• २०८३ मंसिर ७, आईतवार

डा. महेशराज पन्तको नयाँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’ सार्वजनिक

काठमाडौँ ।

इतिहासकार डा. महेशराज पन्तको नयाँ पुस्तक ‘राणा ः काल, कर्ता र किताब’ सार्वजनिक भएको छ । इतिहास अध्ययन तथा त्रुटि सच्याउने संस्था संशोधन मण्डलका सदस्य एवं त्रैमासिक पत्रिका ‘पूर्णिमा’ का सम्पादक पन्तको यस कृतिमा राणा कालखण्डका विभिन्न पात्र र ऐतिहासिक पुस्तकहरूबारे मिहिन तथ्य, सूचना र विश्लेषण समेटिएको छ ।

कालिकास्थानस्थित पब्लिकेशन नेपालयको आरशालामा शुक्रबार आयोजित कार्यक्रममा प्रख्यात इतिहासकार, प्राज्ञ तथा संशोधन मण्डलका सदस्य दिनेशराज पन्तले विमोचित पुस्तकमाथि टिप्पणी गरे । कृतिको प्रामाणिकतामाथि प्रकाश पार्दै दिनेशराजले भने, ‘राणा शासनका बारेमा लेखिएको यो किताब प्रामाणिक छ । खोज, अनुसन्धानका लागि लेखकले मिहिनेत र पैसा पनि धेरै खर्च गर्नुभएको छ ।’

डा. पन्त नेपालका एक वरिष्ठ इतिहासविद्, संस्कृत वाङ्मयका अन्वेषक र प्रमाणका आधारमा इतिहास सच्याउने अभियानका प्रमुख अभियन्ता हुन् । उनका बुबा स्वर्गीय नयराज पन्तद्वारा राणाशासनकै बेला वि.सं. १९९७ मा सुरु गरिएको पाठशाला र संशोधन मण्डलको परम्पराअनुसार लेखिएको यो कृति नेपालको आधुनिक इतिहास बुझ्न चाहने पाठक तथा अध्येताहरूका लागि भरपर्दो स्रोत सामग्री मानिएको छ । २८१ पृष्ठको यस पुस्तकमा राणाकालीन इतिहासका केही अस्पष्ट पाटा, तत्कालीन पात्रहरूको भूमिका र त्यस समयसँग सम्बन्धित ग्रन्थहरूको तथ्यपरक विवेचना समेटिएको छ ।

कार्यक्रममा लेखक डा. पन्तले पुस्तक लेखन र अनुसन्धानका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाए । नेपालको इतिहास लेखनमा आफ्ना बुबा नयराजको योगदानलाई पटक–पटक स्मरण गरेका उनले अनुसन्धानका लागि कतैबाट सहयोग नमिलेको दुखेसोसमेत पोखे । पुस्तक विमोचनको शैली भने नौलो अपनाइएको थियो । प्रकाशक संस्थाका सम्पादक विमल आचार्यले औपचारिक विमोचन गर्नुअघि लेखकको इच्छाअनुसार दुई प्रति पुस्तक उपहार दिन लगाएका थिए । लेखक पन्तले समाज अध्येता तथा अनुसन्धानकर्ता प्रत्युष वन्त र इतिहासकार दिनेशराज पन्तलाई पुस्तक उपहार दिएपछि कृति विमोचन गरिएको थियो ।

पब्लिकेशन नेपालयले प्रकाशन गरेको ‘राणा ः काल, कर्ता र किताब’ को मूल्य ६७५ रुपैयाँ राखिएको छ ।