• २०८१ कातिर्क २२ बिहीबार

गजल

मोतीराम भट्ट

मोतीराम भट्ट

दिनको पचास त के हजार पटक कती समझाउनू

दिनको पचास त के हजार पटक कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।

रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।

नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।

वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।

मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।

तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।

मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।

तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।

सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।


मोतिराम भट्ट