• २०८३ आश्विन ३०, शुक्रबार

प्रा. डा. अर्जुनदेव भट्टका चार साहित्यिक कृति लोकार्पण

काठमाडौं ।

वरिष्ठ युरोलोजिस्ट तथा साहित्यकार प्राडा.अर्जुनदेव भट्टका चार साहित्यिक कृति एकसाथ लोकार्पण गरिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक सदस्यमध्येका एक तथा पूर्वअध्यक्ष जीवा लामिछानेको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा आयोजित समारोहमा ‘स्मृतिविश्लेषण’, ‘जीवन सहयात्री’, ‘समय यात्रा’ र ‘मेटामर्फोसिस’ सार्वजनिक गरिएका हुन् । मुक्तनाथ दर्शन साहित्य समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार भट्ट, लामिछाने, छन्द अभियन्ता प्राडा. रामप्रसाद ज्ञवाली, प्राडा. अञ्जना वस्ती भट्टराई, लीला लुइँटेल, कलानिधि दाहाल, भट्टकी धर्मपत्नी अक्सना भट्टलगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए ।

चिकित्सा क्षेत्रमा पाँच दशकभन्दा बढी समय बिताएका भट्टका कृतिमा जीवनका अनुभव, स्मृति, सामाजिक यथार्थ, समयबोध र रूपान्तरणका विषय समेटिएका छन्। कृतिमाथि टिप्पणी गर्दै समीक्षकहरूले उहाँको लेखनमा मानवीय संवेदना, प्रयोगशीलता, आलोचनात्मक चेतना र जीवनदर्शनको संयोजन रहेको चर्चा गरे । प्राडा. अञ्जना वस्ती भट्टराईले उपन्यास ‘मेटामर्फोसिस’को समीक्षा गर्दै मानव सोच र चेतनामा आउने परिवर्तन तथा लैङ्गिक विभेदको अन्त्यलाई कृतिले महत्त्व दिएको बताइन्। परम्परा र संस्कृतिलाई जस्ताको तस्तै निरन्तरता दिनुभन्दा समय र परिस्थितिअनुसार रूपान्तरण गर्दै लैजानुपर्ने सन्देश उपन्यासले दिएको उनको भनाइ थियो। प्रेमलाई जीवनको अभिव्यक्ति र सामाजिक परिवर्तनको माध्यमका रूपमा प्रस्तुत गर्दै कृतिले समानतामूलक समाज निर्माणको आवश्यकतामाथि विमर्श गरेको उनले उल्लेख गरिन् ।

समीक्षक लीला लुइँटेलले ‘जीवन सहयात्री’लाई संस्मरण र अनुभवन्यासका विशेषता समेटिएको कृतिका रूपमा व्याख्या गरिन्। चिकित्सकका रूपमा भट्टले भोगेका घटना, भेटेका मानिस र अनुभव गरेका परिवेशलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले चिकित्सा र साहित्य दुवै क्षेत्रमा भट्टको सक्रियताको प्रशंसा गरिन् । उनका अनुसार कृतिमा यथार्थपरक जीवनचित्रण, सूक्ष्म जीवनचिन्तन र प्रयोगशील लेखनको संयोजन पाइन्छ । प्रा. डा. रामप्रसाद ज्ञवालीले ‘स्मृतिविश्लेषण’को समीक्षा गर्दै कृतिमा बैतडीको दुर्गम परिवेशदेखि जीवनयात्राका आरोह–अवरोह र अनुभवसम्मका विविध पक्ष समेटिएको बताए । भट्टको व्यक्तित्वलाई बहुआयामिक भन्दै उनले कृतिले जीवनका घटनाको वर्णनसँगै तिनको भित्री अर्थ, मानवीय संवेदना र सामाजिक सन्दर्भलाई उजागर गरेको उल्लेख गरे ।

त्यस्तै, कलानिधि दाहालले निबन्धसंग्रह ‘समय यात्रा’मा लेखकका जीवनका महत्त्वपूर्ण घटना र पेशागत अनुभवलाई कलात्मक रूपमा प्रस्तुत गरिएको बताए। समय, जीवन र कर्मको महत्त्वबारे पाठकलाई सोच्न प्रेरित गर्ने यस कृतिमा भावनात्मक अभिव्यक्ति र संवेदनात्मक अनुभूतिको सन्तुलन रहेको उनको भनाइ थियो । आफ्ना कृति सार्वजनिक भएपछि साहित्यकार भट्टले स्मृति मानिसको महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै जीवनका विभिन्न चरणलाई पुनः खोतल्ने र विश्लेषण गर्ने उत्सुकताले आफूलाई लेखनतर्फ प्रेरित गरेको बताए । पाँच दशकभन्दा बढी समय स्वास्थ्य सेवामा बिताउँदा बिरामी, उनीहरूका समस्या र जीवनका विविध परिस्थितिबाट धेरै कुरा सिकेको उल्लेख गर्दै उनले ती अनुभवलाई साहित्यका विभिन्न विधामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको सुनाए । उनका अनुसार चिकित्सकीय अनुभवले रोगको निदान र उपचारमा मात्र सीमित नरही मानवीय पीडा, संवेदना र संघर्षलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ ।

प्रमुख अतिथि जीवा लामिछानेले भट्टको विनम्रता, अनुशासन र सेवाभावको प्रशंसा गर्दै चिकित्सा क्षेत्रसँगै साहित्यमा पनि सक्रिय रहनु उल्लेखनीय भएको बताए । सभापति हरिभक्त सिग्देल ‘महेश’ले भट्टका कृतिमा विविधताको संगम रहेको उल्लेख गर्दै साहित्य समाजका सकारात्मक पक्षको प्रशंसा गर्ने माध्यम मात्र नभई कमजोरी, विसंगति र समस्यालाई उजागर गर्ने सशक्त माध्यम पनि भएको बताए । समारोहमा हरि गौतम, ठाकुर शर्मा भट्टराई, प्राडा. भीमदेव भट्ट, प्रा.पुरुषोत्तम दाहाल, केशव पराजुली र गोपीनाथ मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कवि भैरवी भूगोलले सहजीकरण गरेको कार्यक्रममा युवराज मैनालीले स्वागत मन्तव्य राखेका थिए ।

लोकार्पित कृतिमध्ये ‘स्मृतिविश्लेषण’ २४२ पृष्ठ र ‘जीवन सहयात्री’ १४० पृष्ठका छन् । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेका यी दुई कृतिसँगै ओरिएन्टल पब्लिकेशनबाट प्रकाशित १०० पृष्ठको ‘मेटामर्फोसिस’ र १४२ पृष्ठको ‘समय यात्रा’ पनि सार्वजनिक गरिएको हो । चिकित्सा, स्वास्थ्य, साहित्य र संस्मरणका विविध विधामा कलम चलाउँदै आएका भट्टका यसअघि पनि पुस्तक प्रकाशित छन्। उहाँका प्रकाशित कृतिमा खण्डकाव्य, कवितासंग्रह, कथासंग्रह, उपन्यास, संस्मरण तथा चिकित्सा र स्वास्थ्यसम्बन्धी पुस्तक समावेश छन्। उहाँका मूत्ररोगसम्बन्धी दुई सयभन्दा बढी लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।