उत्तम कुँवर रोएको त्यो साँझ - Aksharang
  • २०७७ असार २४ बुधबार

उत्तम कुँवर रोएको त्यो साँझ

हरि मञ्जुश्री

उत्तम कुँवर । नेपाली साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रका आदरणीय व्यक्तित्व । ‘रुपरेखा’ जस्तो ऐतिहासिक महŒवको साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक । उनी कुशल अन्तर्वार्ताकार, नियात्राकार, निबन्धकार । ‘स्रष्टा र साहित्य’ कृतिका कृतिकार । साहित्यिक पत्रकारिता क्षेत्रमा विशेष ख्यातिप्राप्त ।

धेरै वर्षपहिलेको कुरा । काठमाडौँ ढोकाटोलमा ‘रूपायन प्रेस’ थियो । त्यही प्रेसमा ‘रूपरेखा’ छापिन्थ्यो । ‘रूपरेखा’ को कार्यालय नै ‘रूपायन प्रेस’ थियो ।

‘रुपरेखा’ को कार्यालयमा स।हित्यकारहरू जम्मा भइरहन्थे । आफूले लेखेका नयाँ सिर्जनाहरू त्यहीँ बसेर सुनाउँथे कैयौँ साहित्यकारहरू । ‘रुपरेखा’ मा नै छापिन्थे नयाँ सिर्जनाहरू । कोठेगोष्ठीहरू पनि भइरहन्थे त्यहाँ । त्यस्ता गोष्ठीहरूमा विशेष गरी उतम कुँवर, बालमुकुन्ददेव पाण्डे ,शङ्कर लामीछाने, भूपी शेरचन, बासु शशी, हरिभक्त कटुवाल आदिको जमघट हुने गर्दथ्यो ।

एक साँंझ साथीहरू जम्मा भइसकेपछि कविताहरू सुनाउन थालियो । भूपी शेरचनको कविता सुनिसकेपछि उत्तम कुँवर बोले– ‘साँझको बेला होस्, झमझम पानी परेको होस्, आफ्नो अगाडि रक्सीको बोतल होस्, मात रमरम लागेको होस्, मधुरो प्रकाशमुनि उभिएर भूपीले कविता सुनाइरहेको होस्, त्यो क्षण कस्तो मादकतापूर्ण हुँदो हो !’

बालमुकुन्ददेव पाण्डेले थपे– ‘अँ, अनि त्यसमा हरिभक्त कटुवालको भावुक गीत र बासु शशीको पीडादायी जोक पनि थपियोस् ।’

त्यसै बेला ‘रुपरेखा’ को फाइनल प्रुफकापी ल्याएर कम्पोजिटरले उत्तम कुँवरको अगाडि राखिदियो ।

उत्तम कुँवरले कम्पोजिटरलाई भने– –भोलि पैसा तिर्ने गरी पसलबाट दुई तीन बोतल ‘श्री’ ल्याइदेऊ न, अनि चिउरा र दालमोट पनि ल्याउनु है ! ग्लास त यहाँ छँदै छन् । अँ, चुरोट ल्याउन नर्बिसनू नि !’
कम्पोजिटर ‘हस’ भनेर हिँड्यो ।

शङ्कर लामिछानेले सन्देशगृहबाट किनेर ल्याएको एउटा भारतीय पत्रिकाको समाचारको कुरो उठाए । एकछिन यताउतिका गफ गर्दै १–२ पृष्ठको प्रुफ हेर्दैमा कम्पोजिटरले सबै सामग्री ल्याइहाल्यो । अनि सुरु भयो सन्ध्याको रमझम, हाँसो–ठठ्ठा, कविता–टिप्पणी , आर्थिक पिरलोको चर्चा, सरकारको आलोचना, घरव्यवहारका कुरा, बजार भाउ, रक्सीभट्टी आदि धेरै बिषयतिर कुराहरू मेडिए ।

