महाकवि देवकोटा: केही रोचक घटनाहरू - Aksharang
  • २०७७ माघ ४ आइतबार

महाकवि देवकोटा: केही रोचक घटनाहरू

केदारमान व्यथित

लक्ष्मीप्रसाद देवकोटा महाकविका रूपमा चर्चित र सम्मानित छन् । उनीसँग मेरो प्रथम भेट नेपाली भाषा प्रकाशिनी समितिको कार्यालयमा भएको हो । त्यस वेला खड्गमान मल्ल लेखन फाँटमा थिए । मैले लेखेको कवितासङ्ग्रह सङ्गम पास गरेर मात्र छाप्न मिल्ने नियम भएकाले म त्यहाँ गएको थिएँ । १९९७ सालको सहिद काण्डपछि म ५ वर्ष जेल परेँ । जेलबाट छुटेर सङ्गम प्रकाशनको अनुमति लिन जाँदा बालकृष्ण समले सङ्गम पढी पढ्न लगाई अनेक अर्थ लाग्ने हुँदा अनुमति दिन नमिल्ने कुरा बताए ।
फाटेको कोट, डम्बरकुमारीको टोपी लगाएको अग्लो व्यक्ति समका अगाडि भुइँमा थ्याच्च बसेको थियो । उसले स्वस्ति भन्यो । त्यस व्यक्तिलाई कुर्सीमा बस कसैले भनेन । पछि समले लक्ष्मीप्रसाद देवकोटा भनी चिनाए- त्यो दृश्य म अहिले पनि सम्झन्छु । अनेक अर्थ लाग्ने भएकाले छाप्न नमिल्ने भनी समले भनेको सुनेपछि देवकोटाले भने- ‘अनेक अर्थ लाग्नु त कविताको गुण हो, अमिधा, लक्षण, व्यञ्जना यी सबैले काम गर्छन् । प्रवेशिका, आईए., बीए., एमए. सम्म पनि आफ्नो स्तरअनुसार कविता बुझ्छन्- यो त राम्रो हो ।’ यसरी मेरो पक्षमा बोल्ने देवकोटा पहिलो भेट्मै देवताजस्तै बने । त्यसपछि उनी मकहाँ आउँथे र म उनकहाँ जान्थेँ । यसै घटनाबाट आउनेजाने क्रम चल्यो ।
२००४ सालमा नेपाली साहित्य परिषद् खडा भयो । त्यसको अध्यक्ष म थिएँ र साहित्य-स्रोत पत्रिका पनि प्रकाशित हुन्थ्यो । वरिष्ठ कविहरू सहभागी थिए । बृहत् साहित्य सम्मेलन देवकोटाकै अध्यक्षतामा भएको थियो । उनी ज्यादै प्रतिभाशाली थिए । भावुक पनि थिए । सरस्वती सदनबाट रानीपोखरीमा हाँस पौडेका देखिन्थे । त्यो देखेर एक दिन देवकोटाले भने- ‘त्यसरी नै पौडन पाए तैरन पाए हुन्थ्यो, भगवान् विष्णु पनि त समुद्रमा सुतेका थिए नि, आनन्द नभए किन सुत्थे ?’ मैले भनेँ- ‘भगवान् विष्णुलाई त शेषनागले अड्याएका थिए नत्र डुबिहाल्थे नि !’
एक दिन समका अफिसमा म जाँदा देखेँ– देवकोटा त रातोपिरो भएर हातमा चक्कु लिएर बहस गरिरहेका । सम ईश्वर छैन भन्ने र देवकोटा ईश्वर छ भन्ने तर्क चलेको रहेछ । शरीर मर्छ आत्मा मर्दैन । चक्कुले शरीर ढलेपछि आत्मा पनि बस्तैन । यस्तै तर्कले चर्को रूप लिएको देख्ता देवकोटा अत्यन्त भावुक र उत्तेजित हुने प्रकृतिका लाग्यो । बहस टुङ्गिनेबित्तिकै के बस्ने यहाँ– उत्तराखण्डमा तपस्या गर्न जाने भनी मलाई पनि लिएर हिँडे । म पनि के डराउने भनी सँगै हिँडेँ । लैनचौर हुँदै बालाजु पुग्यौँ । आजको जस्तो बस्ती थिएन । सुनसान थियो ।