• २०८१ श्रावाण ११ शुक्रबार

शान्ति शर्माको कवितासंग्रह र म्युजिक भिडियो लोकार्पण

४ अषाढ, काठमाडौं, कवि शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ र म्युजिक भिडियो लोकार्पण गरिएको छ । शनिबार, एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सर्जक शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कवितासंग्रह रचना गरेको बताइन् । कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुुहरुलाई उठान गरिएको पनि उनको भनाई छ ।

साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मन लगायतका शीर्षकहरुका कविता रहेका छन् ।

शर्माको सो कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, नैतिकपक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकुलपति उप्रेतीले बताए । कार्यक्रममा ‘नसोधिदेऊ बिन्ति’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।