लघुकथा
काठमाडौँ ।
सितारवादक तथा हाइकुकार विजया शर्माको दोस्रो साहित्यिक कृति ‘सितारका झङ्कार’ (सुसेली तथा हाइकु सङ्ग्रह) लोकार्पण गरिएको छ। मञ्जुश्री साहित्यिक समाजको संयोजन तथा शर्मा परिवारको आयोजनामा काठमाडौँको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा आयोजित विशेष समारोहमा उक्त कृति लोकार्पण गरिएको हो । समाजका अध्यक्ष डा. बमबहादुर थापा ‘जिताली’को सभापतित्व तथा वरिष्ठ साहित्यकार प्राध्यापक रामकुमार पाँडेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोकगायिका चन्द्रकला शाह, लेखिकाकी छोरी डा. बानु शर्मा, नाति रोहित तथा नातिनीहरू निहारिका र बिनले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रममा श्रद्धा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रमुख अतिथि पाँडेले ८४ वर्षको उमेरमा पनि शर्मा नेपाली हाइकु लेखनमा सक्रिय रहनु प्रेरणादायी साधना भएको बताए। उनले शर्मालाई नेपाली हाइकु लेखनको इतिहासमा अग्रणी महिला हाइकुकारका रूपमा चर्चा गर्दै ८१ वर्षको उमेरमा पहिलो कृति ‘विजया शर्माका सिर्जना’ (हाइकु तथा ताँकामाला) प्रकाशित गरेपछि दोस्रो कृतिसमेत पाठकमाझ ल्याउन सफल हुनु साहित्यप्रतिको निरन्तर समर्पणको उदाहरण भएको उल्लेख गरे । हाइकु विधाको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै पाँडेले वि.सं. २०१७ मा शङ्कर लामिछानेमार्फत नेपालमा हाइकु भित्रिएको स्मरण गरे। जापानबाट सुरु भएको १७ अक्षरमा संरचित यस विधाले विश्व साहित्यमा लोकप्रियता हासिल गरेको बताउँदै उनले हाइकुमा ऋतु विम्ब, सूक्ष्म अवलोकन, गहिरो दृष्टि र उच्च चेतनाको अभिव्यक्ति हुने धारणा राखे। सो अवसरमा उनले जापानी प्रतियोगितामा प्रथम भएको आफ्नो सिर्जनासहित तीनवटा हाइकु वाचन गरेका थिए ।
कार्यक्रमका सभापति तथा प्रकाशन संस्थाका तर्फबाट डा. जितालीले ‘विजया शर्माका सिर्जना’ पहिलो कृति २०८१ सालमा मञ्जुश्री साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको जानकारी दिँदै दोस्रो कृतिका रूपमा ‘सितारका झङ्कार’ प्रकाशन गर्न पाउनु सुखद संयोग भएको बताए । उनले साहित्य र सङ्गीतको सुन्दर संयोजनका रूपमा रहेको कृतिको सफलताको कामना गर्दै उपस्थित सबैप्रति आभार व्यक्त गरे। लेखिकाकी छोरी डा. बानु शर्माले पनि विमोचित कृतिमाथि प्रकाश पारेकी थिइन् । साहित्यिक विमोचनसँगै सङ्गीत प्रस्तुतिसमेत समावेश गरिएको कार्यक्रममा डा.सागर प्रसाईँले प्रसिद्ध तबलावादक डा. निशिकान्त सोनवलकरको परिचय प्रस्तुत गरेका थिए । त्यसपछि सोनवलकरले नेपाली तथा भारतीय गीतका धुनमा तबला वादन प्रस्तुत गरेका थिए भने ईश्वरी उप्रेतीले सितार वादनमार्फत साथ दिएकी थिइन् । दुवै कलाकारको प्रस्तुतिले समारोहलाई सङ्गीतमय बनाएको थियो ।
शर्माका परिवारजन, इष्टमित्र तथा उल्लेख्य सङ्ख्यामा साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण डा. नील पाण्डेले गरेका थिए। ममता सोनवलकरले धन्यवाद ज्ञापन गरेसँगै समारोह समापन भएको थियो ।
नेपाली शास्त्रीय सङ्गीतमा ‘नेपालको शास्त्रीय सङ्गीतमा रागहरू’ तथा ‘राग सङ्गीत’ (अङ्ग्रेजी भाग १ र २) जस्ता कृति प्रकाशित गरिसकेकी शर्मा सितारविदुषीका रूपमा समेत परिचित छन् । सङ्गीत साधनासँगै हाइकु र सुसेली लेखनमा सक्रिय उनको ‘सितारका झङ्कार’ दोस्रो साहित्यिक कृति हो ।
