• २०८३ कार्तिक २८, शुक्रबार

श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘कविताहरू भाग ३’ लोकार्पण

काठमाडौँ ।

हास्य कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३’ लोकार्पण गरिएको छ ।

बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित कार्यक्रममा समाजसेवी धनकुमारी कोइरालाले उक्त संग्रहको लोकार्पण गरेकी हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालालगायत साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । हास्य कलाकारका रूपमा परिचित सिम्खडा कविता लेखन र सञ्चारकर्ममा समेत सक्रिय छन् । उनका कवितामा सामाजिक विकृति, विसङ्गति, मानवीय स्वार्थ र बदलिँदो सामाजिक प्रवृत्तिमाथि व्यङ्ग्यात्मक प्रहार पाइन्छ । हास्यव्यङ्ग्यलाई अभिव्यक्तिको माध्यम बनाउँदै आएका उनका रचनाले समाजका विरोधाभासलाई उजागर गरेका छन् ।

संग्रहमा समेटिएको एक कवितामा मानिस र कुकुरको इमानदारीलाई तुलना गर्दै मानवीय स्वार्थमाथि तीखो व्यङ्ग्य गरिएको छ । कवितामा भनिएको छ:

यहाँ कुकुरहरूमा इमान छ
मान्छेहरूमा बेइमान छ
कुकुरमा इमान भएरै
बाढीमा हराएको
आफ्नो मालिक खोजिरहेछ
मान्छे कुकुर जति इमान नभएर होला
बाढीमा हराएको मान्छेको लासमाथिको सुन खोजिरहेछ

कार्यक्रममा संग्रहकी विमोचनकर्ता कोइरालाले सिम्खडाको कविता संग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।