प्रकृतिसँगै खेल्न थाल्यौँ । भोक लाग्यो बदाम खाने ? भनी देवकोटाले सोधे । खाने भनेँ । एक रूपियाँ छ ? भनी पुनः प्रश्न गरे । पैसा त छैन भनेपछि देवकोटा बदाम पसलेसमक्ष गएर भने- ‘म नेपालको कवि लक्ष्मीप्रसाद देवकोटा हुँ । बदाम खान मन लाग्यो, पैसा छैन । पछि पैसा तिरौँला, अहिले १ रूपियाँको बदाम दिन्छौ ?’ पसलेले पनि हुन्छ भनी बदाम दियो । खाँदै डुग्रने पानीतिर लाग्यौँ । साँझ पर्न लाग्यो । त्यति बस्ती छैन । रिसल्लाहरू घोडा चढेर हिँड्दै छन् । ‘यसरी कहाँ जाने ? फर्कौं’ भनी मैले भनेँ । ‘हुन्छ त फर्कौं’ भनी हामी घर आएको घटना पनि झलझली सम्झन्छु ।
२००८-९ सालतिर क्षयरोगले म पीडित थिएँ, मित्रता भएकाले मकहाँ उनी आउँथे । सहानुभूति व्यक्त गर्दथे । ‘पैसा छैन क्षयरोग लाग्यो के गर्ने ?’ भनी म भन्थेँ । उनी केही बोल्दैनथे । एक दिन मेरो तकियामुनि ३५ रूपियाँका डबल छाडेर गएछन् । अरू कोही पनि आएका थिएनन् । घरका परिवारले पनि राखेको होइन । यति दिएँ पनि उनले भनेनन् । तर मौका पारी डबल छाडेर उनी गए । त्यस वेला त्यति रकमको पनि महत्त्व थियो । दयालु मात्र थिएनन् उनी रिसाउँदा रूद्र पनि थिए । रिस उठेपछि आँखा देख्दैनथे ।
दिल्लीमा अफ्रो-एसियाली सम्मेलेनको निम्तो आयो । खर्च थिएन जाने कसरी ? १० हजार भारू बुझाउनुपर्ने र आउने जाने खर्च पनि आफैँले बिहोर्नुपर्ने । समस्या थियो । राजा महेन्द्र पनि कवि भएकाले सहयोग पायौँ र टङ्कप्रसाद आचार्य पनि साहित्यिक भएकाले र त्यस वेला उनै प्रधानमन्त्री भएकाले सहयोग जुट्यो । माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा शङ्कर लामिछाने, मसमेतको करीब ८ जनाको टोली उक्त सम्मेलनमा भाग लिन गयौँ । टोलीनेता देवकोटा थिए । देवकोटाले उक्त सम्मेलनमा घन्टौँ प्रभावकारी भाषण दिए । दिल्लीका पत्रिकाले ७२ घन्टाको छलफलमा नेपाली प्रतिनिधिमण्डलले जोेविचार दियो त्यो अरू देशका प्रतिनिधिमण्डलले दिन सकेनन् भनी टिप्पणी गरे । दिल्लीका गभर्नर राजा गोपालाचार्यले देवकोटाले झैँ अभिनय गरेर धेरै बोल्न मलाई आउँदैन भनी टिप्पणी गरे । देवकोटासँग हात मिलाउन धेरै आए । उनको विद्वता स्पष्ट वक्तृतामा झल्कियो । नेपाली भाषाले भारतमा मान्यता पाउनुपर्छ भन्ने प्रस्ताव राखेका थियौँ ।
