नियति - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

नियति

लक्ष्मी पुडासैनी

लक्ष्मी पुडासैनी

पूर्वी ‘म भोलि सबेरै चामल लिन खलङ्गा जान्छु । विद्यालय जान भ्याउँदिनँ । तँ एक्लै जा है ! म पनि चामल लिन जान्छु । अस्ति हाम्रा बाले पनि चामलका कुपन लिन्या छन् । दसैँमा टीका मुस्न पनि चामल छैन भन्थिन् । आमैलाई सोधेर तुँलाई निधो दिऊँला’ भन्दै दगुरेर घरतिर लागी । पूर्वी पनि चामल लिन जाने भनेपछि मेरो खुसीको सीमा नै रहेन । उसकी आमैले जा भन्लिन् कि नभन्लिन् भन्ने उत्तरमा ढुकढुकी चल्न थाल्यो । सूर्य पश्चिमतिर जतिजति तेज कम भएर डुब्दछ, त्यतित्यति मेरा मन गल्दैछ । हातखुट्टा लुला हुँदै थिए । आँखा पूर्वी आउने करेसाबारीको सानो गोरेटो बाटोमा मात्र नाचिरह्यो । नीलो घाँगर समाउँदै पूर्वी दौडेर आई र भनी– ‘विनोद म पनि चामल लिन जाने ।’ अनुहारमा एकपल्ट फेरि सूर्य झुल्कियो । पूर्वी जाँदा सात घन्टाको यात्रा मेरा लागि सात मिनेट हुनेछ । गोरेटो, घोडेटो, खहरे, भञ्ज्याङ, देउराली सबै सजिलै भए पनि कर्णालीमाथिको तुइनचाहिँ दिक्कलाग्दो । ‘पूर्वी भोलि तैँले यस्तो घाँगर नलगा है तुहनमा झुन्डिन गा-हो हुन्छ,’ निर्दोष अनुहारले टाउको हल्लाई । बिहानको कुखुरो नबास्तै उठेर पूर्वी, म र कान्छा बा हिँड्यौँ सदरमुकामतिर । बोटबिरुवा, झ्याँस कुल्चँदै, घरि कानमा कुइँकुइँ कराउने लामखुट्टे मार्दै हामी कर्णाली नदीसम्म पुग्यौँ । कर्णालीको तुइन देख्नेबित्तिकै पूर्वीको अनुहारमा गाँठा परे किनभने यही चामलका लागि हिँडेका बालाई यही तुइनले लगेका थियो । ‘तैपनि हामी जुम्लेलीलाई तुइन राक्षस भए पनि भगवान् मान्नैपर्छ हिँड् पूर्वी तँ जा पहिला’ भनी पठाए । उसको कुपन र धोक्रो मैले दाहिने हातमा बाँधेँ । एकपल्टमा एकजना मात्र तर्न सकिने तुइनबाट पालैपालो तरेर सदरमुकाम पुग्यौँ । चामल थाप्नेको लर्को लामै रैछ । हामी पुछरतिर पर्यौं । लर्को लामै भए पनि खाद्यका कर्मचारी भित्र रहेनछन् । कान्छाबाले ‘विनोद तु जा त हेर, चामल बाँड्ने मान्ठा’ भन्ने शब्द भुइँमा झर्न नपाउँदै म दौडिएर चामल बाँड्ने झ्यालनेर पुगेँ । त्यहाँ त कुर्सीमा रुमाल मात्र थिए । कर्मचारी थिएनन् । कर्मचारी खोज्दै म अलि परको चिया पसलमा पुगेँ । त्यहाँ पनि पसले साहुजी मात्र चिया पकाउने भाँडा सफा गर्दैथिए । मैले ढोकाबाट चियाएपछि पुलुक्क मतिर हेरे ।
चियाको पसलसँगै जोडिएको रक्सी पसलबाट धूँवाको मुस्लो मडारिएर बाहिर आएर मेरो नजिक फुट्यो । मासु पोलेको बास्ना हावामा छरिएको थियो । हिजो बेलुका खाएको एक डल्लो ढिँडोले ठाउँ छोडिसकेको थियो । त्यो वास्ना सुँघ्दै बसिरहूँजस्तो लाग्यो तर मलाई कर्मचारी खोज्नु थियो । च्यापच्याप हातैमा टाँसिएलाजस्तो पर्दा पन्छाएर यसो भित्र हेरेको त खाद्यका कर्मचारी रक्सी र मासु खाँदै रहेछन् । ‘सर, चामल लिने लाइन ठूलो छ छिट्टै आउनुहोस् रे !’ मात्र के भनेको थिएँ एकजना कालो अनुहार भएको अग्लो कर्मचारी फुत्त बाहिर निस्कियो र मेरो कमिजको कठालो समातेर आफ्नो कालो अनुहार नजिकै लग्यो । ‘तँलाई चामल चाहियो ? ला खा चामल !’ भनी दाह्रा किट्यो । नीलो रङ्गको मेरो कमिज पसिनैपसिनाले निथ्रुक्क भिज्यो ।
