• २०८३ मंसिर ४, बिहीबार

भट्टराईद्वारा लिखित ’शिलाङ-तेजपुर-गुवाहाटी’ लोकार्पण

काठमाडौँ ।

प्रसिद्ध नेपाली लेखक तथा समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईद्वारा लखिति लेख र यात्रा अनुभवहरूको सँगालो ’शिलाङ-तेजपुर-गुवाहाटी’ भारतको आसामस्थित गुवाहाटीमा आयोजित ‘’वातावरणीय साहित्य: वर्तमान र भविष्यका सरोकार“ शीर्षकको अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीको उद्घाटन सत्रमा लोकार्पण गरिएको छ ।

कार्यक्रमका सभाध्यक्ष लक्ष्मी सुवेदी, प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई स्वयं, तथा विशिष्ट अतिथिहरू प्रा. दिलीप बोहरा र प्रा. डा. हरिप्रसाद शर्माले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । गुवाहाटी विश्वविद्यालय, आसाम, भारतस्थित नयाँ शैक्षिक भवनको सभाकक्षमा आयोजित उक्त कार्यक्रम नेपाली भाषा संस्कृति मञ्च, आसाम, र गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त गोष्ठीका उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

यसमा लेखकले पन्ध्र वर्षभन्दा लामो अवधिमा असम र मेघालयका विभिन्न स्थानको भ्रमणका क्रममा तयार पारेका यात्रा-संस्मरणहरू समेटेका छन् । यद्यपि यस कृतिमा अभिलिखित प्रमुख गतिविधिहरू शिलाङ, तेजपुर र गुवाहाटीमा केन्द्रित छन् । यो उनको उनको ८७औँ पुस्तक हो । यसमा असमिया लेखक मामोनी राइसाम गोस्वामी तथा भूपेन हजारिकाजस्ता प्रख्यात स्रष्टाहरूको परिचय समेटिएको छ । यो केवल विद्वत्तापूर्ण कार्यपत्रहरूको सङ्ग्रह मात्र होइन; असमिया संस्कृति, भूगोल, इतिहास र साहित्यिक स्वादको अभिलेखसमेत हो ।

यसमा अनेक प्रतिष्ठित लेखकहरूको परिचय प्रस्तुत गरिएको छ। इन्डो-आर्यन भाषा परिवारअन्तर्गत पर्ने आसामी र नेपाली भाषाले जोडेको हाम्रो आत्मीय सांस्कृतिक सम्बन्ध र समकालीन साहित्यिक सिर्जनाबीच सेतु निर्माण गर्ने यो पहिलो कृति हो । पुस्तकलाई सेरगेम प्रकाशन गृह, झापाले प्रकाशित गरेको हो । सोही कार्यक्रममा प्राध्यापक डाक्टर भट्टराईलाई ’नेपाली साहित्यका प्रज्ञापुरुष’ उपाधिसहित सम्मान पनि गरिएको थियो ।