• २०८३ मंसिर ५, शुक्रबार

नङरकोट

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

हरेक मान्छेको जीवनयात्रा आमा–बुवाबाटै सुरु हुन्छ । आमाले देखाएको अपार संसार बुवाको काँधमा बसेर सहजै हेरेको र नियालेको हुन्छ । सन्तानको सुखद भविष्य आमाबुबाको सपना पनि हो । बुवाको पाठशाला वृहत् हुन्छ, जहाँ चार लाख विद्या र चौध लाख चतु¥याइँको अध्ययन हुन्छ । बुवाबाट संस्कार सिकिन्छ र संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।

संस्कार र संस्कृति सम्झाउने, बुझाउने र सिकाउने विभिन्न पद्धति तथा प्रक्रिया हुन्छन्। कथा, कविता, सामान्य कुराकानी वा कुनै स्थानको भ्रमणबाट पनि सभ्यता र संस्कृतिबारे जानकारी प्राप्त गर्न सकिन्छ । त्यस्तै, एकपटक बुवासँग नङरमा रहेको भागेश्वर मन्दिर पुगेको थिएँ। त्यहाँको संस्कृति हाम्रा पुर्खाहरूसँग जोडिएको रहेछ । त्यसको परम्परा र पद्धतिबारे बुवाबाट सुन्न पाएँ। भागेश्वर मन्दिरको दर्शन गर्न जाँदा बाटोमा एउटा खण्डहर र भग्नावशेष देखियो। मैले जिज्ञासा राखेँ, “यो के रहेछ ? कसैको घर थियो कि ?” मेरो जिज्ञासा मेटाउँदै बुवाले भन्नुभयो, “यो राजा नागी मल्लको दरबार हो। त्यस्तै परिस्थिति आएपछि छोडेर गएका रहेछन् ।”

मध्यकालमा चायकोट नामको एउटा राज्य थियो, जहाँ चायपाल राजा थिए। राज्यको सीमा त्यति फराकिलो नभए पनि त्यो राज्य निकै महत्त्वपूर्ण र व्यवस्थित थियो। तेल्यालेकको दक्षिणतर्फको भागमा राज्यको एकछत्र अधिपत्य थियो । बामघाटमा तारउतार नाका, खिटकामा जगात र हाटगडामा हाटबजार थियो । राजा चायपालका छोरा परिवर्तनको हुटहुटी भएका र केही नयाँ काम गरिहालौँ भन्ने स्वभावका थिए । चायकोटबाटै राज्य सञ्चालन हुँदै आएको थियो । समयक्रमसँगै राज्यको सामरिक सुरक्षा, प्रशासनिक सुविधा र राजकीय प्रतिष्ठालाई ध्यानमा राखेर युवराजले एउटा नयाँ तथा भव्य दरबार निर्माण गर्ने इच्छा गरे ।

युवराजको योजनाअनुसार नयाँ कोटका लागि उपयुक्त स्थान खोज्ने काम सुरु भयो। कैयौँ पहाड हेरिए, कैयौँ फाँट छानिए। बस्तीबस्तीमा नयाँ कोट बन्ने चर्चा चल्यो । बुङा, थाउडा, थला, चौड र पातलहरू हेरिए। हेरिएका धेरै ठाउँमध्ये बुढानजिकैको स्थान उपयुक्त मानियो । त्यसैको नजिक नङर बसाइयो र नङरमै कोट निर्माणका लागि ठाउँ छनोट गरियो । राजकीय टोलीले उपयुक्त स्थानको खोजीमा धेरै डाँडाकाँडा, अग्ला थुम्का र रमणीय स्थलहरूको निरीक्षण ग¥यो। झन्डै सोह्रवटा स्थानको अध्ययनपछि उनीहरू नङर भन्ने ठाउँमा पुगे। अग्लो डाँडाको मध्यभागमा अवस्थित त्यो स्थान प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो । त्यहाँबाट चारैतिरका सुन्दर दृश्य देखिन्थे। टाढाटाढाका बस्ती, वनजङ्गल र आवतजावत गर्ने बाटाहरू प्रस्ट देखिन्थे। सामरिक दृष्टिले पनि त्यो स्थान निकै महत्त्वपूर्ण थियो ।

नङर आसपासका बासिन्दाहरूका लागि त्यो डाँडो केवल एउटा अग्लो भूभाग मात्र थिएन। त्यो उनीहरूको आस्था, परम्परा र सांस्कृतिक जीवनसँग गाँसिएको पवित्र स्थल थियो। त्यहाँ भागेश्वर महादेवको शिवालय थियो। देवताको पूजा, धार्मिक अनुष्ठान, जात्रा, सामाजिक भेला तथा अन्य सार्वजनिक सांस्कृतिक कार्यहरू त्यही स्थानमा सम्पन्न हुँदै आएका थिए । कोट निर्माण हुने निश्चित भएपछि स्थानीय अग्रजहरू युवराजसमक्ष उपस्थित भए। एकजना वृद्धले विनम्रतापूर्वक भने, “यो स्थान सार्वजनिक महत्त्वको स्थल हो। त्यसमाथि यहाँ हाम्रा आराध्यदेवको मूल थान पनि रहेको छ । त्यसैले यहाँ कोट बनाउन उचित हुँदैन। भागेश्वर हलिया र हाँक नसुन्ने, मलामीको डाँड नसुन्ने देवता हुनुहुन्छ । त्यसैले यहाँ नङर बसाउनु र कोट बनाउनु उचित छैन ।”

