मैथिली कविता
काठमाडौँ, असार १४ ।
जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले सांस्कृतिककर्मी तथा कवि भीम कुमाखीलाई संयोजक र अष्ट लामालाई सहसंयोजकमा चयन गर्दै ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति र ४५ सदस्यीय प्राज्ञिक परामर्श समितिसमेत गठन गरेको छ ।
सम्मेलनका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । प्रमुख अतिथि नेपालले नेपाली कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक जस्तो देखिए पनि नयाँ उत्साहका साथ अघि बढ्दै देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो। उहाँले कम्युनिस्टहरू आमूल परिवर्तनका संवाहक भएकोमा जोड दिँदै आन्दोलनभित्र देखा परेका अराजकता र कमजोरीबाट सचेत र सजग रहनुपर्ने विचार व्यक्त गर्नुभयो।उहाँले पार्टी र सङ्गठन प्रति नयाँ पुस्तालाई विचारको आन्दोलनमा लाग्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्य संयोजन समितिका सदस्य गङ्गानारायण श्रेष्ठले कम्युनिस्ट आन्दोलन ,विश्व समाजवादी संस्कृति र नेपाली समाजवादी संस्कृति अहिले रक्षात्मक अवस्थामा पुगेको बताउँदै त्यसलाई प्रभावकारी र आक्रमक दिशातर्फ अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।उहाँले कला, साहित्य र संस्कृति सामाजिक परिवर्तनको महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । सम्मेलनमा महासङ्घका इन्चार्ज चिरन पुनले विधान तथा प्रतिबद्धतापत्र प्रस्तुत गर्दै अबको प्रगतिशील सांस्कृतिक अभियान चारैतिर धारिलो ’चौमुखे’ तरवार जस्तै भएर उठ्नुपर्ने बताउनुभयो । महासङ्घका सहइन्चार्ज उदय श्रेष्ठले स्वागत मनतव्यका क्रममा प्रगतिशील सांस्कृतिक आन्दोलनको ऐतिहासिक पक्षको चित्रण गर्दै टुटफुटबाट भन्दा पनि एकताबाट नै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई उचाइमा पुर्याउन सकिने बताउनुभयो ।
सम्मेलनमा जनसांस्कृतिक महासङ्घका पूर्व इन्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेल आदिले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो।साथै, नवनिर्वाचित महासङ्घका संयोजक भीम कुमाखीले लेखक र कलाकारहरूको एकता प्रकृयालाई सार्थक बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको छ।
सम्मेलनमा कलाकारहरू उदय श्रेष्ठ ,झङ्कार बुढा,कर्ण विद्रोही ,धनु ज्ञयामी,दीपक राई ,एलिना, डम्बर रोकाया , पुजा श्रेष्ठलगायतले गीत प्रस्तुत गर्नुभयो भने कवि राजाराम राउतले कविता सुनाउनुभयो। जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य कुस्मा महरा ’प्रगति’ले कार्यक्रमको उद्घोषण गर्नुभयो । साथै जनसांस्कृतिक अभियान र आन्दोलनलाई आत्मसात् गरिएका गीत र कविताले सम्मेलनमा नयाँ रौनक थपिरह्यो।संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरोणोपरान्त सम्मान समर्पण गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घको २०ओैँ वार्षिकोत्सव सम्पन्न ।

काठमाडौँ । २०८३ असार १३ गते शनिवार ।
नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस, राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ। प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि भट्टराईले सङ्घका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरोणोपरान्त राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३द्वारा सम्मानित गर्नुभयो । कार्यक्रममा कीर्तिशेष श्रीमान् नकुल सिलवाल प्रति समर्पित कविता वाचनसहित उक्त सम्मान जीवनसङ्गीनी सुनिता सिलवालले ग्रहण गर्नुभयो।२०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवाल २०७३सालमा कीर्तिशेष हुनुभएको हो। नेपाली साहित्यिक पत्रकारितामा सिलवालद्वारा सम्पादित ’बगर’ र’नदी’ उत्कृष्ट साहित्यिक पत्रिकाका रूपमा परिचित छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष सिलवाल साहित्य गुठीको संयोजक र बगर फाउन्डेसनको अध्यक्ष समेत हुनुभयो।दर्जन साहित्यिक कृतिका सर्जक सिलवालले विभिन्न पुरस्कार र सम्मानसमेत स्थापना गर्नुभएको हो ।
नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखाका संस्थापक अध्यक्ष तथा ’सङ्गम’ साहित्यिक पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई ’राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान’–२०८३,र मातृभाषा साहित्यिक पत्रकारिताका अभियन्ता तथा बान्तावा राईभाषाको साहित्यिक पत्रिका ’बुङ्वाखा’का सम्पादक पदमकुमार राईलाई ’राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान’–२०८३ प्रमुख अतिथि भट्टराईले समर्पण गर्नुभयो। साथै,सङ्घका अध्यक्ष मोहन दुवालले सम्मानित साहित्यिक पत्रकारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले साहित्यिक पत्रपत्रिकाको इतिहासलाई जीवन्त राख्दै प्रविधिमैत्री इ–साहित्यिक पत्रकारिताको प्रभावसँगै अघि बढ्न जोड दिनुभयो। विशिष्ट अतिथि ,समालोचक तथा अनुसन्धाता कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास,महत्त्व र आरोहअवरोहबारे मनतव्य प्रस्तुत गर्नुभयो । त्यस्तै , इ–साहित्यिक पत्रकारिताको इतिहास ,वर्तमान आवश्यकता र ओैचित्यबारे साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले प्रष्ट पार्नुभयो । सम्मानित व्यक्तित्वहरू सिलवालका बारेमा सङ्घका उपमहासचिव नवराज रिजाल,सुमित्रा सुमीका बारेमा सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजू र पदमकुमार राईका बारेमा सङ्घका सचिवालय सदस्य गणेश राईले उजागर गर्नुभयो । सङ्घका अध्यक्ष मोहन दुवालले छापा र इ–साहित्यिक पत्रकारितालाई समेटेको बताउँदै आगामी दिनमा झन् प्रभावकारी योजनाका साथ अघि बढ्ने बताउनुभयो।यसैगरी,सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले
स्वागत मनतव्य ,
केन्द्रीय सदस्य यादव भट्टराई र पूर्व उपसचिव केदारकुमार सिलवालले आआफ्नो मनतव्य राख्नुभयो । यसैगरी केन्द्रीय सदस्य अध्यापक डा.शैलेन्दुप्रकाश नेपालले धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रमको उद्घोषण महासचिव चेतनाथ धमलाले गर्नुभयो ।
