समाचार
काठमाडौं ।
रेखा कँडेलद्वारा नियात्राकार पवन आलोकको नाममा स्थापित ‘पवन आलोक नियात्रा सम्मान’को घोषणा गरिएको छ । नियात्रा समाज नेपालको व्यवस्थापनमा प्रदान गरिने यो सम्मान २०८२ सालका लागि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिने भएको छ । त्यस्तै, २०८३ का लागि नियात्राकार नरेन्द्रराज पौडेललाई प्रदान गरिने निर्णय भएको छ ।
नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नियात्राकार पवन आलोक सम्मिलित सम्मान सिफारिस समितिले यो निर्णय गरेको हो । सम्मानका साथ जनही नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने जनाइएको छ । वि.सं. २०७७ सालमा कृतिगत पुरस्कारका रूपमा स्थापित भएकोमा हाल योगदानका लागि सम्मानका रूपमा वितरण गर्न थालिएको समाजले जनाएको छ ।
यसअघि पवन आलोक नियात्रा पुरस्कार नियात्राकारहरू भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, इल्या भट्टराई तथा तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिसकिएको छ । योगदानका लागि पहिलो सम्मान वि.सं. २०८१ मा अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरिएको थियो । घोषित सम्मान यही कात्तिक २९ गते प्रदान गरिने समाजले जनाएको छ ।
