हट डग अर्थात तातो कुकुर - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

हट डग अर्थात तातो कुकुर

मञ्जु विमली

मञ्जु विमली

‘कविता र मीना माथि आओ ।’ मालिकको आवाज थियो त्यो ।
केही डराउँदै मुखामुख गर्दै सिँढी चढे दुवैजना । तलब दिने वेला पनि भ’को होइन किन बोलायो त ?’
मालिकले भन्यो- ‘ल ! दुवैजना रेडी भई हाल । भोलिदेखि यता नआउने ।’कविता हर्ष र मीना अलमल्लको मनस्थितिमा तल ओर्लिए ।
खुसी थिई कविता, आँखामा झिलिक्क आगो बलेझैँ भएको थियो । यसबारेमा मालिकले पहिले नै भनेको भएपनि उसले त्यति महत्त्व दिएकी थिइन र कसैलाई भनेकी पनि थिइन ।
अर्को कारखानामा सार्ने भनेपछि उसको मुहारमा खुसीको बिजुली चम्केको थियो ।
मालिकको गाडीमा पसे दुवै । मनमा लाग्दै थियो–कहिल्यै नचढेको मालिकको गाडीमा पनि बसियो पो ! मगमगी बास्ना आउँथ्यो परफ्युमको । मलमलका चिटिक्क परेका कुसन थिए । एउटालाई काखमा राखी कविताले । एक छेउतिर राखी मीनाले अर्काे । बाटाभरि मौन थिए सबै । कोही बोल्छन् कि ! एकअर्काको प्रतीक्षा गर्दै । केटीहरू बोल्ने कुरा आएन । मालिकको डरभन्दा ठूलो के नै हुन्थ्यो र ? हलचल नगरीकन लामो सिटको एकएक छेउमा बसे उनीहरू । गाडी हुँइकियो जाउलाखेलतर्फ । जावलाखेलकोे सालिकलाई दाहिने पारेर सिंहदरबार हुँदै पुतलीसडकको सानो गल्लीबाट भित्र छिर्याे । हेर्दाहेर्दै गाडी त कविताकै डेराछेउबाट उकालो लाग्यो । उकालो काटी सक्ता गाडी रोकियो । निस्किए दुवै आफ्ना झोला चेपर ।
नयाँ टहरो भित्र लगेर त्यहाँका मानिसहरूलाई देखाउँदै मालिकले भन्यो- ‘यिनीहरूले काम सिकाइ दिन्छन् । राम्रोसँग सिक्नु । पछि तिमीहरूले नै चलाउनुपर्छ यो कारखाना ।’ नयाँ ठाउँ, मान्छे नौला, बडाबडा मेसिन, अनौठो लागिरहेको थियो कवितालाई ।
मालिक अफिसतिर लाग्यो । भित्र छिरिसक्ता फिनेलको गन्ध, मेसिनको होहल्ला, धूलोको मुस्लो, मान्छेको ओइरो, त्यस्तो केही थिएन यहाँ उताको कम्पनीमा जस्तो ।
‘कविता ! लन्च गरिसक्यौ ? यता आओ ।’ मालिकको चर्काे आवाज कानमा सिधै ठोक्कियो ।
आवाज आएतिर गए । अफिस रहेछ । टेबलभरि खानेकुरा केके हो केके थिए । भन्यो- ‘खाओ मिठाइ ।’केटीहरू लजाए । धकाए पनि । डर पनि सँगै लाग्यो । एउटाएउटा टिपेर हिँड्न लाग्दा फेरि भन्यो–‘खाओ- खाओ लन्च यही हो । आज मेसिनको पूजा हो । ओपनिङ् पनि । तिमीहरू त लक्की हौ ।’
ढुक्कसँग एउटा प्लेटमा हालेर खाए दुवैले ।
