लघुकथा
काठमाडौं ।
नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीको आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा इतिहासविद् प्रा. दिनेशराज पन्तले पुस्तक लोकार्पण गरेका हुन् ।
लोकार्पण गर्दै पन्तले आत्मकथा ज्ञान र प्रेरणाको स्रोत भएको बताउँदै यसमा समेटिएका सङ्घर्ष र बहुआयामिक अनुभव प्रशंसनीय रहेको उल्लेख गरे। पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तकलाई इमानदार जीवन–अभिलेखका रूपमा चर्चा गरे । लेखक ज्ञवालीले पुस्तकमा आफ्नो व्यक्तिगत जीवनसँगै परिवार, समाज र समयका अनुभव समेटिएको बताए ।
सङ्घर्षशील विद्यार्थी, राष्ट्रसेवक र उद्यमीका रूपमा भोगेका अनुभव तथा अनुभूतिलाई पुस्तकमा प्रस्तुत गरिएको उनले जानकारी दिए । घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तकले नेपाली मध्यम तथा निम्नमध्यम वर्गको सङ्घर्ष र उन्नतिको कथा प्रस्तुत गरेको बताए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा साहित्यकारहरूले पुस्तकका विविध पक्षमाथि धारणा राखेका थिए ।
घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित ४४८ पृष्ठको पुस्तकको सम्पादन रेनुका आचार्यले गरेकी छन् । पुस्तकमा लीलामणि पौडेल, प्रा.गोपीकृष्ण शर्मा, ज्ञानमणि ज्ञवाली, ठाकुर शर्मा भण्डारी, भागीरथी ज्ञवाली, डा. अरुण ज्ञवाली र मनीषा ज्ञवालीका शुभकामना, भूमिका तथा मन्तव्य समेटिएका छन् ।
