• २०८३ मंसिर ५, शुक्रबार

गजल

विद्यानन्द बेदर्दी

विद्यानन्द बेदर्दी

सपनाको आकाशमा शब्दको परी चल्छ
अहो ! कविको त जिन्दगी यसैगरी चल्छ ।

तिमी भन्छौ तिम्रो पानी चल्दैन मेरो गाउँमा
आखिर पानीले चल्ने बिजुली कसरी चल्छ ?

म सजिन्छु, तिम्रो माया चल्छ मेरो श्रृङ्गारमा
चल्न त बजारमा बढी, सुन अकबरी चल्छ ।

कलम बेचेर सुईं-गोटी किन्छन् युवाहरूले
यस्तै यस्तै कारणले यो देश सुस्तरी चल्छ ।

राजधानीमा घर हुनेका मनमा चल्छ विदेश
म राजधानी बस्नेको मनमा सप्तरी चल्छ ।

मलाई प्यारमा, दोधारमा वा अँगारमा राख
मन दिएँ, यो मनमाथि तिम्रै मनपरी चल्छ ।

बलिदानीको मोलभाउ गर्छन् मालिकहरूले
नसोच कि केवल सामानको तस्करी चल्छ ।।


अग्नीसाईर कृष्ण-सवरण-४, सप्तरी