टहरोभित्र पसे फेरि । पहिलोपल्ट देखेका ती मेसिन, साँच्चै नै अचम्मका थिए । ढोकैमा जापानिजजस्ता लाग्ने दुई केटीहरूसँग भेट भयो । भारतीय मुलकाजस्ता केही जवान केटाहरू पनि थिए भित्र । सबैले आ- आफ्नोे नाम बताउँदै हात मिलाएर परिचय गरे । भाषा अङ्ग्रेजी थियो । केटाहरूले निर्धक्कसँग हातै मिलाए उनीसँग पनि । एउटीले भनी- ‘आम् पुई ।’ अनि अर्कीले भनी- ‘मीनिप्पोन ।’ केटाहरूको नामचाहिँ केटीका जस्तो सन्नी, हन्नी र असीम भएकाले सम्झन सजिलो भयो । सुनिसक्दा बिर्सने अप्ठ्यारा खाले लागे केटीहरूका नाम । कविताले एस्क्युज मी भन्दै फेरि अनुरोध गरेपछि उसले दोहोर्याएर मुख चुच्चो पार्दै भनी- ‘आइ एम पुई ।’ कविताको नाम पनि दोहेर्याइरहे उनीहरूले । पहिलोपल्ट अङ्ग्रेजीमा बोलेर हात मिलाएकी थिई कविताले विदेशीसित । सर्माएका थिए उसका हात । कताकता सकसकाएजस्तो लाग्यो ।
कविता सम्झँदैथिई उनीहरूका अनौठा नाम क्रमशः निप्पोन र पुई ।
मङगोल अनुहारका चिटिक्क परेका साना काटीका थिए तिनीहरू । केटाहरू भने अग्ला कदका र स्वर पनि धोत्रे ।
उनीहरूले काम गर्ने मेसिन देखाउँदै गए । मालिक पनि सँगसँगै थियो । एकचरण देखाइसकेपछि अलिक कडा र आदेशात्मक स्वरमा बोल्यो मालिक–‘कविता ! मीना ! छिटोछिटो काम सिकेर राम्रोसँग गर्ने । अदरवाइज वापस जाना पडेगा सम्झे ?’
तिमीहरूले केही नबुझे ऊसँग हिन्दीमा सोध्नु भन्दै असीमतिर देखाउँदै मालिकले भन्यो ।
‘टिच देम् वेल् ।’ बोल्दैबोल्दै बाहिर नस्कियो ।
केटीहरूका छेउमा जाँदा मगमगी बास्ना आउँथ्यो । परफ्युमको बास्ना ह्वारह्वार्ती हावाले उडाएर कविताको नाकतिर ठेलिरहेको थियो ।
उनीहरूले देखाउदै गए ।
‘यो मेसिनमा बाह्रबाह्रवटा हेड हुन्छन् । प्रत्येकका हेडमा चारचारवटा सियोघर हुन्छन् । खासमा यसले लुगामा बुट्टा हान्ने काम गर्छ । रङ्गीविरङ्गी बुट्टा बनाउनुपर्ने कपडाको टुक्रा ठूलो वा सानोसानो फ्रेममा लगाएर मेसिनमा राखिन्छ । विभिन्न रङका धागोका टोटाहरू पछाडि लगाइन्छ र हरेक सियोमा आइपुग्छ । कम्प्युरबाट सीडीमा डिजाइन बनाएर यो स्क्रीनमा सेट गरेपछि आफैँ काम गर्न थाल्छ, अरू पछि काम गर्दै जाँदा थाहा हुन्छ’भनेर सम्झाए । ती धागोका टोटाका लहरहरू पनि कति रमितलाग्दा देखिन्थे । बडो कौतुहल साथ घुमीघुमी हेरे मेसिनलाई दुवैले
निप्पोनले भनी- ‘डोन्ट वरी ! यु विल नो स्लोलीस्लोली । आइ विल टिच यु । यु विल सी इट, हाउ इट वक्र्स ।’ कविताले उत्सकताका साथ मुन्टो हल्लाई सबै बुझेझैँ । मीना भने हेरेकी हेर्यै भई ।

०००
