• २०८३ कार्तिक २१, शुक्रबार

कथा हे करेलु छठ बरतिया से हुनके लागि…

विजेता चौधरी

विजेता चौधरी

सुनयना बिहानै उठिन् र नजिकैको ‘विडालसर’ पोखरीमा एक ‘डुबकी’ लगाएर आइन् । छठको चटारो उनी जत्तिको कसैलाई हुँदैनजस्तो लाग्छ उनलाई । सासूले, छठ परमेश्वरीलाई पाँच घर दलितबाट भिक्षामा प्राप्त भएको चामल र गहुँबाट प्रसाद बनाएरमात्र छठ पूजा गर्ने ‘कौबला’ गरेकी थिइन् । सोही वर्षदेखि उनलाई छठ शुरु नहुँदैको हतारो र चटारो हुन्छ ।
‘सबैका घरमा ‘ठकुवा’ र ‘भुसवा’का लागि गहुँ–चामल धोइपखाली गरी सुकाउन थालिसकियो । दिन नै कति छ र अब खरनाको ? यसपालि मैले निकै ढिला गरेँ, कतिबेला भिक्षा मागेर ल्याएको अनाज धोएर सुकाउनु, पिसाउनु ? त्यसमाथि यसपालि वर्खा पनि बेठेगान वर्षदोंछ । हटियाबाट गुड, नाङ्गलो, कनसुपति, आरतीपात, केराको हत्ता र फुलफूल–तरकारी सबै आजै ल्याउनुपर्छ । नभए अब छठपछि अर्को बुधबारमात्र हटिया लाग्ने हो । लोकल बजारमा किनेर साध्य छनै । कुन्नि यसपालि कति भिक्षा आउने हो ? शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाउन पनि त खर्च चाहिन्छ नै । यस्तो महँगीमा…यो आमाले पनि के के भाकल गर्नुपर्ने ?’
सुनयनालाई प्रदासका लागि आज दुसाध र मुसरहहरूको घर गएर आफ्नो आँचल फैलाई भिक्षा माग्नु छ । उनलाई कहिलेकाहि सासूको भाकलले सकस हुन्छ । हुनेखाने बाह्मण कुलकी बुहारी भएर यसरी आफूभन्दा हैसियतमा कमजोरसँग भिख माग्नु लाजमर्दो हुन्छ । तर उनले त्यो दिन कसैगरि बिर्सन सक्दिनन्, जुन दिन उनको एकमात्र सन्तानको जीवन एक दलित महिलाकै कारण जोगिएको थियो ।
अनेक डाक्टर, वैद्यलाई देखाएर पनि उनले आमा हुने सुख पाउन सकेकी थिइनन् । टोल–छिमेकको दुर्वचन मानौँ आजसम्मपनि उनको कानमा गुञ्जिरहन्छ । अनेक कौबला–पातिपछि झण्डै अधवैंशे उमेरमा छठ परमेश्वरी ‘पष्ठी भगवती’ले एउटा छोरा दिएकी थिइन् । उनैका लागि त वर्षौंदेखि उनी चार दिनसम्म चल्ने कठिन व्रत बस्दै आएकी थिइन् । छोरो जति जति हुर्कदों छ, सुनयनाको आँचल ती दलित महिलाको अगाडि त्यति नै वीनित भएर फैलदों छ । सोच्छिन्, त्यो दिन उनले मेरो छोराका लागि आफ्नो ज्यानको बाजी नथापेकी भए…?