स्कुल जाँदा लगाउने एक मात्र गाढा नीलो पाइन्टको मोता फाटेपछि आमाले तलको मोता काटिदिएर घुँडासम्म हुनेगरी दोबारेर सिइदिनुभएको पाइन्ट कम्मरबाट खस्न लागेको थियो । डरले थरथर काम्दै ‘हैन हैन’ भन्नेबाहेक अरू केही वाक्य फुटेन । सायद त्यस कर्मचारीको हात गल्यो होला कि वा भित्रबाट ‘गरिबको छोरो हुन्दिनोस् सर ! चामलको भात खाने आसले आएको होला होस् सर छोडिदिनूस् !’ भनेपछि फुत्त तल झा-यो । म बिरालाको पञ्जाबाट मुसा भागेभैmँ खुर्र दौडिएर कान्छाबा र पूर्वी भएको ठाउँमा पुगेँ । सायद मुटु हल्लिएछ कि बाहिर कमिज नै हल्लाएझै भयो । नीलोकालो मुख चिटचिट पसिना, कान्छाबाले ख्याल गरेनन् । ‘कहाँ रहेछन् त कर्मचारी ?’ भनेर सोधे ‘मैले उता पसलमा’ मात्र भनेँ ।
पूर्वीले मेरो अनुहार राम्ररी पढी, हातमा च्याप्प समातेर मान्छेको हुलबाट अलि पर लगी । मेरो हातमा उसले समातेपछि मुटु शान्त भएझै भयो । लाइनबाट अलि पर पुगेपछि के भयो ? तिम्रो अनुहार त अर्कौ छ त ? उसलाई चाहेर पनि म केही ढाँट्न सक्दिनथेँ ।डरले लगलग कामेका मेरा गोडा पूर्वीको सान्त्वनापछि केही कम भयो ।
चामल लिनेको लाइन ठूलै थियो । सानो धोक्रो नाम्लो च्यापेका मानिसहरूका लाइनमा पूर्वीले मलाई समातेर लगी । कान्छाबा लाइनमा बस्नुभएको थियो । त्यही लाइनमा हामी पनि मिसियौँ । चामल बाँड्न थाले । चिप्लेकिराभैmँ सर्दै लाइन अगाडि बढ्यो । हिजो बेलुका खाएको इस्कुसको मुन्टा र मकैको ढिँडो खै कता पुगेछ पेट भोकले कुल्ल गर्दैथियो । नजिकै बगिरहेको मूलधाराको पानी पनि चामल लिएर खाऊँला भनेर साँचिराखेँ । त्यही कालो अनुहारको कर्मचारी चामल बाँड्दै रहेछ । मान्छेको भीडबाट देखेँ । फेरि गोडा कामे, कन्चटबाट तरतर पसिना बग्न थाल्यो । मुटु ढक्क फुल्यो । आँखाले सेता दाह्रा किटेको दाँत देखी आँखा झ्याप्प चिम्ले । पूर्वीले फेरि अनुहार पढी पत्युत्तरमा चामल बाँड्ने कालो मान्छे देखाइदिएँ । उसको हात मेरा हात खोज्दै आयो । दुवै हात एक अर्कासित समातिए मुटु दह्रो भयो । शब्द निस्केनन्, आँखा जुधे, मुस्कान पोखियो । म जुनसुकै युद्ध जित्न सक्छुजस्तो महसुस भयो र शिर ठाडो पारेँ ।
दुई तीन जना मान्छे चामल लिन बाँकी रहँदा मैले पनि आफ्नो कुपन निकालेँ । खुसीले धोक्रो टकटकाएँ । कोदाको पिठोको धूलो खस्यो । मभन्दा अगाडिका मानिसको पालामा त्यो कालो कर्मचारीले धोक्रो टकटकाएर चामल दियो र मतिर हे-यो । मेरा आँखा जुधे पनि उसको आँखाबाट आफ्नो आँखा तल पारेँ । त्यो मतिर हेरेर हाँस्यो । फेरि भित्र पस्यो । मलाई लाग्यो, अब ठूलो धोक्रो तानेर ल्याउँछ । माथिको चामल त साह्रै राम्रो हुन्छ । यो वर्षामा दिनभरि भिजेर मकै गोडेर जाँदा तातो भात खाएको याद आयो र मन आनन्दित
