• २०८३ कार्तिक ११, मंगलवार

कविता विधातर्फ शकुन्तला महर्जन र कथा विधातर्फ कमलकेशरी थुयाजू प्रथम

काठमाडौँ ।

भक्तपुरमा सम्पन्न ४६ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) अन्तर्गत कविता विधातर्फ शकुन्तला महर्जन र कथा विधातर्फ कमलकेशरी थुयाजू प्रथम भएका छन् । दुई दिनसम्म चलेको सम्मेलनको कविता प्रतियोगितामा हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो स्थान हासिल गर्न सफल भए ।

यस्तै, कथा विधातर्फ सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो भएको आयोजकले जनाएको छ । शुक्रबार बिहान ११ बजे सुरु भएको सम्मेलन शनिबार राति सम्पन्न भएको थियो । ४६ औं नेपालभाषा साहित्य तःमुंज्याका प्रचारप्रसार संयोजक बलराम गोसाईका अनुसार उत्कृष्ट घोषित कवि तथा कथाकारहरूलाई पछि विशेष समारोह आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिने कार्यक्रममै पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष भक्तपुरका फरक–फरक टोलमा हुँदै आएको तःमुंज्या यस वर्ष भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा सम्पन्न भएको हो । सम्मेलनमा नेपालभाषा, साहित्य, कला र संस्कृतिका साथै समसामयिक सामाजिक तथा राजनीतिक विषयमा समेत गहन छलफल गरिएको थियो ।