बिस्तारै काम सिक्दै गए । पहिला सोचेजस्तो गाह्रो होइन रहेछ । मनको डर दिनदिनै उत्रिँदै गयो । बरू नयाँ काम सिक्न पाएकोमा आफैँमाथि गौरव लागिरहेको थियो कवितालाई ।
‘एकपटक कम्प्युटरमा गरेको डिजाइन, मेसिनको डिजाइन ट्याबको सिस्टममा सेटिङ् गरी धागो मिलाएर चलाइदिएपछि त्यो डिजाइन नसिद्धिएसम्म मेसिन आफैँ चलिरहँदो रहेछ ।’
रमितालाग्दो थियो काम । चुडिँएको धागो गाँठो पारिदिएर मेसिन चलाइदिँदा हेरिरहनुजस्तो फूलका बुट्टाहरू धमाधम बन्थे प्रत्येक हेडमा । घुमीघुमी बुट्टा हेर्दा रोमाञ्चित हुन्थ्यो मन रङ्गीन जीवनको कल्पनामा । बगैँचामा छु झैँ लाग्थ्यो आफूलाई ।
आफ्नोे कामचाहिँ धागो छुटेको वा चुडिँएको छ कि हेरिरहनुपर्ने थियो । धागो चुडिँएमा इन्डिकेटरमा रातो बत्ती प्लिकप्लिक बल्थ्यो । मेसिन आफैँ रोकिन्थ्यो । सारै ध्यानपूर्वक सियोमा धागो घुसारेर चलाइदिनु थियो । कहिलेकाहीँ बत्तीको सङ्केत अफ भएको रहेछ भने धागो चुडिँएको थाहा हुदैनथ्यो, बुट्टो बिग्रिहाल्थ्यो एकातिर खुँडे भएर । एकपाटे हुन्थ्यो । एकपाखे मान्छेको जिन्दगी जस्तै ।
त्यो बनिरहेको बुट्टो हेरिरहँदा उसलाई लाग्थ्यो- ‘यो जिन्दगीको सियोमा पनि घरिघरि चुडिँइरहने मनरूपी धागो गाँसेर एउटा रङ्गीन बुट्टो बनाउन पाए कति राम्रो हुन्थ्यो होला ! विभिन्न रङका धागो हालेर तानतुन पारेर बुट्टो बनाउन खोज्यो, अघि नै छिनिसकेको हुन्छ । सिँगो बुट्टो कैले बन्ला र रमाइलो हुन्थ्यो होला जिन्दगी पनि !’ टुक्रिएका सपनाहरू बुट्टासँगै सल्बलाउँथे कविताका । अतीत र कल्पनामा कताकता हराइरहन्थी ऊ । उभिएरै काम हुन्थ्यो बस्ने व्यवस्था थिएन ।
उसलाई यो काम विशेष मन पर्नुको कारणचाहिँ अङ्ग्रेजी भाषा नै थियो । केही समय अङ्ग्रेजी भाषा सिक्न उसले पैसा तिरेरै कक्षा लिएकी पनि थिई । काम र कलेजको कारणले गर्दा त्यत्तिकै छुटेको थियो । तर अहिले सजिलै निःशुल्क यो भाषा सिक्न पाइरहेकी थिई ।

०००
जापानीजजस्ता देखिने ती केटीहरू थार्ईल्यान्डका रहेछन् । जतिपल्ट सोधे पनि पटक्कै दिक्क नमान्ने, मिलनसार पनि । अङ्ग्रेजी भाषा उनीहरूको पनि उति राम्रो थिएन । उनीहरू पनि वेलावेला भारतीय केटाहरूको सहयोग लिन खोज्थे । त्यहाँ व्याकरणीय शुद्धताको खासै परवाह थिएन । मुख्यमुख्य शब्द मात्रै बोल्थे । कवितालाई भने अङ्ग्रेजी बोल्न अभ्यास गर्ने ठूलो मौका भयो । मीना भने केही सोध्नुपरे कवितालाई नै सोध्थी ।
कामसँगै भाषा पनि बुझी रँहदा आनन्द लागिरहेको थिर्ईो कवितालाई । एकदिन उसको पढाइबारे सोधेको थियो मालिकले । सायद भाषाकै सजिलोका लागि उसलाई त्यहाँ ल्याएको हुनसक्छ ।