जनकपुरको ‘बिडालसर पोखरी’को चारैतिर सघन बस्ती छ । जहाँ ठूलो संख्यामा छठ गर्नेहरूको भीडलाग्छ । भनिन्छ, छठ मात्र यस्तो महापर्व हो जहाँ एकै पटक जलाशयमा सबै जातजातीले छठ गर्न पाउँछन् । बुद्धिजिविहरूले यसलाई अनादिदेखि मिथिला संस्कृतिको सुन्दर धरोहर भनेर नाक ठाडो पार्दैहिडेँ पनि वास्तवमा समाज–व्यवस्था कहाँ त्यस्तो छ र ? सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छन्, त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गर्न थालिएको पनि हजारौं वर्ष वित्यो । तर विडम्बना पछ्यौटे समाजका लागि यी कुरा त हात्तीको देखाउने दाँतमात्रै हो ।
बिडालसरको तीन तिरका घाट ब्राहमण–कायस्त, राजपूत, साहु–यादव, हलुवाई र धानुक आदिका लागि आरक्षित छ । टोलमा एउटामात्र मुसहर परिवार खै कताबाट उठेर चुरोट फ्याक्ट्रितिर वर्षौं पहिले आएर बसेको थियो, जो सोही पोखरीको डीलमा छठ पूजा गर्न आउँछ । उनको पनि त कुनै भाकल होला, नभए त मुसहर जातीले त्यतिविधि छठ गर्दैनन् प्रायः । उनले त्यस स्थानमा छठ गर्न थालेदेखि अन्य सबै परिवारले त्यो चौंथो डिललाई अपवित्र छै त्यागिदिएका छन् । मानौँ सिगैं पोखरीको त्यो एउटा डील ‘अछोप’ छ । मानौँ उताको पानी उतै जमेर बसेको छ । पानीको ‘हिलकोर’लाई दहजस्तै अर्को किनारा छुने छुट छैन । अनुमति छैन । न उनीहरू यतातिर आएर छठ गर्छन् न यताकाहरू उता जानेगर्छन् । पोखरीको त्यो किनारा छठमा पनि अध्यारो नै हुन्छ प्रायः । यताकोजस्तो झिलीमिली र सजिसजाउ कसले गरिदिने ?
त्यसदिन सझिया ‘अरग’ थियो । सधैंझैं लाउड–स्पिकरमा शारदा सिन्हाको छठगीत ‘हे करेलु छठ बरतिया से केकरा लागि ?’ ठूलो स्वरमा घन्किरहेको थियो । अर्घका लागि महिला–पुरुष जलाशयमा उत्रिसकेका थिए । सुकिला वस्त्रमा के महिला–पुरुष के बालबालिका सबैमा महापर्वको उत्साह थियो । वातावरणमा मानौँ अलौकिक उर्जा व्याप्त थियो । यत्तिकैमा हातमा अर्घको डालो लिएर जलाशयमा उभिएका व्रतालुबीच अनायास बालक डुब्नलागेको हल्ला शुरु भयो । पोखरीमा एउटा बालक डुब्दैउत्रितै गरेको सबैले देखे । झण्डै बीच पोखरीमा पुगिसेका ती बालक कसका बच्चा हुन् भन्ने हल्ला भयो । सबैले आ–आफ्ना बालबच्चा खोज्न थाले । यतिकैमा सबैले देखे बीच पोखरीमा पहेँलो धोती लगाएकी एक महिला ती बच्चाको उद्धार गर्न पुगिसकेकी छन् । हेर्दा भर्खरकी ती महिलाले बालकलाई तानेर डिलमा ल्याउने प्रयास गर्दैथिइन् तर मानौँ पानीले उनलाई आफूतिर तान्न खोज्दैथियो । यता तीन तिरबाट सबै रमिता हेरिरहे । यत्तिकैमा सुनयनाले पोखरीमा डुब्दै गरेको आफ्नो छोरालाई चिनेर, पाताल भासिनेगरी चिच्याइन् । रोइकराइ शुरुभयो । अँजुलीमा नरिवल लिएर अघिसम्म सूर्य उपासना गर्दै पानीमा उभिएकी उनी सबै फ्यालेर छोरोतिर बढिन् । उनका पति जो अघिदेखि रमिता हेरिरहेका थिए पोखरीमा फालहाले तर ती महिलाले बालकलाई डिलमै ल्याइपुर्याएकी थिइन् ।