भयो । धेरैचोटि भित्र बाहिर ग-यो तर चामल लिएर आएन । पूर्वी, कान्छाबा र म हेरेकोहे-यै ग-यौँ । निकै बेरपछि आएर ‘चामल सकियो जाओ तिमीहरू !’ भन्यो । मेरो हिमालजस्तो आशा क्षणभरमै पग्लिएर पानी भयो । ‘सर अलिकति भए पनि दिनुहोस् न, आमाबुवा घरमा आस गरिराख्या छन् ।’ भित्र एक धोक्रो चामल बाहिरैबाट देखिन्थ्यो । ‘ऊ चामल छ त दिनुहोस् न !’ पूर्वीले कराएर भनी । ‘त्यो चामल बाँड्न मिल्दैन । हामीलाई पनि यहाँ बसुञ्जेल भात खानुपर्छ । जाओ, जाओ’ भनी हकार्यो । गोडा फतक्क गलेर आयो । मुटु ढक्क फुल्यो । हुन त कुपन पाए पनि चामल पाउने पक्का हुँदैनथ्यो । छरछिमेकका दाइ, काकाहरू धेरैपटक रित्तै फर्किएका थिए । आज हाम्रो पालो रहेछ । गलेका मन र गोडा उचाल्दै पर धाराका डिलमा थचक्क बसेँ । नुनिला आँसु मुखमा प-यो । पूर्वी उता फर्केर रोई, कान्छा बाको अनुहारमा घाम डुब्यो । ‘जाऊ हिँड अब, सेता चामलका भात खान त हामी जुम्लेलीका कर्ममा भगवानले लेख्न बिर्सिएछन्’ भन्ने कान्छा बाको शब्दबाट हामीले आँसु पुछ्यौँ र कलकल बगेको धाराको पानी पेटभरि खायौँ र तीनै जनाले नुनिलो आँसु पखाल्यौँ र ‘वर्षायाम छ पूर्वतिरबाट पानी आइसक्यो कर्णालीको बहाव बढ्छ तुइन तर्न सकिदैन छिटोछिटो पाइला चाल’, भन्दै कान्छाबा चप्पलका छिटा गर्दनसम्म पु-याउँदै हिँड्नुभयो ।
आमाले बिहान हिँड्ने बेलामा ‘तुकन चावल ल्याए वर्षा याममा तातो जाउलो फतफताएर खान पाउडा’ भन्ने शब्दले मनमा तिखो काँडा बनेर घोच्यो ।
रित्तो धोक्रो बोकेर कर्णाली नदीको किनारमा पुग्दा साँझ प-यो । पानी पनि ठूलै वर्षंदै थियो । प्लास्टिकको ओडोले भ्याउने थिएन । पानीको बहाव धेरै बढेछ । तुइनका घिर्लिङ धेरै पुरानिएर चुँडिसकेका थिए । बाँकी पनि सद्दे थिएनन् । खिया लागेर चुँडिन मात्र बाँकी थिए । जुम्लीले तुइनलाई देवता मान्दथे किनभने तुइनले हाम्रो जीवनको भाग्य लेख्छ । चँुडियो भाग्य सिद्दियो । चुँडिएन भाग्य बच्यो । बिहानझै पहिला पूर्वीलाई पठाउने भइयो । झमझम पानी परिरहेको छ । आधा शरीर परेको पानीले भिज्यो । आधा शरीर कर्णालीले भिजाउँछ अब । धोक्रो र प्लास्टिकको ओढो कम्मरमा बाँधेर बल्ल पूर्वी पारि पुगी । पूर्वीले तुइन चढुञ्जेल मेरा हातखुट्टा कामे । आँखा चिम्लिएँ । कान्छाबाले ‘विनोद तु जा अबकन’ भनेपछि मैले उसैगरी तुइनमा चढेँ बीचमा पुगेपछि सुसाएर खाऊँलाझै गरी आएको पानीमा आँखा प-यो । ‘तुइन तर्दा माथिमाथि हेर्नुपर्छ । पानीतिर हेर्नु हुँदैन रिङ्गटा लाग्छ’ भन्ने सबै तुइन चढ्ने जुम्लेलीलाई थाहा भए पनि कसर कसरी आज तल हेर्न पुगेछु । रिँगटा लाग्यो । झ्याम्म आँखा चिम्लिएँ । हिम्मतका साथ हात नछोडीकन झुन्डिएर बल्लतल्ल पारि पुगेँ । आँखा खोल्दा तिरिमिरी भएँ । धोक्रो र प्लास्टिकको ओढो खसालेछु । ‘लौ धोक्रो र ओढो खसेछ त ? अब के ओढ्ने ?’ उता तुइन कान्छाबाकहाँ पुग्यो । उसैगरी कान्छाबा आँखा चिम्लिएर बल्ल आइपुग्नुभयो । ‘आजलाई बाँचियो, धन्य ! हिँड जाऊँ’ भनी कान्छाबा अगाडि लाग्नुभयो । एउटै ओढोमा पूर्वी र मैले टाउको लुकायौँ, पानी झमझम परेकै थियो । कम्मरभन्दा मुनि कतै ओभानो छैन । तैपनि पूर्वीको सासबाट आएको तातो हावाले मलाई न्यानो अनुभव भइरहेको थियो ।
बाटो लामो नै थियो । अझै एक घन्टा तेर्सो हिँडेपछि मात्र घर पुगिन्थ्यो । कान्छाबा दस पाइलाजति अगाडि हामी दस पाइलापछाडि । स्कुल जाने बाटोमा आएपछि त हामीलाई कहाँ सिस्नो झाडी छ, कहाँ भ्वाङ परेको छ, कहाँ अग्लो, खाल्डो सबै याद थियो । मध्यरातको अँधेरीमा पनि हामी घर पुग्न सक्थ्यौँ । हामीले बाटालाई र बाटाले हामीलाई चिनेजस्तो महसुस हुन्थ्यो ।
घरमा आमाबा चामल र मेरा आसमा पिँढीमा बसिरहनुभएको रहेछ । रित्तो धोक्रो देखेर आमाले सुस्केरा फाल्दै भन्नुभयो– ‘पीर नुमान भोकले अरू म-याझै हामी पुनि मरौँला । अजम्बरी कोईलाई नाई ।’ आमाका कुराले दिनभरि थकाइले गलेका मन झन् गले । आँखाले नसोधीकन आँसु निकाल्यो । आमाको नजिकै टासिएँ, आमाले बुवातिर हेरेर ‘भोलिकन उठेर खलङ्गा जानुपडो दुवैजना अनि कानको रिङ्ग बेचेर पिठो, नुन र तुमीकन कापीकलम ल्याउनु पडो’ भन्दै आमाले आफ्ना कानका रिङ छाम्दै भन्नुभयो । बाले आमालाई ‘तुमीकन माइतीले दियाको गहना हो नबेचौँ तो त तुम्मे पेवा हो’ भनेर बाले आमालाई भन्न नपाउँदै आमाले रिन काटेर र भोकै बस्नुभन्दा सुन बेच्नु ठीक कनौदा रिङ लाईकन पेट भोकै राखी जितिन्या होइन’ भन्दै भित्र पस्नुभयो । सबैले बेलुकाको खाना खाई खल्याकाखुलुक सकेर मलाई अँगेनाबाट मकैको भात तरकारी पस्किदिनु भयो । भिजेका लुगा फेरेँ । पानी बेस्सरी पर्दैथियो । आमाले यो रगत पनि कति परेको भनी पानीलाई गाली गर्नुभयो ।
दिउँसैदेखि परेको मुसलधारे पानी रात छिप्पिसक्दासम्म पनि परेकोप-यै थियो । कर्णाली सुसाएको राक्षसजस्तो सुनिन्थ्यो । मानौँ यसरी सुसाएको कर्णाली मेरै घरको सुरमा सुसाएझै लाग्दथ्यो । दिनभरिको थकाइमा तातो अन्न पेटमा परेपछि म आफ्नो ताँडमा सुत्न गएँ । बा आमा पनि आफ्नाआफ्ना ताँडमा सुत्नुभयो । मध्यरात कटिसकेको थियो होला गाउँको हल्लाखल्लाले मेरा आँखा खुलेर म झसङ्ग झस्किएँ ।