चारकक्षामा पुगेपछि मात्र ए बी सी डी का बाङ्गाटिङ्गा अङ्ग्रेजी अक्षर देखेकी उसले आज पहिलोपल्ट विदेशीहरूसँग काम चलाउ बोल्नसक्ने भएकीमा आफैँलाई कत्ति हो कत्ति खुसी लागेको थियो । ऊ फेरि एकपल्ट कृतज्ञ भई आमासँग । सम्झिरही आमाको त्यो त्याग र बलिदानलाई । उनले आफूले पढ्न नपाएको पीडा छोरीलाई पढाएर भएपनि पूरा गर्न खोजेको कुरा बुझेकी थिई ।
दिनदिनै आफूमा भएको अङ्ग्रेजी भाषाज्ञानले गमक्क फुलेजस्ती हुनथाली ।
डेराबाट टाडा धाउनुपर्दा हिजोका दिनको बाटाको दिग्दारलाग्दो दैनिक यात्राको याद आउँथ्यो । साँझ झमक्कै हुँदा लखतरान शरीर पर्लक्क ओछ्यानमा पल्टेको याद आउँथ्यो । बोली हराउँथ्यो । निरास भएर टुलुटुलु नियाल्दै सिलिङतिर हेर्दै आँखा भर्थी पानीले । ती सबैबाट मुक्त भएकी थिई अब । आजभोलि बिहान सातै बजे हाजिर भएर तीन बजे बिदा हुन्थी । सफा, सुन्दर र रमाइलो थियो वातावरण ।
मेसिनमा काम गरिरहँदा उसलाई पहिलाको अफिसको त्यो छ्याके अनुहारकोले गरेको अत्यचारको याद आइरहन्थ्यो । एकदिन नयाँ कपडा हातमा हालिदिँदै उसका गैँडाका छालाजस्ता दह्रा हत्केलाले कविताका मुलायम हत्केलालाई सुमसुम्याउदै भनेको थियो- ‘यति नरम हात यस्तो काम गर्नका लागि होइन । मेरो पनि मन हो, बुझाइदेऊ न !’ उसका आँखा यौनतृष्णका मदिराले भरिएका थिए ।
त्यस यौनपिपासुले कस्तोकस्तो कुटिल आँखाले हेरेको थियो । कसोकसो आफूलाई बचाउन सफल भएकी थिई त्यो दिन । त्यही दिनदेखि उसलाई त्यो कारखाना मन पर्न छोडेको थियो । समस्या रोजगारीको थियो । आफ्नो अस्मिताको पनि थियो र पैसाको पनि । त्यसको त्यस हर्कतको पोल कसैलाई खोल्न सकेकी थिइन ।
एकदिन उसले मालिकलाई छ्याकेको कुरा भनी तर मालिक यस कुराप्रति उति गम्भीर देखिएन । त्यति अचम्मित पनि भएन । कम्पनीको छाडापनलाई स्वीकारेजस्तो गरी–‘यस्तो त हुनसक्छ कविता । यति धेरै मान्छेको जमातमा को कस्तो छ को कस्तो सक्कल हेरेर चाल पाइँदैन । घर, परिवार, स्वास्नी, छोराछोरी छोडेर आएका हुन्छन् टाढादेखि । सबभन्दा राम्रो आफू जोगिने हो । आफू कडा भयो भने कसैले चलाउन सक्दैन । झगडा गरेर पनि हुँदैन ।’
मालिकले नै त्यसो भनेको सुन्दा ऊ छक्क परेकी थिई । त्यही दिनदेखि नै कम्पनीको काम, पैसा, र समय तीनै कुराले दिमागमा झड्का हानिरहन्थे । छाडिहाल्न पनि नसकिने । गरिरहन पनि गाह्रो । भालुको कान भएको थियो जागिर । त्यसै दिनदेखि उसलाई मालिकसँग पनि शङ्का लाग्न थालेको थियो ।