सुनयनाकी सासू अर्थात बालककी हजुरआमाले देखिन् पीतवस्त्र धारण गरेकी ती महिलाको मस्तक पछाडि सूर्यको किरणको अद्भूत छटा बनेको छ, जसले उनलाई दिव्य बनाएको छ । मानौँ उनी साक्षात पष्ठीमाता, साक्षात भवानीको रूपमा अवतरित भएकी  हुन् । ७ वर्षका ती बालकलाई बाहिर ल्याइयो । तीनतिरका मान्छेको भीड नै लाग्यो । धन्य जीवित थिए बालक । ती महिला तिनै व्रतालु थिइन् जो ‘मुसहरी घाट’मा परित्यक्ता झै सधैं एक्लै छठ गर्थिन् ।
उतिखेरै, सुनयनाकी सासू, पार्वतीदेवीले नातीलाई पुनः छठ परमेश्वरीको कृपाको रूपमा पाएको भन्दै भाकल गरिन् ‘हे छैठ परमेश्वरी, मेरो नातीलाई बचाउने यी देवीको हातबाट र उनीजस्तै अन्य चारजनाबाट भिक्षा प्राप्त भएपछि मात्र हामी छठ गर्छौं । मेरो नातिको दीर्घायूका लागि हामी सधैं यी देवीको अगाडि हात पसारे र माँगेर नै तिम्रो पुजा गर्छौं, यसको सधैं कल्याण गर्नू ।’ आफ्नो ज्यानको पर्वाह नगरि पानीमा फालहाल्ने ती दलितमा उनले देवीको स्वरूप देखिन् । मानवता देखिन् । जो कुनै उच्च भनाउने जातीमा देखिएन र उनले देवीको कृपाको रूपमा त्यो घटनालाई लिइन् । छठ पर्व आस्थाको एउटा अनौठो पुञ्ज नै त हो नि ।
पर्वतीदेवी टोलकै अगुवा महिला थिइन्, शिक्षित र कुलीन घरानाकी उनी सबैलाई सहयोग गर्न अघि सर्थिन् । उनले वर्षैदेखि ती मुसहर परिवारलाई एक्लै छठ गर्दै आएको देखेकी थिइन्, जो यो समाजको व्यवहारको कारण अलग–थलग देखिन्थ्यो । उनले अनौठो भाकल गरिन् जसको कल्पना मिथिलाका ब्राह्मण समाजले गर्न सक्थेन । छठ पर्वमा चोखो–नितो र शुद्धताको खयाल गरिने ठाउँमा उनको भाकल एक क्रान्ति नै थियो । ज्यान जोगाउने हातहरू कसरी पो ‘अछूत’ हुनसक्छन् र ? कस्तो खोक्रो र ढोंगी समाज ? दलितले छोएको अनाजबाटै छठको महाप्रदास बनाउँदै आएकी छिन् उनी, कतै कुनै अनिष्ट भएको छैन । आज उनको नाती बाह्र वर्षका भइसके । कम्तिमा पाँचघर दलितसँग भिक्षा मागेर छठ पुजागर्ने उनको भाकलकै कारण ती दलित महिलाको अगाडि उनको सिङ्गो टोल वीनित भएको छ ।
पाँच वर्ष भयो सुनयना भिक्षा मागेर छठ पर्व गर्न थालेको । उनी नुहाइधुवाइगरी पोखरीबाट आएर बाँसबाट निर्मित डालो लिइन् र पहिले चुरोट फ्याक्ट्रितिर बस्ने तिनै महिलाको घर पुगिन् र बाहिरबाट भनिन्, ‘ऐ बहिन, घरमा हुनुहुन्छ भने मलाई छठका लागि भिक्षा दिनून है ।’
उनी घरबाट नाङ्गलोमा थोरै चामल लिएर आइन् र प्रेम पूर्वक उनको डालोमा हालिदिइन् र सोधिन्, ‘तपाईंको बाबुलाई कस्तो छ ?’
सुनयनाले भनिन्, ‘तपाईंको कृपाले बाँचेको छ । दोस्रो जन्मदिने आमा तपाईं नै हो, छठको दिन आउँछ तपाईंको आशीष लिन् ।’ त्यसपछि उनी दुसाध टोलतिर अगाडि बढिन् ।
आजभोलि विडालसर पोखरीको चारैतिर छठ गर्नेको घुइचो लाग्ने गर्छ । टोलका युवाहरूले सूर्यदेव र पष्ठीमाताको प्रतिमा त्यही घाटमा बनाउन थालेकाछन्, जो कहिले परित्यक्ता हुन्थ्यो । जहाँ कहिले अध्यारोको साम्राज्य हुन्थ्यो ।
…