‘लौ न के भयो ? केको हल्ला हो’ भनी ताँडबाट खुट्टा तल झार्दा खुट्टा पूरै पानीमा चुर्लुम्म डुब्यो । ‘लौ ए घरभित्र पानी, ए आमा, बा !’ अब म पनि कराउन थालेँ । आमा, बा र म अत्तालियौँ । ‘दे कर्णाली बौलायो, अब उठिबास गर्याउन्या भयो’ भनी बा चिच्याउन थाल्नुभयो । नभन्दै कर्णाली फराकिलो बगर छोडेर हाम्रो घरमाथि बग्न थाल्यो । हाम्रो देवता आज ठूलो शत्रु बन्यो । बा, आमा र म कता जाने, के गर्ने भनी आत्तियौँ । डरले खुट्टा काम्यो । मन गह्रौँ भयो । तीनजना नै मूल ठाम समातेर बस्यौँ । बाहिर झमझम परेको पानी सुसाएको कर्णाली, गाउँको हल्लाखल्ला, अँधेरी रात नजिकिएको मृत्यु एकै साथ देखियो । पानीको बहाव बढेर घुँडा मास्तिर आइसक्यो । पूर्वीकी आमा जोडले ‘गुहार–गुहार !’ भन्दै चिच्याइरहेकी थिइन् । पूर्वीलाई केही भयो कि क्या हो ! म बतासिँदै दौडिन लागेँ । आमाले कमिजको फेरमा तान्दै ‘जानुपडेन तुमी, नभया मु आनिन्छउ’ भनेर तान्नुभयो । ‘लौ फिरी क्या आपत् आइपड्न्या हो गाउँमा’ भनी बिस्तारै गएर बाले दैलो खोल्नुभयो । दैलो खोल्दा चिसो हावा र पानी सँगै झन् धेरै भित्र आयो । बा आत्तिनुभयो र दैलो फेरि लगाउनुभयो । बाले ढोका खोलेपछि पानी झन् धेरै भित्र छि¥यो । बा आत्तिएर मूल थाममा समात्न आउनुभयो । बा खुट्टाले छप्ल्याङछप्ल्याङ आवाज निकाल्यो । हाम्रा घरका भाँडाकुँडा सबै पानीमा तैरिन थाले । दिनभरि जाँतो घुमाएर पिँधेको मकैको च्याँख्ला बचाउन आमाले हात लम्काउनुभयो तर सक्नुभएन । पानीको मात्रा बढ्दै थियो । हाम्रो कम्मरमा पानी आइसकेको थियो ।
यस्तैगरी पानी बढ्दै जाने हो भने अब केही घन्टामा हाम्रो टाउकोमाथि पानी बग्ने निश्चित छ । भाग्ने ठाउँ कहीँ छैन । बाहिर जताततै पानीपानी, कता जाने ? घरका भाँडाकुँडा, दाउरा मात्र हैन हामी सुत्ने ताँडका थाङ्ना अब सबै भिजिसके । आमा घरिघरि पानीलाई ‘रगतले किन आया छौ’ भनिरहनुहुन्थ्यो । माटोको घर अब कतिबेर थाम्न सक्ला र पानीको वेगलाई ।
हाम्रो एउटै कामना थियो– उज्यालो भइदेओेस् । उज्यालोमा ज्यान जोगाउन सकिएला । पानीको बहाव यति बढ्दै थियो, कर्णाली यसरी बौलाएको थियो । उसको सुसाइमा ‘तिमीहरूलाई लान्छ, खान्छ’ भनेझै भान हुन्थ्यो । तैपनि हामीले मूल थाम छोडेनौँ । के गर्ने, कहाँ जाने हामी सहाराविहीन । यस अन्धकार रातले हामी तीनजनालाई मात्र हैन सारा जुम्लेलीलाई तर्साइरह्यो ।
रात झन् छिप्पिदै गयो । पानी झन् पर्दै र बढ्दैथियो । एकैछिनमा गल्र्याम्म आवाज आयो । घरभित्र उज्यालो छि-यो । घरको पश्चिमतिरको सुर खस्यो र गोठमाथि प-यो । आमा चिच्याउनुभयो । अन्धकार रातमा बाको निधारमा पसिना टल्कियो । हामी एउटै पोको पर्यौं । पश्चिमतिरको सुर खसेपछि हाम्रो बाँच्ने आशा म-यो । बाहिर आँगनमै कर्णाली थियो । हामीले खुट्टा चलाउन सकेनौँ । भाग्ने साहस छैन । उज्यालो हुँदैगयो । बिहान भयो । तैपनि हामी बाहिर निस्कन सकेनौँ । बिहान नौ बजेतिर सेनाका एक जमात आए र हामीलाई बाढीपीडित भनी उद्दार गरे । तर हामी घरबारविहीन भइसकेका थियौँ ।

………………………………………..
(पुडासैनी विगत एक दशकदेखि गद्य र पद्य दुवै विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन्)
laxmipudsaini984@gmail.com