• २०८३ कार्तिक ९, आईतवार

“मन” (अभिनवतामरसा छन्द)

बालकृष्ण 'अज्ञात'

बालकृष्ण 'अज्ञात'

समय त बित्दछ दैनिक सर्दै।
मगजमहाँ सपना सय भर्दै॥
कुन पथमा म हिँडे मन भन्छ ?
“सुखमय मानव जीवन बन्छ”॥ १ ॥

जब म जपूँ शिव, राम र श्याम ।
तब मन सम्झन थाल्दछ काम ॥
भइकन अस्थिर यो किन डुल्छ ?
हरपल केवल कल्पिन भुल्छ॥ २ ॥

धन अति शीघ्र कमाउन खोज्छ।
अनि कहिले परदेश नि रोज्छ ॥
मुलुक बुझीकन खान्न हरेस ।
सुनपुर सुन्दर देख्दछ देश ॥ ३ ॥

वसन र भोजन नूतन चाह।
घुमफिर गर्न भनेपछि आह !॥
जुन चुचुरा पनि चढ्दछु भन्छ ।
सहजसितै अघि बढ्दछु भन्छ ॥ ४ ॥

परजन बन्छ कुनै हितकारी।
स्वजन कुनै रिपु झैँ कुविचारी॥
कुशल चरित्र हुने जन फस्छ।
यति ध्रुवसत्य बुझी मन बस्छ ॥ ५ ॥

रवि, शशि झैँ किन ईश्वर छैनन् ?
कि त जगमा जगदीश्वर छैनन् ?॥
प्रतिदिन प्रश्न यही मन गर्छ।
थकित, निरुत्तर जीवन मर्छ ॥ ६ ॥

नवयश, कीर्ति कमाउन पाऊँ।
सफल बनेर रमाउन पाऊँ॥
असल विचार खुसीसित पालूँ।
म, मन विकार जरैसित फालूँ ॥ ७ ॥


स्याङ्जा