काठमाडौं ।
राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक समारोहका बीच बेलायत निवासी कवि दुर्गा ढकालको कविता कृति ‘अक्षरको परकम्पन’ सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि तथा साहित्यकार सुमन वर्षाले कृतिभित्रको कवितावाचन गरेर स्वागत गर्नुभएको थियो । लोकार्पित कृतिमाथि प्रा. डा. रमेश भट्टराई र डा. शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी राख्नु भएको थियो ।
कवि दुर्गा ढकालकी छोरी नेहा ढकालले ‘अक्षर देवता’ शीर्षकको कवितावाचन गर्नुभएको थियो । कार्यक्रममा प्रा. डा. सुरेन्द्र के.सी. तथा साहित्यकार युवराज नयाँघरेले शुभकामना मन्तव्य राख्दै कृतिकारको लेखन समय सापेक्ष रहेको र आगामी कृति अझ सशक्त बनेर आओस् भन्ने धारणा राख्नु भएको थियो ।
प्रमुख अतिथि उप्रेतीले दुर्गा ढकालको कृति लय चेतना, लोक संस्कृति र जीवन जगतका भएकाले कृति सफलताको शुभकामना दिँदै विदेशमा रहेर पनि नेपालीभाषा तथा साहित्यप्रतिको रुचि रहनु देश प्रतिको माया हो भन्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे सभापतित्वमा भएको थियो ।