विगतले सधैँ तर्साइरहे पनि त्यो कसैलाई भनिन । तर अब ऊ धेरै सतर्क भएकी थिई । कम्पनीको काम- कसलाई के भन्नु र ? ज्यालादारीको भन्ने ठाँउ नै नहुने भन्दै अरू केटीहरू पनि दिक्क भएका थिए त्यहाँ । ता आएपछि चाहिँ आफू महिनावारी तलबमा बढुवा भएकीले गमक्क फुलेजस्ती भएकी थिई ।
पहिलापहिला पुई र निप्पोनको सक्रियतामा खाली स्याम्पल मात्र तयार गरी देशविदेश पठाए अर्डर लिएर । बिस्तारै काम बाक्लै आउनथाल्यो । अनि कामदार पनि थपिन थाले । बसेर गर्ने काम पनि थियो । तर कविता भने मेसिनमै रमाउँथी । मेसिनले रङ्गनि बुट्टो बुनिरहेको देख्दा मन खुब रोमाञ्चित हुन्थ्यो उसको ।
छ महिना पूरा भइसकेको थियो । थार्र्ई केटीहरूको जानेदिन आएछ । आफ्नोे घर फर्कन पाउँदा उत्साहित देखिए पनि जानेवेला आउन लागेपछि न्यास्रिएको अनुहारमा देखिन थालेका थिए तिनीहरू । पुई र निप्पोनले क्रमशः आफ्नोे काम कविता, मीना, मनकुमार आदिमा हस्तान्तरण गर्न थालेका थिए ।
उनीहरू यो विदेशबाट घर फर्किन पाउँदा खुसी देखिन्थे ।
जाने अघिल्लो दिन नै उनीहरूले मायाको चिनो साटासाट गरे । अँगालोमा बाँधिए । आँखाभरि आँसु भरे । कविताले पहिला कहिल्यै नलगाएको, कपाल चेप्ने राम्रो चिम्टी पाई । हस्तकलाका चीजहरू दिई उसले पनि उनीहरूलाई । अङ्ग्रेजीमा ‘हट डग’ लेखिएको एउटा एकबित्ता अग्लो टिनको बट्टा पनि दिए । नौलो लाग्यो । के हालो त्यस बट्टामा सोचिरही उसले ।
हट डग लेखेको छ । डग भनेको कुकुर र हट भनेको तातो भन्ने मात्र बुझेकी ऊ छक्क परी त्यो बट्टा समात्दै गर्दा । थार्र्ईहरूले कुकुर खान्छन् भन्ने सुनेका उनीहरूलाई त्यो बट्टा लिनु कि नलिनुजस्तो भइरह्यो निकैबेर । मायाले दिएको चीज नलैजाऊँ भनेपनि उनीहरूले अपमानित भएको महसुस गर्लान् भन्ने डर !
जीवनमा पहिलोपल्ट कुनै विदेशीको हातबाट यस्तो उपहार थापेर ऊ फुरुक्क पनि भई । मीना र अरू साथीहरूलाई राम्रा रङ्गीन प्लास्टिकले मोरेका चक्लेटहरू बाँडे । एकैछिनमा जिब्रोमा बिलाउने चक्लेटभन्दा त कपाल च्याप्ने चिम्टी कताकता ठूलोे कुरा पाएकोमा खुसी भई कविता । उसले त्यो चिम्टी जतनले राखी । अनि डराइडराई त्यो बट्टा भान्छाको झ्यालको चेपतिर छिराइदिई ।
भोलिपल्ट कविता काममा पुग्दा गेटैदेखि कारखाना सुनसान लाग्यो । उनीहरू हिँडिसकेका थिए । नरमाइलो लाग्यो । पालेले भने हाँस्तै दुइटै हात फैलाउँदै जिस्क्याउने भावमा भन्यो- ‘गए तिर्मेका साथीहरू पनि । अब एक्लै बस !’
