कविता
काठमाडौं ।
भोटेकोशी बाढीका बेला विद्यार्थीहरूको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यलाई विपद्का बेला विद्यार्थीहरूको सुरक्षाका लागि देखाएको साहस, जिम्मेवारीबोध र मानवीय संवेदनशीलताको कदर गर्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा विद्यार्थीहरूको ज्यान जोगाउन उनले निर्वाह गरेको भूमिकालाई शिक्षकको जिम्मेवारी र मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ। शिक्षकको दायित्व पठनपाठनमा मात्र सीमित नरही संकटका बेला विद्यार्थीको जीवनरक्षा र सुरक्षामा समेत केन्द्रित हुनुपर्छ भन्ने सन्देश उनको कार्यले दिएको छ । समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक महिला शिक्षकलाई प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।
महिलाहरूका लागि औपचारिक शिक्षा प्राप्त गर्ने अवसर सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएकी थिइन्। उनले विसं २०२३ देखि शिक्षण पेसा सुरु गरी अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा २७ वर्ष अध्यापन गरेकी थिइन् । छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघर पुगेर अभिभावकलाई छोरीहरूलाई पनि शिक्षा दिन प्रेरित गर्थिन्। पाल्पाको किसान माध्यमिक विद्यालयमा ‘मीना दिदी’का नामले परिचित उनको सम्मानमा भूतपूर्व विद्यार्थीहरूले जीवित छँदै ‘मिना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए। उनको निधन २०७८ माघ २१ गते भएको थियो ।
यसअघि पहिलो पटक प्रदान गरिएको ‘मीना दिदी पुरस्कार’ बैतडीकी शिक्षिका कृष्णा विष्टले प्राप्त गरेकी थिइन्। ग्रामीण क्षेत्रमा शिक्षाको विस्तार, बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा पु¥याएको योगदानका लागि उनलाई सम्मान गरिएको थियो ।
