• २०८१ श्रावाण ३ बिहीबार

“उत्तरवर्ती उपन्यास: प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ÷नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित “उत्तरवर्ती उपन्यास ः प्रवृत्ति र चुनौती” विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गर्नुभयो ।

समालोचक डा. अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभयो । यस अवसरमा उहाँले उत्तरवर्ती उपन्यासबाट प्रस्फुटित नारीवादी चेतना, जनजातिमा आएको चेतना, वर्गीय विभेद, जातीय छुवाछुत, सांस्कृतिक विविधता, मधेसी चेतनाको सौन्दर्य, विधाभञ्जन तथा विधामिश्रण, आञ्चलिकता, महामारी र प्रलय, जनजातिको चेतना, सूत्रात्मक, दृष्टिकोण विन्दुको स्थानान्तरण, स्वैरकाल्पनिक, मार्क्सवादी र नवमार्क्सवादी चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

यसैगरी कार्यपत्रमा उपन्यास लेखनको बढ्दो चुनौती भूमण्डलीकरण, सञ्चार तथा सूचना प्रविधि, पहिचानका बारेमा सजगता अपनाउँदै उपन्यास लेख्नुपर्ने र एकपक्षले उपन्यास लेख्दा अर्को पक्षलाई चोट पुग्नु नहुने, अधिकारको खोजीमा देश, स्वत्व र पहिचान, भौगोलिक विभेद स्थानीयता, मार्क्सवादी उपन्यासमा देखिएको विचलन, सौन्दर्य, कुरूपता, भर्चुअल संसारबारे उपन्यास लेखिनुपर्ने थप धारणा कार्यपत्रमा आएको छ । यस्तै नेपाली उपन्यासको मौलिकता र राष्ट्रियतालाई ओझेलमा नपारी उदासीनताबारे पनि उपन्यास लेख्न सक्नुपर्ने कार्यपत्र प्रस्तोता डा. अम्बिका अर्यालले बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिन्छ । माक्र्सवादी उपन्यासले यथार्थको प्रकटीकरण गर्दछ । साथै, उपन्यासमा वर्ग सङ्घर्ष र जनयुद्धको सौन्दर्यकरण गर्नु भनेको माक्र्सवादी दृष्टिकोण राख्नु हो भन्नुभयो । यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्दछ भन्नुभयो ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव )ले स्वागत तथा उद्घोषणका क्रममा नेपाली उपन्यासमा देखिएका अनेकौँ प्रवृत्तिको चरणबद्ध अध्ययन र अनुसन्धान हुनुपर्ने र त्यसले मात्रै सैद्धान्तिक निखार र प्रस्टता आउने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रकाश तिवारीले उपन्यासकारले अरूका कुरा पनि भन्न सक्छ र आवाजविहीनका आवाजलाई पनि बोक्न सक्छ भन्नुभयो ।

यसैगरी कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा डा मोहनप्रसाद लोहनीले उपन्यासको उत्तरवर्ती क्षेत्र असीमित छ, तापनि नेपाली उपन्यासले समाजका विषयलाई चासो दिए पनि समसामयिकतामा केही उदासिनता राखेको जनाउनुभयो । यस्तै कार्यक्रमका सहभागी वामदेव अधिकारीले भन्नुभयो, ‘स्रष्टाहरूले विविध विषयमा उपन्यास लेखेको कुरा आयो । कार्यपत्रले जनयुद्धको सौन्दर्यकरण र विद्रुपीकरण दुवैको चर्चा गर्छ तर खास कर्तव्यका लागि उपन्यासकारले के गर्नुपर्छ भन्ने उल्लेख छैन ।’

अर्का सहभागी षडानन्द पौडेलले कतिपय आञ्चलिकता भनिएका उपन्यासमा आञ्चलिकताको विशेषता नै नभएको तथा आञ्चलिकता हुनलाई समग्र विशेषता आउनुपर्छ भन्नुभयो । यस्तै यज्ञेश्वर निरौलाले मार्क्सवादी र गैरमार्क्सवादी उपन्यासकारका उत्तरवर्ती चरणलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । यसैगरी सरोजदिलु विश्वकर्माले उपन्यास हो भन्दैमा उपन्यास हुन्छ भन्न सकिँदैन । जसका लागि सैद्धान्तिक प्रष्टता हुनुपर्छ र अधिकारको कुरा आउँदैमा कोही तर्सिनु नहुने बताउनुभयो ।

प्रस्तुत गोष्ठीका सहभागी डा. जीवन श्रेष्ठले यथार्थ, सामाजिक र जातीय पृष्ठभूमिको उपन्यास लेखन जनयुद्धको प्रभाव हो । जसमा सैद्धान्तिक र व्यावहारिक विषयका दृष्टिकोणले माओवादी जनयुद्ध र उत्तरआधुनिकताको असर प्रष्ट छ भन्नुभयो । यसैगरी सिर्जनशील लेखन समाजका अध्यक्ष प्रा डा राजनप्रसाद पोखरेलले उत्तरवर्ती उपन्यास: प्रवृत्ति र चुनौती विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको समापन गर्दै चरणबद्ध उपन्यासका विविध पक्षलाई केलाउने प्रयास गरेको बताउनुभयो । उहाँले मार्क्सवादी आन्दोलन र अभियानले सत्ता प्राप्ति गरे पनि आंशिक उपलब्धि मात्र भएको र यसको स्वरूप र चित्रण पनि उपन्यासमा आउनुपर्ने बताउनुभयो ।
यसैगरी उहाँले नेपाली साहित्यका उत्कृष्ट कृतिको अनुवाद गरेर विश्व बजारमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।