समाचार
काठमाडौँ ।
सल्यान र रुकुमका विभिन्न क्षेत्रमा प्रचलनमा रहेका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’ विमोचन गरिएको छ । लेखक तथा पत्रकार हिरालाल केसीद्वारा लिखित पुस्तक शारदा नगरपालिका–१, श्रीनगरमा प्रतिनिधिसभा सदस्य रमेश मल्ल र सल्यानका प्रमुख जिल्ला अधिकारी वन्धना केसिले विमोचन गरेका हुन् ।
हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक केसीले बताए। त्यसका लागि गाउँगाउँ पुगेर अग्रज पुस्तासँग संवाद गर्दै उनीहरूले प्रयोग गर्ने र स्थानीय जनजीवनमा प्रचलित शब्दहरू सङ्कलन गरिएको उनले जानकारी दिए । तीन महिनाको अवधिमा पुस्तक तयार पारिएको उनको भनाइ छ । पुस्तकमा सल्यानका दार्मा र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका साथै रुकुमका त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिमा प्रचलनमा रहेका मौलिक शब्द समेटिएका छन् । स्थानीय भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिहरूलाई पुस्तकमा सङ्ग्रह गरिएको छ ।
पुस्तक विमोचन गर्दै प्रतिनिधिसभा सदस्य मल्लले मौलिक भाषा संरक्षणका लागि सबैले चासो दिनुपर्ने बताए। विशेषगरी युवा पुस्ताले स्थानीय भाषाको संरक्षणमा रुचि देखाउनुपर्ने उनको भनाइ थियो । स्थानीय मौलिक भाषालाई जीवन्त राख्न सके मात्रै भावी पुस्ताले आफ्नो भाषिक पहिचान र पुर्खाले प्रयोग गर्दै आएका शब्दबारे जानकारी पाउने उनले बताए ।