खाना पकाउने भान्से रनेले थप्यो-  ‘बल्ल ढुक्क भो । खाली टेन्सन दिन्थे । मोरीहरूलाई खाना खुवाउनै गारो भन्या ! कैले यो कैलै उ भनी रहने ।’’
विदेशी केटीहरू गएकोमा खाना पकाउने काम घट्यो भनेर खुसी थियो ऊ- ‘नेपालको खाना नखाने रे । उतै आफ्नै देशबाट लिएर आ’को थियो कत्ति खाना त । अस्ति तिम्लाई पनि दिया थ्यो नि एउटा बट्टा । त्याँभित्र त ससेज भन्ने लामुलामु, लिँडजस्तो मासुको लिँड हुँदोरछ । त्यो त गाई, कुखुरा, सुँगुर, बङ्गुर जेको मासुबाट पनि बनेको हुन्छ रे, तिनेर्ले नै त भनेको । हेर है ! तिम्रोमा के लेखेको छ ? भाहुनको छोरी भन्छ, फेरि सुँगुरको मासु खायो भने ! विदेशी भाषामा लेख्या हुन्दो रच । म त बुझ्दिनँ । तिमी त बुझ्छौ नि पढ्या मान्छे ।
उसका विदेशी साथीहरू गएकोमा त्यो भान्से रमाइरहेको कवितालाई मन परेन ।
भर्खरै आइपुगेका रहेछन् सन्नी र हन्नी उनीहरूलाई विमानस्थल पुर्याएर । असीम भने गएनछ । कहिलेकाहीँ ती सानाखाले केटीहरूलाई भयङ्कर ज्यान भएका ती केटाहरू बोकेरै कुदाउँथे । पुई कम्पनी नै थर्किने गरी चिच्याउँथी । ऊ अलि फ्रेन्ड्ली र उत्ताउली पनि थिई । निप्पोन भने सोझी थिई । उनीहरूलाई बिदा गरेर फर्किएका केटाहरूका अनुहार उदास र निराश देखिन्थे, घाटबाट फर्किएका मलामीझैँ । दिनभरि काम गरिरहँदा पनि तिनीहरू आपसमा खुलेका थिएनन् । सुनसान लागिरह्यो कवितालाइ पनि ।
तीनचार दिनसम्म बट्टाबारे कसैले कुरा निकालेन । जहाँको त्यहीँ रह्यो । एकदिन कविताका काकाले देखेछन्- ‘कसले ल्याको यो ? कस्तो चाहिने कुरो पो रछ त ।’
‘मलाई कम्पनीमा आएका थार्ई साथीहरूले दिएको । उनीहरू जाने वेला भयो अनि । यो के गर्ने हो चाल नपाएर त्यत्तिकै छोडेको । फेरि हट डग लेखेको छ । केहो केहो भनेर अलमल्ल परिरहेकी म त । खोइ गह्रौँ पनि छ । यो कसरी खोल्ने हो ! भित्र के छ केही थाहा छैन । अस्ति भान्सेले मासुको लिँड हुन्छ भन्दा कस्तो लाज लागेको, अझै उसले त झन् अर्थोकै पो भनेको थियो । बा सुनैसुन पो छ कि !’ कविताले भनी । काकाले व्यङ्ग्य गर्दै भने- ‘अँ हुन्छ तँलाईं सुन !’
‘केटाकेटीलाई के थाहा ? खोइ यता ले !’ भन्दै थुतेर लगे । अनि खुर्पाका टुप्पाले ठुङ्न थाले । भन्दै थिए – ‘यसलाई खोल्ने अर्कै हुन्छ साँचो । फनफनी घुम्ने ।’
कविता त्यस बट्टाभित्रको चीज हेर्न आतुर थिई । एकछेउ खोलिनेबित्तिकै सिन्को घुसारेर यति लामो लिडुल्के सर्पजस्तो लाग्ने, अघाएको खरिजुको जस्तो पोटिलो, साँच्चै भान्सेले भने जस्तो के कस्तोकस्तो । लामो चीज तननननन तानेर निकाले बाहिर । लामो गुहुको लिँडजस्तो देखेर कविता छक्क परी । आश्चर्य र घिनसँगै, लजाउँदै हेरिरही । भान्सेले ‘मासुको लिँड’ भनेको याद आयो । तर के थियो- थियो । पहिलोचोटि देखेको यो चीज तिनै मेसिनजस्तै अनि थार्ई केटीहरूजस्तै अचम्मका लागे ।
काकाले कराईमा थोरै तेल हालेर फुराए । झन् पो ठूल्ठूला देखिए । ढुसढुसी पड्किए । पटपटी फुटेर धर्साधर्सा भए डडेल्ना । मीठो मानेर खाए । ‘चाख् त !’ काकाले भने । गारो मान्दै जे भए पनि मुखमा हाली कविताले । अर्काे बाइट पनि चपाई मीठो पो भो । स्वाद मान्दै चपाउँदै थी । सक्किइहाल्यो मुख मात्र चिलायो । थार्ई केटीहरू घुमिरहे आँखाभरि ।


(विमली विगत डेढ दहकदेखि सिर्जनामा कलम चलाउँदै आएकी स्रष्टा हुन्)
bimalimanju@googlemail.com