• २०८३ भाद्र १२, शुक्रबार

कसैले भन्यो !!

सुशिला शर्मा शिलु

सुशिला शर्मा शिलु

कसैले भन्यो,
तिम्रो आँखा कति चम्कदार !
मैले मनमनै भनेँ
वर्षा धेरै परेर खुलेपछि
आकाश उज्यालो हुँदैन त ?

कसैले भन्यो,
तिम्रो मन कति सफा !
मैले मनमनै भनेँ-
हजारौँ पटक माझिएको
गाग्रो चम्किलो हुँदैन त ?

कसैले भन्यो,
तिम्रो शब्द कति गहिरो !
मैले भनेँ
आफ्नैले आफ्नो बनेर पराई
भन्दा कपट देखाएपछि
भाव सागर बन्दैन त ?

कसैले भन्यो,
तिमी सम्बन्धको कदर
खासै गर्दैनौ ।
मैले भनेँ
जति पटक पनि
आफ्नाजस्तो बनेर
आएका कलाकारहरूले
चक्रव्यूह रचेर
अपमान अनि विभेद
गरेपछि विश्वास
भाग्दैन त ?

कसैले भन्यो,
तिमी किताबप्रेमी पो बनेछौ !
नियतिले
जन्मिएको ठाउँबाट हटाइनु,
पराइको दुश्चक्रमा फसी
आफैँ दोषी भइरहनु,
पापी मानिसको चेहरा
र घेराभित्र निस्सासिएपछि
फेरि आफैँसँग बाँच्न मन
लाग्दैन त ?

कसैले भन्यो,
उसो भए पुरुष को हो ?

बिचरा पुरुष,
ऊ त स्त्रीबाट जन्मेर
स्त्रीकै चारदिवारमा
रचिएका सयौँ खेल
नथापाई आफ्नै आधा हिस्सा
बनेर आएकी नारीलाई
घात गर्न तम्सिने अनि
उमेर ढल्किएपछि मात्र
आँखा खुल्ने बिचरा
अर्धचेत मानव हो ।

कसैले भन्यो,
आफन्त को हुन् ?

मैले भनेँ
जो कमजोर र अपरिचित अवस्थामा
पनि दयालु रहन्छन्,
ती जुनी(जुनीका आफन्त हुन् ।

र अर्को
जो आफन्त बनेर जिउँदै
नर्क देखाउन आतुर हुन्छन्,
आफू बिलाएर पनि
मेरै आँसुको कारण बनी
झूट, स्वार्थ र अपमानको
खेती गर्छन्,
मेरो खुसीमा गल्छन्,
मेरो दुःखमा फुल्छन्,
ती सात जुनीसम्मका
आफन्त हुन्,
जसको सायद
पूर्वजन्मकै ऋण बाँकी छ ।


सुशिला शर्मा शिलु