• २०८३ कार्तिक २२, शनिबार

एनएलजी विशेष ‘शान्ति कविता गोष्ठी’ सम्पन्न

काठमाडौं ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा साहित्यिक पत्रिका ‘कलाश्री’को १४औँ वार्षिक अङ्क तथा ई–पत्रिका लोकार्पण गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनएलजी विशेष ‘शान्ति कविता गोष्ठी’समेत सम्पन्न भएको छ ।

कार्यक्रममा एनएलजी कलाश्री सिर्जना पुरस्कार कोहलपुरका कवि प्रदीप भट्टराईलाई प्रदान गरिएको थियो । त्यस्तै, ‘नेपाल सम्मान २०२६’ स्लोभेनियाली कवि ब्राने मोजेटिचलाई समर्पण गरिएको थियो । कार्यक्रममा ‘चीन ः शाश्वत आवाज’, ‘नाइजेरिया ः शाश्वत आवाज’, ‘स्लोभेनिया ः शाश्वत आवाज’ तथा नेपाली २५ कविका कविताको स्लोभेनियाली भाषामा अनूदित कृतिसमेत लोकार्पण गरिएका थिए । लोकार्पण कार्यक्रममा चिनियाँ सांस्कृतिक केन्द्रका उपनिर्देशक लिउ झानपिङ तथा स्लोभेनियाली कविहरू ब्राने मोजेटिच, भेरोनिका राप्ज्निक र ब्लाज बोझिच सहभागी हुनुहुन्थ्यो । विगत २० वर्षदेखि नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवद्र्धनमा क्रियाशील प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद तथा प्रकाशनमार्फत विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, महासचिव अरुणा वैद्य, कोषाध्यक्ष सुन्दर बस्नेतलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । अनुवादक केशव सिग्देल र बलबहादुर थापाले पनि कार्यक्रममा योगदान दिनुभएको थियो। कविता गोष्ठीमा विभिन्न कविहरूले शान्ति र मानवीय संवेदनासम्बन्धी कविता वाचन गर्नुभएको थियो । प्रतिष्ठानका तर्फबाट आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने पदाधिकारी, अनुवादक, कवि, साहित्यप्रेमी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।