उत्तम कुँवरलाइ रक्सीको मात लाग्दैगयो । उनको टाउको झुम्न थाल्यो ।
शङ्कर लामिछाने बोले– ‘अचेल त उत्तमजीलाई रक्सीले खासै असर पारेको छैन । अलि अगाडिसम्म त अलिकति रक्सी खायो कि बिरामी भइहाल्ने ।’
‘हो अचेल केहि हुँदैन’, उत्तम कुँवर बोले– ‘यो सबै मैले गर्ने गरेको प्राणायमको कमाल हो । म एकदिन मदन पुस्तकालयमा पुगेको बेला कमलबाबुले प्राणायम गर्ने तरिका सिकाइदिनुभएको थियो । त्यही तरिकाले मलाई फाइदा पु-याएको छ । नत्र त म मरिहाल्थेँ नि ! कमलमणि दीक्षित त मेरा गुरु । मलाई बचाउनुभयो कमलबाबुले । म मरेको भए मेरो ‘रुपरेखा’ टुहुरो हुनेथियो ।’

त्यति भनिसकेका मात्र के थिए, उनी त रुन पो थाले । ‘यो ‘रुपरेखा’ त मेरो छोरो, यो पत्रिका त मेरो उत्तराधिकारी’ भन्दै उनले अघि भर्खर कम्पोजिटरले छाडेका फाइनल पु्रफकापीहरू उठाए र छातिमा टाँस्दै म्वाइ खान थाले । उनका आँखाबाट आँसु खसिरहेका थिए र आँसुले कागजका ती पानाहरूलाई भिजाइरहेका थिए । तर उनले त्यो थाहै पाएनन् ।
‘रुपरेखा’ पत्रिकाप्रतिको उत्तम कुँवरको त्यस्तो भावना त्यसरी प्रकट भएको भूपी शेरचनले त्यसअघि कहिल्यै देखेका र सुनेका थिएनन् । हुन पनि ‘रुपरेखा’ कै लागि उत्तम कुँवर दौडधुप गर्थे, खाइनखाई काम गर्थे , ऋण गरेर भए पनि ‘रुपरेखा’ निकाल्थे । त्यस बेला उनले गाडी किनिसकेका थिएनन् । कहिले पैदल त, कहिले रिक्सामा, कहिले बसमा त, कहिले ट्याक्सीमा, कहिले बिज्ञापनका लागि त, कहिले बिक्री–वितरणका लागि, कहिले लेखरचनाका लागी त, कहिले भुक्तानी लिनका लागि उनी दौडिरहन्थे । उनको जीवन नै ‘रुपरेखा’ मा अडिएको जस्तो गरेर उनी हतारिन्थे । त्यसैले भावुक बनेका क्षणमा ‘रुपरेखा’ प्रति त्यस्तो उद्गार निस्कनु स्वाभाविक पनि थियो ।

स्थिति असहज होला कि भन्ने डरले सहज बनाउन भूपी शेरचन बोले– ‘उत्तमजी ! यसका बिषयमा म पछि एउटा कविता लेख्छु । भन्नुहोस्, कस्तो कविता लेखौ ?’