युवराजले तत्कालै प्रतिवाद गरे, “तिमीहरूका कुरा सुनें । तर राज्यको मालिक राजा हो। राज्यको सीमाभित्र पर्ने जमिनमाथि राजाको अधिकार हुन्छ । म ठूलो ठाकुर हुँ। एउटा सानो भागेश्वर देवताको नाम लिएर राजकीय निर्माण रोक्न मिल्दैन । मेरो राज्यमा मेरो निर्णय चल्छ ।” स्थानीय बासिन्दाहरूले पुनः सम्झाउने प्रयास गरे ।
“सरकार ! देवता सानो वा ठूलो भन्ने कुरा होइन। देवालय जनताको आस्थाको केन्द्र हो। राजाको शक्ति पनि प्रजाको विश्वास र धर्मको मर्यादाभित्र रहनुपर्छ। देवता प्रजाका लागि मात्र होइन, राजाका लागि पनि हुनुहुन्छ ।” तर युवराजले स्थानीयहरूको आग्रह स्वीकार गरेनन्। निर्माणकार्य सुरु गर्न आदेश दिए। दिनभरि जति निर्माणकार्य हुन्थ्यो, राति त्यति नै भत्किन्थ्यो । त्यसपछि युवराजले पहरा राख्न र कामदारहरूको सङ्ख्या दोब्बर बनाएर काम गराउन आदेश दिए ।

दोस्रो दिन दुई सय कामदार खटाइए । पहिलेभन्दा अझ व्यवस्थित ढङ्गले निर्माणकार्य गरियो। तर राति फेरि उस्तै भयो । दिउँसो बनाइएको संरचना बिहानसम्म ध्वस्त भइसकेको थियो। त्यसपछि कामदारहरूको सङ्ख्या बढाएर एक हजार पु¥याइयो। हजारौँ हातले बनाएको संरचना पनि रातारात फेरि भत्कियो ।
यसपटक युवराज केही चिन्तित भए ।
“यो कसरी सम्भव भयो ? यति धेरै मानिसले गरेको काम रातारात कसरी नष्ट हुन्छ? ” उनले प्रश्न गरे ।
त्यसपछि उनले अझ कठोर वचन बोले, “अब यो थान नै यहाँबाट हटाइदिन्छु। त्यसपछि कसैले निर्माण रोक्न सक्नेछैन । ” यति भनेर उनी शिवलिङ्गनजिक पुगे। उनले शिवलिङ्गलाई हातले समातेर तान्न खोजे । हातमा केही कमलो र चिसो वस्तुको स्पर्श महसुस भयो । तान्न खोज्दा त्यो लामो हुँदै सर्पको आकारमा निस्कन थाल्यो। युवराज झस्किए । बाहिर निस्किएको नागले फणा फिँजाएर युवराजतिर फर्कियो। जाज्वल्यमान नागमणि चम्किरहेको थियो। त्यो कहिले कालो सर्पको आकारमा त कहिले शिवलिङ्गकै स्वरूपमा देखिन थाल्यो ।

युवराजले त्यस दिन भगवान् नागस्वरूप भागेश्वर शिवको दिव्य दर्शन प्राप्त गरेको विश्वास गरे। नागस्वरूप भागेश्वरको दर्शन पाएपछि उनी नागमल्ल नामले प्रसिद्ध भए । राजकीय वैभव र शक्तिको घमण्ड बोकेर मन्दिर प्रवेश गरेका युवराज अब विनम्र भक्तका रूपमा भगवान्का चरणमा नतमस्तक थिए । उनले हात जोडेर भने, “हे भागेश्वर महादेव! आजदेखि मेरो कुलका कुनै पनि मानिस, मेरो कुलसँग सम्बन्धित कुनै पनि ठकुरी यस गाउँमा प्रवेश गर्नेछैन । यस गाउँमा कोही पनि घोडचढी भएर आउनेछैन । यो पवित्र स्थलको मर्यादा सदैव कायम रहनेछ ।” उनले थपे, “यस देवस्थानमा नियमित राजपूजाको व्यवस्था गरिनेछ । राज्यका तर्फबाट विधिपूर्वक निशान चढाइनेछ। भागेश्वर महादेवको पूजा र सम्मानमा राजकीय परम्परा स्थापित गरिनेछ ।” त्यसपछि युवराजले क्षमामन्त्रसहित भगवान् शिवको स्तुति गरे। वेदपाठ गराए। गङ्गोत्रीबाट जल मगाएर रुद्राभिषेक गराए । युवराजले अन्तिमपटक भागेश्वरको मन्दिरतर्फ फर्केर हात जोडे। उनको मुखबाट विनम्रतापूर्वक शब्द निस्किए, “म नानो ठाकुर नागी मल्ल राजा, तपाईं ठूलो देवता भागेश्वर !”

यति भन्दै उनले नङरको पवित्र भूमि छोडे । नङरकोट निर्माणको योजना त्यहीँ समाप्त भयो । बुवासँगै हेर्ने अवसर पाएको त्यो खण्डहर र भग्नावशेष नै नङरकोटको अवशेष रहेछ । यो ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको स्थल हो । अचम्मको कुरा, यहाँ अहिले पनि घोडाको प्रयोग निषेध रहेको छ। ठकुरीहरू यहाँ जाँदैनन् । कुनै कारणवश पुगिहाले पनि एक रात क्षमायाचना गर्दै बस्छन् र भोलिपल्ट बिहानै फर्किहाल्छन् ।


कैलासकुमार पाण्डेय, परशुराम–३, थपला, डडेल्धुरा