी खन्याएर त्यो शिशुको अनुहारमा छर्किदिइ छिन् । मैना बस्नेतले छर्केको त्यो चोखो पानी अमृत हुनपुग्यो । अनि त्यो शिशुले ‘च्याँ’ रोयो । त्यसपछि हर्कबहादुरको घरमा एकछिनअघि छाएको शोक हर्षमा परिणत भयो । त्यस बालखको न्वारान भयो । नाम पनि राखियो– भुवनबहादुर । पछि तिनै भुवनबहादुर धर्मराज थापाका नामले नेपाली लोगसङ्गीत र साहित्यका क्षेत्रमा सुसिवख्यात भए अनि जीवनका ९० वर्ष पूर्ण गरेर यस लोकबाट विदा भए ।
उनी एकपटक मरेर बाँचेका थिए । उनकी हजुरआमाले त्यहाँ आउन एक निमेष मात्र ढिलो गरेकी भए पनि उनी खरबारीमा गाडिन्थे र त्यही बेला उनको जीवनलिला सकिन्थ्यो । तर उनले बाँच्नुको खास उद्देश्य लिएर आएका थिए । लोकसङ्गीतलाई जनजनको हृदयमा गुन्जाउनु थियो ।
त्यस दिन उनले आफ्नो जीवनवृतान्तको सवाई कहेका थिए । उनका पिताजी वज्र परेर झरेको एउटा ढुङ्गोलाई खोपामा राखेर पुज्थे । त्यही खोपावरिपरि भानुभक्तीय रामायण र सुब्बा होमनाथ–केदारनाथले बनासरबाट प्रकाशित गरेका महाभारतका पोस्तकहरू राखिएका हुन्थे । त्यही दुई पोस्तकहरूबाट उनको पहिलो वाचक खुल्यो । पछि १९९५ सालमा गाउँमा एउटा भाषा पाठशाला खुल्यो । त्यहीँ उनको सुरुवाती शिक्षा भयो । उनी बाटुलेचौरमै हुँदा रामायाण–महाभारतका श्लोक खररर वाचन गर्ने र अड्डा–अदालतमा दरखास्त लेख्नसक्नै भइसकेका थिए । त्यहाँभन्दा माथि धेरै भए लघुकौमुदी या गीता पाठ गर्न सक्थे । त्यो शिक्षा सीमित थियो । उनलाई लाग्यो मैले अझै टाढा पुग्नु छ– शिक्षा र ज्ञानको भ¥याङ चडेर । अनि यशी शिक्षाको भोकले यति आकुलव्याकुल भएर एक दिन उनी काँधमा एउटा कुम्लो भिरेरे घरबाट निस्के ।
त्यसपछि सेती, मादी, मस्याङ्गदी, त्रिशूली र बूढीगण्डकी छिचोल्दै पाँचमुहानेको उकालोमा आएर कुम्लो बिसाए । पाचमुहाने, जसलाई आज जितपुर भनिन्छ, त्यसको टुप्पोबाट बसेर १९९६ सालमा भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ को दर्शन गरे पहिलोपल्ट । अनि उनी शिक्षाको भोक मेट्न पाठशालामा भर्ना भए र मध्यमाको परीक्षामा प्रथक श्रेणीमा पनि प्रथम भए । उनको नाम नै छाप्यो गोरखापत्रले ।
उनले कविशिरामणि लेखनाथ, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी आदि कवि–लेखकका नाम सुनेका थिए तर भेट्न पाएका थिएनन् । अनि एक दिन मैतीदेवीमा पुगेर उनकै घरमा महाकवि देवकोटा देवकोटालाई भेटे । देवकोटाले पनि बढो स्नेह गरेर ‘मुनामदन’, ‘कुञ्जिनी’ र अरू महाकाव्यका एक झोला किताबहरू दिए । उनी फरुङ्ग परेर झोलाभरि महाकविका किताबहरू बोकेर डेरा फर्किए । उनी पहिलो साक्षात्कारमै महाकविका ‘फ्यान’ हुनपुगे । महाकविजस्ता महान् हस्तीले उनीप्रति गरेको यस्तो स्नेहपूर्ण व्यवहारले उनी महाकविका भक्त नै हुनपुगे ।
