वसन्तवेला
चितवन ।
साहित्य संगम चितवनले आफ्नो स्थापना दिवसका अवसरमा वरिष्ठ पत्रकार सोमनाथ घिमिरे र महाकाव्यकार माधव वियोगीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित समारोहमा संस्थापक अध्यक्ष मदनमोहन जोशीको परिवारद्वारा स्थापित ‘मदनमोहन जोशी स्मृति पुरस्कार’ पत्रकार घिमिरेलाई प्रदान गरिएको हो। त्यस्तै, कार्यसमिति सदस्य होमनाथ घिमिरेको परिवारद्वारा स्थापित ‘शिवा–वासु संगम काव्य पुरस्कार’ महाकाव्यकार वियोगीलाई समर्पण गरिएको छ । दुवै पुरस्कारको राशि जनही २५ हजार १८१ रुपैयाँ रहेको छ ।
संगमका अध्यक्ष शशी किरण रेग्मी (रह शर्मा) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. नारायण खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा गिरिराज डल्लाकोटीको लघुकथासङ्ग्रह ‘गवेषण’ पनि लोकार्पण गरिएको थियो। विमोचित कृतिमाथि समीक्षक रमेश प्रभातले समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने इन्द्र रेग्मीले साहित्य संगम र ‘नौलो राँको’ पत्रिकाबीचको सम्बन्धबारे प्रकाश पारेकी थिइन्। पुरस्कृत व्यक्तित्व घिमिरेको परिचय प्रकाश चापागाईं र वियोगीको परिचय होमनाथ घिमिरेले गराएका थिए । संस्थाका सचिव लीलाधर पौडेलले सञ्चालन गरेको कार्यक्रममा जोशी परिवारकी सदस्य विद्या जोशीले आफ्नो धारणा राखेकी थिइन् । कार्यक्रममा दुवै पुरस्कृत स्रष्टाले सम्मानप्रति आभार व्यक्त गर्दै आफ्ना अनुभूति सुनाएका थिए ।
