• २०८१ माघ ९ बुधबार

तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौँ  ।

अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर तीन विधामा अन्तर्दृष्टि पुरस्कार २०८१ घोषणा गरिएको छ । देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र दुई विद्यार्थी छनोट गरिएको हो ।

पुरस्कार समितिका अनुसार यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार कास्कीको पोखरास्थित अमरसिंह माविका शिक्षक मुक्तिनाथ आचार्यलाई प्रदान गरिनेछ । शिक्षण सिकाइ क्रियाकलाप, सामाजिक व्यवहार, अपांगताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार बनाएर विद्यार्थीले आचार्यलाई छनोट गरेका हुन् । यस पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

अन्तर्दृष्टि हातेमालो पुरस्कार पनि सोही विद्यालयमा कक्षा १० का विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन् । दृष्टिविहीन विद्यार्थीले आफूसँग हातेमालो गरेका अपांगता नभएका विद्यार्थीको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानका आधार छनोट गरेअनुसार उनीहरूलाई प्रदान गर्ने निर्णय भएको हो । यस पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । यस्तै, १५ हजार रुपैयाँ राशिको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकार मोनिका वाइबालाई प्रदान गरिने समितिले जनाएको छ । पुरस्कारहरू वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।