कविता
1. पर्वको चित्र
स्नेहको
रेखाभित्र र बाहिर ।।
चाडपर्वको चित्र सायद
बाल्यकालबाट
नै निर्माण हुन्छ,
जसरी आमाको गर्भभित्रबाट
सन्तानको खाका कोरिन्छ ।
प्रेमिल मुस्कान र स्नेहको
अञ्जुलीमा
हुर्किएका तमाम जीवनलाई
पर्वका यादहरू जीवनभरिका
निम्ति एउटा सुगन्धित फूल,
मनोरम तस्बिर बनेर सजिएका
हुन्छन्,
त्यस्तै स्नेहको अभावमा
हुर्किएका हृदयहरूमा
पर्वका लयहरू एउटा अदृश्य घाउ
बनेर कुँदिएका हुन्छन् ।
उमेरभन्दा पहिले नै आफ्नो
जिम्मेवारीले थिचिएका
एक थान मानवहरू,
त्यसमा पनि पर हटाइएका
तमाम स्त्रीहृदयहरूका
निम्ति एउटा क्षण त पर्वहरू
केवल उमङ्गको मूल,
विगतको आभा,
स्मृतिका पन्नामा मात्र सीमित
हुने रहेछन् ।
आफ्नाको छेउमा जान
बाटो खुला छ तर नैतिकताको
अदृश्य काँडेतार छ,
सीमानाहरू खुला छन् तर
केही मस्तिष्कहरूबीच अदृश्य
सीमारेखा कोरिएका छन् ।
केवल दुईवटा मुटु,
दुई जोडी आँखा
ओसिला छन्,
आफ्नो हृदयमा सजाएकी
र उमेरको परिबन्धमा
परेकी मातृत्वको,
अर्को आफ्नै
अर्कै बटुवाको स्थानमा
जिम्मेवारी वा संस्कारको
नामबाट कैद
गराइएको कोमल हृदय अनि
मातृयादमा छटपटाएका
आँखाहरू ।
बाँकी अन्य
झुटो मुस्कानका
पर्दाहरू,
बोलावटका भाषाहरू,
प्रेमको
रङबाट टाढा फुङ्ग उडेका
न रात न दिउँसो जस्ता
मिर्मिराउँदो साँझ र बिहानीमै
झुक्याउने पर्दाजस्तो बन्ने
रहेछन् समयसँगै पर्वका चित्रहरू ।।
२. स्व. चाँदनी शाहको स्मृतिमा !!
स्वर्गीय कवि तथा गीतकार,
सुन्दर व्यक्तित्व,
हाम्रो देश नेपालकी
बडामहारानीका रूपमा
केही पलका लागि पाहुना बनेर
समयपूर्व नै नियतिको
नमिठो ठक्करबाट नेपाल
आमाको
काखमा बिलाउनुभएकी
चाँदनी शाह !
आज पनि ती सुन्दर आँखाहरू
एउटा पूर्णिमाको जुनझैँ
मेरो मस्तिष्कमा कैद छन्,
जुन तस्बिर मेरो बाल्यकालका
कोठामा बुबाआमाले सजाउनुभएको थियो,
जहाँ सँगै मलाई काखमा बोकेर
खिचिएको अर्को मेरी हजुरआमाको
तस्बिर पनि थियो ।
त्यस समयमा यस्ता मोबाइलहरू
चल्तीमा थिएनन्,
रेडियो र टिभीमा ‘मौसुफ’ भन्दै
रमा सिंहलगायतका समाचार
तथा आवाजहरू
कानमा गुञ्जिन्थे !
तर दैनिक रूपमा भित्तामा देख्दा
म यो तस्बिरसँगै हुर्किँदै गएँ ।
माध्यमिक तहमा पुगेपछि
पनि मलाई थाहा थिएन,
रानी ऐश्वर्या चाँदनीका रूपमा
कलमसँग पनि उदाउनुभएको
छ ।
तैपनि नारायण गोपालका
आवाजहरू भने
धेरै नै सुन्थेँ ।
निकै पछि कतिपय शब्द रानीका
हुन् भनेर थाहा पाउँदा अत्यन्तै
खुसी भएकी थिएँ !
एउटा बालमस्तिष्कबाट
काठमाडौंमै हुर्केका
मेरा नजरमा टिभीमार्फत
उहाँको तस्बिर कैद थियो ।
त्यो तस्बिर आफ्नो गाउँसम्मको
भित्तामा दैनिक आँखा जुध्ने गरी
झुन्डिएको हुनाले उहाँको पूर्ण
राजपरिवार नै आफ्नो जस्तो
लाग्न थालेको थियो ।
यो धेरै नेपालीलाई
हुन सक्छ । यो कुनै
राजनीतिक भाव नभई देशको
असल अभिभावकका
रूपमा मेरो बालसुलभ
हृदयले अनुभूत गरेको कुरा हो ।
जसरी सिनेमाका त्यस समयका
नेपालदेखि भारतसम्मका
आत्मीय कलाकारहरू आज
पनि आफ्नै घरका
सदस्यजस्ता लाग्छन्,
ठीक उसैगरी त्यो भित्तामा
वर्षौँसम्म आफ्नै आँखाअगाडि
झुन्डिएको तस्बिर केवल
फोटो मात्र नहुने रहेछ,
यो हृदयको तस्बिर बन्दो रहेछ,
परिवारको जस्तो लाग्ने रहेछ ।
अझै उहाँको कलमले
कोरिएका त्यति मिठा शब्दहरू,
देशप्रेमी लयका तरङ्ग,
राजा वीरेन्द्रको मिठो
मुस्कान र विनम्रताको
आज पनि म मुक्तकण्ठले
प्रशंसा गर्दछु,
जसमा मातृभूमि नेपाल र जनताप्रति
स्नेहको भाव झल्किन्छ ।
हुन त हामीलाई आफूबाट टाढा गएका
हरेक कुरा बहुमूल्य लाग्छन्,
तर कुनै-कुनै हृदय,
मुस्कान, भाव र तस्बिरहरूले
साँच्चै जीवित हुँदै मनमुटुमा
बस्न सफल हुने रहेछन् ।
ती आत्मीय व्यक्तिलाई भेट्न पुनः
तस्बिरकै सहारा लिनुपर्ने,
सपनामा बेला-बेला देखिने,
तर आफूसँग व्यक्तिगत परिचय नभएर
पनि कोही धर्तीबाट समयपूर्व नै
बिदा लिँदा यति तीतो लागेको
त्यो पनि विगतको समय !
आफू उच्च शिक्षा अध्ययन गर्न
सहरमा घर, आँगन, आफन्त
छोडेर आई चरम सङ्घर्षरत
समयमा आएको त्यो
चाँदनी (चन्द्रमा) ले
नेपाली आकाशबाट
बिदा लिएको दिन
म एक्लै धेरै रोएकी थिएँ ।
रोएको देखाउन पनि नसकिने
परिवेश थियो ।
आफ्नो ममताको आँगन छोडेर
पराईकहाँ बसेर मेरा हृदयका
तस्बिर सम्झँदै, राष्ट्रकै धरोहरको
शून्यताको अनुभूति गर्दै
एउटी कलिली विद्यार्थी,
जसको कोही थिएन,
तर म उहाँकै सहर राजधानीको
एउटा कुनामा थिएँ ।
उहाँका आँखाबाट पूर्णतः
अपरिचित, तर आफ्ना आँखाका लागि
वर्षौँदेखि परिचित तस्बिरकी
मान्छे हराएजस्तो शून्य पल
कहिल्यै बिर्सन सक्दिनँ ।
सुशीला शर्मा ‘शिलु’