• २०८१ फागुन ३ शनिवार

चिनियाँ लेखक वाङलाई ‘नेपाल प्रज्ञालङ्कार’ हस्तान्तरण

बेइजिङ ।

नेपाल प्रज्ञालङ्कार पुरस्कार चिनियाँ लेखक वाङ होङ्वेइलाई हस्तान्तरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको उक्त पुरस्कार बेईजिंगमा आयोजित एक समारोहमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले ९० वर्षीय चिनियाँ लेखक वाङलाई हस्तान्तरण गरेका हुन । यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानले २०७८ असारमा काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार समर्पण समारोहमा भौतिक रुपमा उपस्थित हुननसकेका वाङको सम्मानपत्र बेइजिङ पठाइएको थियो ।

उनले तीनहजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवी पाएका थिए । नगद पुरस्कार पुराना लेखक वाङको बैंक खातामा दाखिला गरिएको थियो भने सम्मानपत्र बेइजिङ ल्याएर हस्तान्तरण गरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा योगदान गरेवापत्जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ पुरस्कृत भएका हुन ।

सन् १९३४ मा जन्मिएका बेइजिङ निवासी लेखक वाङले पटकपटक नेपाल भ्रमण गर्नुका साथै दर्जन हाराहारी नेपाल सम्बन्धी पुस्तकहरू प्रकाशित गरेका छन् । सन् १९६३ मा नेपालमा गरिएको साहित्य र कलासम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै चिनियाँ साहित्य र कला क्षेत्रमा नेपालको अध्ययन गर्ने एक प्रारम्भिक आगन्तुक मध्ये वाङ नै एक हुन् । सम्मान ग्रहण गर्दै लेखक वाङले सम्मानप्रति कृतज्ञता ज्ञापन गरे ।

चीनमा सांस्कृतिक क्रान्तिको १० वर्षपछि सन् १९८५ र त्यसपछि लगातार नेपाल भ्रमण गरेर उनले नेपालका बारेमा धेरै मोनोग्राफ र लेखहरू लेखी चिनियाँमाझ जनस्तरीय मित्रता र आपसी बुझाइमा योगदान गरेका थिए ।