‘उत्तम कुँवर र ‘रुपरेखा’ लाई बिषय बनाएर म पनि एउटा गीत लेखिदिन्छु । कुनै बेला रुपरेखा मा नै छापौँला’, – हरिभक्त कटुवाल बोले ।
भावुकताकै त्यस क्षणमा ‘रुपरेखा’ को फाइनल प्रुफकापीले आँसु र सिँगान पुछ्तै उत्तम कुँवर बोले– ‘भो नलेखिदिनुहोस् मेरो र ‘रुपरेखा’ को विषयमा कविता, गीत । साहित्यिक क्षेत्रका मान्छेहरू त्यसै त मलाई ‘लवी’ बनाएको भनेर आरोप लगाउँछन, त्यसमाथि झन् तपाईंहरूले मेरै विषयमा लेखिदिनुभयो भने त भन्ने बाटो पाउलान् उनीहरूले । मैले ‘रुपरेखा’ का लागि दौडधुप गरिरहनुपर्छ । तपाईंहरूजस्ता साहित्यकार साथीहरूसँग भेटघाट र छलफल गरिरहनुपर्छ, लेखरचना लिइरहनुपर्छ र छापिरहनुपर्छ, विज्ञापन उठाउन र भुत्तानी लिन गइरहनुपर्छ । पत्रिकाको विक्री र ग्राहक बढाउन दौडिरहनुपर्छ, पत्रिकालाई स्तरिय बनाउन साथीहरूसँंग सरसल्लाह गरिरहनुपर्छ । म आफँैले गर्नैपर्ने भएकाले यी कामहरू गर्छु । त्यसैले मलाई कहिल्यै फुसर्द हुँदैन र साथीभाइहरूको सम्पर्कमा पनि म बढी नै पुग्छु । त्यही सम्पर्क र सम्बन्धको कारणले गर्दा मलाई ‘लवी’ खडा गराएको भन्ने आरोप लगाउँछन् । नेपाली साहित्यक परिवेशमा ‘गु्रपिजम’ को परिपाटी मैले बसालिदिएँ रे ! साहित्यकारहरूको एउटै समूहलाई मैले टुक्रा–टुक्रा पारिदएँ रे ! यस्तो आरोप लगाएका छन्, ममाथि केही साहित्यकारहरूले ।’

बोल्दाबोल्दै उत्तम कुँवर भक्कानिए । उनी बोल्न छाडे र क्वाँ–क्वाँ रुन थाले । उनी संवेदनशीलताको चरम अवस्थामै पुगिसकेका थिए । शङ्कर लामिछाने उनलाई सम्झाउन थाले । बालमुकुन्ददेव पाण्डे पनि उनलाई सम्झाउन थाले । तर उनको रुवाई रोकिएन । टेबलमा घोप्टो परेर उनी निकै बेर रोइरहे । सबैलाई नराम्रो लाग्यो । नेपाली साहित्यको उत्थानका लागि मरिहत्ते गर्ने र साहित्यिक पत्रकारिताको विकासका लागि मरिमेट्ने व्यक्तिको त्यस्तो हृृदयलाई व्यथित बनाइदियो । सबैजना उदास बने ।

केही बेरपछि उत्तम कुँवरले टाउको उठाए र ग्लासमा बाँकी रहेको रक्सी एकै सासमा स्वाट्ट रित्याए, अनि आँसु पुछ्तै बोले– ‘मलाई धेरै माया नगरिदिनुहोस् साथी हो ! साथीहरूको माया पाउँदा मैले ‘लबी’ खडा गरिएको आरोप लाग्ने हो भने बरु म साथीहरूको माया पनि चाहिन्नँ । म ‘ग्रुपिजम’ मा विश्वास नगर्ने मान्छे हुँदाहुँदै पनि साथीहरूको माया पाएकै कारणले मैले ‘ग्रुपिजम’ गरेको आरोप खानुपरेको छ । किन लेख्ने मेरो र मेरो छोरो ‘रुपरेखा’ का विषयमा कविता र गीत ? किन माया गर्ने मलाई ?’
उत्तम कुँवर फेरि गम्भीर बने । रक्सी केही बाँकी थियो बोतलमा, तर चिउरा र दालमोठ सिनित्तै भइसकेको थियो । त्यसैले उठ्ने विचार गरी उत्तम कुँवरले चुरोट सल्काए । त्यसै बेला कम्पोजिटर आएर सोध्योे– ‘राति बसेर छाप्ने विचार गरेको छु, प्रुफ हेरिसकियो सर ?’

उत्तम कुँवरले टेबलमा यसो हेरे– फाइनल प्रुफकापी त आँसु र सिँगान पुछ्न, हात पुछ्न, चिउरा र दालमोठ राख्न, अनि चुरोटको खरानी झार्न पो प्रयोग भएको रहेछ ।
साभार: अनेक पृष्ठ अनेक प्रसङ्ग