• २०८३ मंसिर ९, मंगलवार

‘तिम्रै हुन खोज्दै छु म’ म्युजिक भिडियो सार्वजनिक

इलाम ।

कलाकार सन्देश खड्का र सञ्जिता धिमालको अभिनय रहेको म्युजिक भिडियो ‘तिम्रै हुन खोज्दै छु म’ सार्वजनिक भएको छ। एचकेआर इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको उक्त गीतमा दिनेश मण्डुको शब्द, ताराबिर पाण्डेको सङ्गीत तथा नन्दु गुरुङको स्वर रहेको छ ।

एचकेआर प्रोडक्सन हाउसका प्रोप्राइटर हिकेस राईले भिडियोको निर्देशन, छायाङ्कन तथा सम्पादन गरेका हुन्। प्रेम र रोमान्सलाई मुख्य विषयवस्तु बनाइएको गीतले नेपाली सङ्गीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

गीतको भिडियो इलामका पर्यटकीय क्षेत्र जौबारी, मेघमा र नयाँबजारलगायतका स्थानमा छायाङ्कन गरिएको निर्देशक राईले जानकारी दिए । इलामको प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई भिडियोमा समेटिएको छ । सूर्योदय नगरपालिका–१ निवासी सन्देश खड्काले यसै भिडियोमार्फत पहिलोपटक अभिनय क्षेत्रमा प्रवेश गरेका हुन्। सञ्चार क्षेत्रमा समेत सक्रिय खड्का इलाम खबर डटकमका संवाददाता तथा प्रेस चौतारी नेपाल, इलामका कार्यसमिति सदस्य हुन् ।

अभिनेत्री सञ्जिता धिमालले भने यसअघि विभिन्न म्युजिक भिडियो तथा हास्य टेलिशृङ्खलामा अभिनय गरिसकेकी छन् ।