• २०८३ कार्तिक १३, बिहीबार

रहेनन् अग्रज साहित्यकार तथा पत्रकार विजय बान्तवा

काठमाडौं ।

सिक्किमका अग्रज साहित्यकार तथा पत्रकार विजय बान्तवाको ७१ वर्षको उमेरमा बुधबार, कार्तिक ११ गते निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका बान्तवाको निधनले नेपाली भाषा, साहित्य र पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का आजीवन सदस्यसमेत रहेका बान्तवाले आफ्नो जीवनको लामो समय नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समर्पित गरेका थिए । साहित्यिक तथा पत्रकारिताका माध्यमबाट नेपाली भाषा र संस्कृतिको श्रीवृद्धिमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

बान्तवा नेपाली भाषाको साप्ताहिक पत्रिका ‘हिमगिरी’ का सम्पादक–प्रकाशकका रूपमा आबद्ध थिए । त्यसैगरी, उनी अङ्ग्रेजी भाषाको त्रैमासिक प्रकाशन ‘स्नोलाइन’ सँग पनि सम्बद्ध थिए । नेपाली पत्रकारितालाई निरन्तरता दिनुका साथै भाषा र साहित्यको विकासमा सक्रिय रहनु उनको योगदानको महत्त्वपूर्ण पक्ष थियो । पत्रकारितामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रेस क्लब अफ सिक्किमले सन् २०११ मा उनलाई ‘खाङ्चेन्दजोङ्गा कलम पुरस्कार’ प्रदान गरेको थियो। सिक्किमको पत्रकारिता जगत्मा विशिष्ट योगदान पुर्‍याएका बान्तवा नेपाली साहित्यिक तथा पत्रकारिताको क्षेत्रमा स्मरणीय व्यक्तित्वका रूपमा रहनेछन् ।

बान्तवाको निधनप्रति साहित्यिक तथा पत्रकारिता क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली भाषा, साहित्य, संस्कृति र पत्रकारिताप्रतिको उनको समर्पणले उनलाई सधैँ स्मरणीय बनाइरहनेछ ।