अर्कोतिर भारतको आसामतिरबाट आएका नेपालीहरूले हर्षाश्रु बहाउँदै हामी पनि मानिस रहेछौँ, नेपालीको पनि अस्तित्व रहेछ विश्वमा, यो तपाईंहरूले देखाइदिनुभयो भनी भने । यस सम्मेलनमा देवकोटाको प्रभावशाली भूमिका थियो ।
हिन्दी त्यति नआए पनि अङ्ग्रेजीमा उनी बेजोड थिए । १४-१५ सय कमाउँथे टयुसनबाट । त्यस वेला त्यो रकम कम आम्दानी होइन । तैपनि पुग्दैनथ्यो । मीठो खान रूचाउने, चुरोट सुपारी खूब खाने, भित्तामा धर्सोतानेर पसलबाट सामान लाने, पैसा आएपछि तिर्ने स्वभाव उनको थियो-धर्सो तानेर लाँदा पसलेले सामान नलगे पनि धर्सो तानिदिन्छ कि भन्ने डर उनलाई थिएन ।उनले कमाएको रकम हरिकीर्तनमा पनि लाग्थ्यो । पत्नी हरिकीर्तनमा रमाउँथिन् । देवकोटाका रचना सारेर कवि हुने पनि छन् । एकचोटि लेखेपछि फर्केर हेर्ने बानी उनको थिएन । त्यसैले सबै रचना चामल बन्न सकेनन् ।
एक दिन मैतीफाँटको घरमा म पुगेँ । देवकोटालाई म गुरु भन्थेँ । ‘गुरू नमस्कार !’ भन्दै उनी बसेको कोठामा पुगेँ । ‘व्यथितजी हो ? आउनोस्’ भने । देवकोटा तन्नाले मुख छोपेर सुतेका । भान्सा तयार भो भनेर एक घन्टादेखि दुलही कराइरहेकी, भात नखाई उनी सुतिरहेका, यो देखेर भात खान जानोस् भनेँ । देवकोटाले भने- ‘मरेको मान्छेले भात खाँदैन उसलाई त दागबत्ती दिनुपर्छ ।’मैले उनको तिघ्रामा चिमटी दिएँ-उनले ऐया भने । ‘मरेको मान्छेले ऐया भन्दैन । तपाईं जिउँदै हुनुहुन्छ । भात खानोस्’ भनेँ । ‘तरूनी विधवा आइमाई भान्से छ, धोती फेरेर भान्सामा जानुपर्छ, धोती छैन लगौटी मात्र लाएर कसरी जाने ? एउटा धोती किनेर राख्न नसक्ने व्यक्ति पनि जिउँदो हो त ?’
देवकोटा अग्रजको सम्मान गर्थे । लेखनाथ, भानुभक्तप्रति श्रद्धाभाव व्यक्त गरेका छन् । समकालीनमा प्रेम, सद्भाव र अनुजहरूमा उत्साह प्रदान गर्थे । एकातिर आधुनिक शिक्षाको अध्ययन, वैज्ञानिक प्रगतिको प्रभाव अर्कातिर सनातन संस्कृतिको रम्परागत छाप उनमा थियो । यस प्रभावले उनीभित्रको प्रतिभा छचल्कन्थ्यो, कहिले पागल बन्थे, कहिले कवि बन्थे, त कहिले प्राध्यापक । मैले चिमटेको प्रसङ्गलाई उनले पागल कवितामा पनि व्यक्त गरेका छन् । यसरी-
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटी दिए
र भने “ए पागल तेरो सास अझ मरेको छैन ?”
यस्ता कुरा भए सालसाल
पागल छु साथी
यस्तै छ मेरो हाल ।

यस कविताको साथी म नै थिएँ ।


(साभार: महाकवि देवकोटाका आनीबानी- घटराज भट्टराई । प्रकाशक: लक्ष्मीप्रसाद देवकोटा  प्रतिष्ठान)