कोलम्बियाको कविता
काठमाडौं ।
गुन्जनकी संस्थापक अध्यक्ष तथा साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार, कवि एवं गीतकार पद्मावती सिंह पचास हजार राशिसहित ’कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभयो । पुरस्कारको स्थापना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्व अध्यक्ष गीतकार सरला श्रेष्ठले गर्नुभएको हो । कवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापित सो पुरस्कार हिजो एक समारोहमा वरिष्ठ स्रष्टा पद्मावती सिंहलाई अर्पण गरिएको थियो ।
ललितपुरस्थित होटल साङ्ग्रिला ब्लुमा आयोजित उक्त कार्यक्रम कवि एवं कथाकार एल.बी. क्षेत्रीको अध्यक्षता एवम् कवि गोपाल पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा चर्चित सङ्गीतकार राजु सिंहले स्वागत मन्तव्य र डा. सिर्जना शर्माले पुरस्कृत व्यक्तित्व पद्मावती सिंहको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो ।
सो अवसरमा चलचित्र एवं सञ्चारकर्मी प्रकाश सायमी, साहित्यकार मातृका पोखरेल र भागिरथी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सोही कार्यक्रममा स्रष्टा सरला श्रेष्ठको शब्द तथा पद्मावती सिंहको स्वर, कृष्णदेव रुपाखेतीद्वारा निर्देशित, सर्जक हरीश कल्पित एवं अनु श्रेष्ठको जीवन्त अभिनय रहेको तथा राजु सिंहद्वारा संगीतवद्ध म्युजिक भिडियो ‘म मौन रहिरहें’ समेत लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, सरला श्रेष्ठ, उषा शेरचन र डा. गीता त्रिपाठी लगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण कवि सिर्जना शर्माले गर्नुभएको थियो ।
