लिपिवद्ध गर्न बाँकी नै छ - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

लिपिवद्ध गर्न बाँकी नै छ

रमण घिमिरे

रमण घिमिरे

अतीतलाई नसम्झी भविष्यको मार्गदर्शन त्यति सजिलो हुँदैन । वर्तमान त क्षणिक हुन्छ । केही बोल्ना साथ, केही गर्ना साथ त्यो अतीत भइसकेको हुन्छ । वर्तमान निमेषमै अतीत हुन्छ । वास्तवमा वर्तमान हामीसँग कहिल्यै बाँकी रहँदैन । बाँकी रहन्छ त खालि अतीत अर्थात् विगत । त्यसैले हामीले अतीतको स्मृतिमा टेकेर भविष्यको निर्धारण गर्नुपर्छ ।

यही असार २९ गते हामीले आदिकवि भानुभक्त आचार्यलाई उनको २०७ औँ जन्मजयन्तीको छेक पारेर सम्झियौँ । उनका योगदान र जीवनका नयाँनयाँ पाटाहरूमाथि प्रकाश पार्ने प्रयत्न ग-यौँ । यस अभियानमा अक्षरङ्गलाई सघाउने ती सम्पूर्ण कलमधर्मीहरूप्रति हामी आभारी छौँ । यस अतीतको धरालतमा टेकेर हामी आगामी दिनमा साहित्य–कला–संस्कृतिका विगतलाई सम्झने कोसिस गर्नेछौँ । र, नेपाली साहित्य, कला र संस्कृतिको अथक साधना गरेर अमूल्य योगदान पु-याउने ती तमाम दिवङ्गत साधकहरू र तिनको योगदानलाई स्मरण गर्नेछौँ ।

भाषा, साहित्य र कला जीवनको अपरिहार्य पक्ष हुन् । जसरी शरीरबाट कुनै अङ्ग निकाल्यो भने शरीर अपाङ्ग हुन्छ । अपाङ्गो शरीरले सबै काम गर्न सक्तैन । भाषा, साहित्य, कला र संस्कृति मानिस बस्ने समाजका अभिन्न अङ्गहरू हुन् । एउटाको अभावमा अर्को अङ्गले जति नै सहयोग गरे पनि काम गर्न सक्तैन । हेर्नलाई आँखा, सुन्नलाई कान, हिँड्नलाई गोडा र सुँघ्नलाई नाक अनिवार्य हुन्छ । जसरी सबै अङ्गहरू मिलेर शरीर बन्छ्, त्यसरी नै भाषा, साहित्य, कला र संस्कृति एकाकार नभई समाज पूर्ण हुँदैन ।
भाषाले हामीलाई बोल्न र लेख्न सिकाउँछ । साहित्य र कलाले हाम्रा भावना र अभिव्यक्तिलाई प्रकाशमा ल्याउन सहयोग गर्छ । भनाइ नै छ– साहित्य र कलाविनाको मानिस पशुसमान हुन्छ । हो, यद्यपि भाषा जान्ने सबै साहित्यकार हुँदैनन् तथापि उनमा अव्यक्त अनुभूति हुन्छ । खेतमा हलो जोतिरहेका, कोदालो खनिरहेका या धान रोपिरहेका किसान दाजुभाइ–दिदीबहिनीमा पनि आफ्नो कामप्रतिको अनुभव र अनुभूति हुन्छ । उनीहरू त्यसलाई कागजमा उतार्न नसकेर मात्र सर्जक नभएका हुन् । काँधमा भारी बोकेर पहाड उक्लिरहेका भरियाहरूमा जति पहाडको सौन्दर्यचेत केही समय घुम्न आएका पर्यटकहरूमा हुँदैन । त्यहीँ जीवन बिताउने उनीहरूको मन–मस्तिष्कमा पहाडी–छटाको जुन रुमानी प्रगाढ सौन्दर्य अङ्कित भएको हुन्छ, त्यो घुमन्ते पर्यटकमा हुँदैन । त्यसैले किसान हुन् या भरिया– तिनीहरूले कलम र कुची समाउन नजानेकाले मात्र साहित्यकार र कलाकार नभएका हुन् । तर तिनीहरूको मनमा जुन प्रभाव हुन्छ– त्यो देखेर, सुनेर या केही समय डुलेर बटुलेको साहित्य–कलाभन्दा कता हो विस्तृत अनुभूति हुन्छ । त्यसैले लेखिने मात्र साहित्य होइन र क्यानभासमा पोतिने मात्र कला होइन । यद्यपि साहित्य र कलाले उद्घाटित हुन अक्षर र रङको सहयोग लिनैपर्छ ।

साहित्य बाटोबाटोमा हिँडिरहेको हुन्छ । भीडहरूमा चेपिँदै यात्रा गरिरहेको हुन्छ । कला फुसको छाप्रोभित्र अगेनोमा धुँवाइँदै गरेको चुल्होमा सोते फुकेर आगो बालिरहेकी गृहणीमा हुन्छ, धूँवा पुतपुताइरहेको छाप्रोको छानोमा हुन्छ । हामी यस्ता (अ) साहित्यकार र (अ) कलाकारहरूलाई पनि अभिव्यक्तिको साँघु बनाउन सक्छौँ ।

एक सय तेत्तीस भाषा बोलिने र यति नै संस्कृति झङ्कृत, दुश्याङ्कित हुने विशाल देशमा लेखेर नसकिने विषयवस्तुहरू छन्– हिमनदीका अजस्र, अविराम गतिजस्तै । हामी प्रायः सधैँ देखेका कुराहरूलाई मात्र शब्द या चित्रमा उतार्छौं तर खोजेर भेट्नुपर्ने, देख्नुपर्ने कुराहरूभित्र कति गहिराइसम्म पुग्न सकेका छौँ त ?

हामी जे जान्दछौँ भनिरहेका छौँ, त्यो सतही जानकारी हुनसक्छ । नदीको गहिराई माझीले मात्र थाहा पाउन सक्छ । त्योभन्दा गहिरो पिँधमा पुगेर बोध गर्नुपर्ने कुराहरू, दृश्य, भोगाइ र यथार्थहरू अझ सीमातीत छन् । त्यहाँसम्म हामी पुग्न सकेकै छैनौँ, सायद पुग्ने प्रयत्न पनि गरेका छैनौँ । तर पुग्नेहरू नभएका होइनन् । खालि हामीले तिनलाई पहिचान नगरेका मात्र हौँ ।
आदिकवि भानुभक्तको घाँसीलाई, कविशिरोमणि लेखनाथको गौँथलीलाई, महाकवि देवकोटाको मदनलाई, समको चिसो चुल्होलाई, रिमालको आमालाई या राष्ट्रकवि घिमिरेको पापिनी आमालाई के हामीले भेट्ने कोसिस गरेका छौँ । यी त पात्र हुन् र जसले त्यो नियति भोगे । तर आज पनि खोज्यो भने त्यो घाँसी, त्यो गौथली, त्यो मदन, त्यो चिसो चुल्हो, ती आमा, ती पापिने आमा अवश्य भेटिन सक्छन् । समय र परिस्थिति मात्र परिवर्तित भएको हो, पात्र र नियति त आज पनि ज्यूँका त्यूँ छन् । भोगाइ र अवस्था कहाँ परिवर्तित भएको छ । चेतनालाई जागा राख्नुपर्छ– घटना, पात्र र भोगाइ सादृश्य भएर हामीमाझ फुत्तफुत्त साक्षत्कार गर्न आउनेछन् । तिनलाई पनि हामीले लिपिवद्ध गर्न सक्नुपर्छ ।