त्यसबेला उनले पनि ‘रत्न–जुनेली’ भन्ने खण्डकाव्य लेखेका थिए । अनि एक दिन फेरि उनी घरबाट ल्याएको अलिकति गुन्द्रुक र एक माना गाइको घिउ बोकेर त्यसको भूमिका लेखाइ माग्न देवकोटाकहाँ पुगे, एकजना साथीसँग । एक बट्टा सलाई र महाकविलाई एकदमै मनपर्ने फुलमार चुरोट पनि लगेका थिए । समय यस्तै चार बजेको हुँदो हो अपरान्हको । महाकवि खाटमा बसेर केही लेखिरहेका थिए । खाटको मुनि चुरोटको ठुटोले पोलेर छिद्रैछिद्रा भएको एउटा डसना थियो । उनीहरूलाई देखेर देवकोटाले त्यही डसनामा बस्न भने । अनि थापाले सङ्कोच मान्दै भूमिका लेखिदिन आग्रह गरे । देवकोटालाई भूमिका लेखाइमाग्न उनले जति साहस गरेर भनेका थिए, देवकोटाले त्यति नै सहजतासाथ उनको हातबाट ‘रत्न–जुनेली’ को पाण्डुलिपि लिए र सरसरर्ती पृष्ठ पल्टाए । अनि श्रीमती मन देवकोटालाई बोलाएर भने– “यो कोसेली लैजाऊ र दुन्द्रक भात पकाऊ । आज उहाँहरू पनि यही भान्छा
गर्नुहुन्छ ।” देवकोटाको सरलताले उनी निथ्रुक्क भिजे ।
त्यसपछि महाकविले भने– “तपाईंहरू बस्दै गर्नूस् है ! म अहिल्यै भूमिका लेखिदिन्छु ।” महाकविको यस वाणीले उनका आँखा रसाए । यति महान् व्यक्ति तर कति सहयोगी, कति वात्सल्य र स्नेहले भरिएका । उनी महाकविबाट औधी प्रभावित भए । अनि खाटमा घोप्टिएर त्यसको भूमिका लेख्न थालेका महाकवि राती १० बजेसम्म पनि लेखि नै रहे । देवकोटा पत्नी मनले उनीहरूलाई खाना खान बोलाइन् तर देवकोटा आफ्नो ठाउँबाट हल्लिएनन् । उनी दुईजनाले मात्र खाना खाइरहे । देवकोटा भूमिका लेखिरहे ।
संस्कृतिविद् सत्यमोहन जोशी, लोककवि अलि मियाँ र जनकविकेशरी धर्मराज थापा
“मसिना र सुन्दर अक्षरले चार–पाँच घन्टा लगाएर उहाँले मेरो ‘रत्न–जुनेली’ को भूमिका एकै बसाइमा लेखिदिनु भयो,” थापाले भनेका थिए– “राती हामीले त्यही खाटमुनिको डसनामा सुत्ने अवसर पायौँ । अनि एकाबिहानै आँखा मिच्दै त्यो भूमिका बोकेर फर्कियौँ ।”
उनी काठमाडौँमा आएर मध्यमा उत्तीर्ण गरेपछि श्री ३ माहेन शमशेरले उनी कवि भएको थाहा पाएछन् र श्री ३ सरकार गुठीमा बहीदारको जागिर दिए । त्यस बेला मोहन शमशेरका छोरा विजय शमशेर गोरखापत्र छापाखानाका डाइरेक्टर थिए । उनले गुठीबाट गोरखापत्रमा पु¥याए । एकदिन मोहन शमशेर श्री ३ भएको उपलक्ष्यमा काठमाडौँमा सिन्दुरजात्रा भयो । मोहन शमशेरलाई हात्तीमा चढाएर भद्रकाली हुँदै नगर परिक्रमा गरिएको थियो । त्यो जात्रा हेरेर थापाले ‘मेरो सिन्दुरजात्रा’ शीर्षकको एउटा लेख लेखे र गोरखापत्रमा छपाए । त्यो लेख पढेर विजय शमशेरले उनलाई मुखियामा पदोन्नति गरिदिए ।
तर लोकगीत र सङ्गीतले उनलाई कुनै पनि क्षण छोडेनन् । महाकवि र भीमनिधि तिवारीसँग उनको विशेष सम्बन्ध थियो नै । उताका आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, राष्ट्रकवि माधव घिमिरेसँगै उनी संयोजित हुनपुगे । उनले भनेका थिए– “आदिकवि, कविशिरोमणि, राष्ट्रकविदेखि यो जनकविकेशरीसम्म उतै जन्मेका कवि थियौँ । यसरी उताका डाँडाबाट आएका हामी चार माला भएर नेपाली साहित्यमा अतुलनीय योगदान पु¥यायौँ ।”
अब आउँछ लोकगायनको कुरा । उनले २००१ सालमै मञ्चमा गाउन सुरु गरे । २००८ सालमो ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गाएर उनी स्थापित भइसकेका थिए । उनको भनाइमा उनी तर योभन्दा अघि नै लोकप्रिय गायक भइसकेका थिए । उनले भनेका थिए– ००७ साल फागुनमा सानो टुँडिेखलमा विशाल आमसभा भएको थियो । एक लाख मानिस भेला भएका थिए । त्यतिबेला यति ठूलो आमसभा पहिलोपटक भएको थियो । त्यस आमसभामा राजा त्रिभुवन, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्यायलगायत अन्य ठूलठूला ओहदाका व्यक्तित्वहरूको पनि उपस्थिति थियो । सभापति थिए कविशिरोमणि । नेपाली काङ्ग्रेसका महामन्त्री श्रीभद्र शर्मा जसले सभाको उद्घोषण गरिरहेका थिए । उनले धर्मराज थापाको नामोच्चारण गर्दै भने– “अब जनकवि धर्मराज थापाले गाउनु हुन्छ ।”
