• २०८१ भाद्र २४ सोमबार

आमा तिमी कहाँ कहाँ छौ ?

युवराज भण्डारी

युवराज भण्डारी

आमा तिमी कहाँ कहाँ छौ ?
सर्वत्र खोजेँ
मनभित्र
मनबाहिर
अनि खोजेँ
आँखाभित्र
आँखाबाहिर
सपनामा अनि विपनामा
जहाँतहीँ रहिछौ आमातिमी !
तर तिमी गएदेखि खोजिरहेछु
अहिलेसम्म भेटेको छैन आमा !

तिमी नभएको ठाउँ
तिमीविनाको अस्तित्व
तिमी नहुँदा
सम्झनामा अविरल आँसु बगाएँ
ती अश्रुहरूमा तिमी थियौ,
खोज्दाखोज्दै थाकेर सुस्ताउँदाको यो क्षण
मभित्र अविरल खुसी पनि
प्रवाहित हुन थालेको छ आमा
तिमीलाई हरेक किरणमा देखेर
तिमीलाई हरेक सासमा पाएर
तिमीलाई हर अस्तित्वमा भेट्टाएर
यो मनभित्र हर्षको नदी बग्दैछ आमा
किनभने यी खुसीहरूमा पनि
तिमी नै त छौ नि आमा !


(डुम्रिबेसी, तनहुँ निवासी भण्डारी विगत तीन दशकदेखि साहित्यसिर्जनामा सक्रिय स्रष्टा हुन् । उनको एक कविता कृति प्रकाशित छ ।)
[email protected]