• २०८३ मंसिर २, मंगलवार

राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’ सार्वजनिक

काठमाडौँ  ।

क्यानाडाको स्काब्र्रोमा आयोजित एक समारोहबीच गजलकार राजन पौडेलको नयाँ गजलसङ्ग्रह ‘सपनाको बादल’ सार्वजनिक गरिएको छ। फिष्टेल स्पोर्टस क्लब र फिष्टेल इन्भेष्टमेन्ट ग्रुपको संयुक्त आयोजनामा शनिबार द हबको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली साहित्य समाज क्यानाडाका अध्यक्ष मोहन खरेलले सङ्ग्रहको विमोचन गर्नुभएको थियो। यो पौडेलको दोस्रो साहित्यिक कृति हो ।

क्यानाडामा रहेर नेपाली साहित्य सिर्जनामा सक्रिय पौडेलको यसअघि ‘अनिदो मन’ मुक्तकसङ्ग्रह प्रकाशित भइसकेको छ। नयाँ गजलसङ्ग्रहमा समेटिएका १० वटा गजल पौडेलले कार्यक्रममा स्वयं वाचन गर्नुभएको थियो।
विमोचनपछि आयोजित समीक्षात्मक सत्रमा वक्ताहरूले कृतिमा समेटिएका गजलको भावभूमि, शिल्प, साङ्गीतिकता र विषयगत सान्दर्भिकताबारे चर्चा गरेका थिए। कृतिमाथि धारणा राख्नेहरूमा फिष्टेल इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष अनन्त गौतम, टिएनएससीका पूर्व अध्यक्ष तथा साहित्यकार रविन्द्र लम्साल, मेपल स्टुडियोका प्रबन्ध निर्देशक बालकृष्ण ढकाल, चितवन सोसाइटी क्यानाडाका निवर्तमान अध्यक्ष डा. कञ्चन देवकोटा, एनसीसीएसका सञ्चालक समिति सदस्य खगेन्द्र कँडेल र सुरेश गौतम रहेका थिए।

त्यसैगरी, प्राध्यापक तथा नेपाली साहित्य समाज क्यानाडाका पूर्वअध्यक्ष डा. खेम गुरागाईं, वरिष्ठ साहित्यकार डा. गोविन्द सिंह रावत, एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटा र टीएनएससीका अध्यक्ष कर्ण बटालाले शुभकामना मन्तव्य राख्दै गजलकार पौडेललाई साहित्य सिर्जनामा निरन्तर लागिरहन प्रोत्साहित गरेका थिए । कार्यक्रममा एनसीसीएसका चियरम्यान विमल बस्नेत, श्याम श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो । साहित्यकार डा. गोविन्द सिंह रावतका अनुसार क्यानाडाको भूमिमा नेपाली स्रष्टाद्वारा लेखिएको र विमोचित भएको यो ६१औँ कृति हो। गजलसङ्ग्रहको विधागत गणनामा भने ‘सपनाको बादल’ तेस्रो कृति रहेको उहाँले जानकारी दिनुभयो । फिष्टेल स्पोर्टस क्लबका अध्यक्ष शैलेन्द्र बर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम क्लबका सचिव कृष्ण पौडेलले सञ्चालन गर्नुभएको थियो ।