अनि त्यस मञ्चमा उभिएर थापाले गाए–
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला
“मैले यो गीत गाएर बीचमा पु-याउँदा श्रोताहरू आँसु पुछ्दै ताली पिटिरहेका थिए,” थापाले त्यस दिनको स्मरण गर्दै भनेका थिए– “मञ्चमा बस्नेहरू पनि रोए ।”
त्यसयता उनी गीत गाउँदै मेचीदेखि महाकालीसम्म डुले । पूर्वपश्चिम राजमार्ग बनाउने क्रममा चन्दा उठाउन उनी ठाउँठाउँमा गाउँदै हिँडे–
बटो बनाइदेऊ, बाटो बनाइदेऊ
पूर्व–पश्चिम राजमार्गमा मोटर चलाइदेऊ
उनी के भएनन् र उनले के गरेनन् ? २००८ सालमा डा. केआई सिंहको चुनावप्रचारमा लाग्दा राजद्रोही भनेर ४५ दिन हनुमान ढोकामा थुनिए । अनि फेरि राजसंस्था (राजा महेन्द्र) ले २०१३ सालमा योगदानको सम्मान गर्दै उनैलाई जनकविकेशरीको पदवी नै दियो ।
जन्मिँदै म¥यो भनेर गाड्न खाल्डो ठिक्क पारेका बेला बाँचेका उनलाई २०१२ सालमा ‘धर्मराज थापा’ त म¥यो’ भनेर हल्ला चलाइयो । कवि कुलमणि देवकोटाले त कपाल खैरेर ‘मरेको जनकवि’ भन्ने शीर्षकका कवितै लेखे र ‘भारती’ पत्रिका छपाए पनि । अनि उनले गोविन्दप्रसाद लोहनीले आयोजना गरेको सभाको मञ्चमा उभिएर ‘म मरेको छैन, ज्यूँदै छु’ भनेर आफू जीवित छु भन्ने प्रमाण आफैँले पेस गर्नुप¥यो ।
उनले नाटक पनि खेले । २००९ सालमा उनै महाकविको ‘कुञ्जिनी’ खण्डकाव्यलाई आफैँले लयवद्ध गरेर त्यसको नायक गोरे राउतको भूमिकामा अभिनय गरे, सिंहदरबारको नाचघरमा । यसलाई निर्देशन गरेका थिए– प्रसिद्ध समालोचक प्राध्यापक ईश्वर बरालले । उनले २०१० सालमा आफैँले लेखेर निर्देशन गरेको नाटक ‘भुलेको छैन’ दार्जिलिङको गोरखा दुःख निवारक सङ्घमा आफैँले अभिनय गरेर मञ्चन गरे ।
जनकविकेशरी धर्मराज थापाले सधैँ युग–परिवर्तनका लागि गाए, कविता लेखे र नाटक गरे । उनी गीत गाउँदै देशको सिमाना छिचोलेर प्रवासका कुनाकन्दरासम्म पुगे । कहिले मादल घन्काउँदै गाउँघर ब्यूँझाउँदै हिँडे । कहिले आमाको आँसु पुछ्दै देशदेशावर डुले । कहिले ढुङ्गो धूलो पार्छ, शोषकलाई मार्छ’ त कहिले तेन्जिङ शेपाले सगरमाथा चढेको सवाई गाउँदै नेपाली मनमनमा पुगे । उनी जहाँजहाँ पुगे, नेपाली लोकगीतको ठेट भाषामा नेपाली बाटोको महिमागान गाउँदै हिँडे । र नेपाली जातिको वीरताको कथा सुनाउँदै हिँडे । जनकविका यिनै गीतहरू सुनेर जेबी टुहुरेजस्ता युवाहरू गायनमा लागे र ‘आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ जस्ता गीत गाएर जनगायक भए । उनले कर्म नछोडी, हतास नभई उद्देश्यपूर्वक अविराम कोही अघि बढिरहन्छ भने त्यो व्यक्ति सफल हुन्छ भन्ने ज्ञान पाए जीवनबाट । यही उद्देश्यको लहरो समातेर उनी आजीवन साधनाको यात्रा गरिरहे । र त, आजपर्यन्त उनले गाएका गीतका शब्द र सङ्गीतका लयहरूमा उनी नेपालीका हृदयमा स्पन्दित भइ नै रहेका छन् अनि कालान्तरसम्म बाँचि नै रहने छन् ।