• २०८२ माघ २९, बिहीबार

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

काठमाडौंँ ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठान, विराटनगरले २०८१ सालको तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र समालोचना विधामा पुरयाएको योगदानका लागि समालोचक, कवि डा. राजेन्द्र भण्डारी कालेबुङ, पश्चिम बंगाल (भारत)लाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानका साथ नगद राशि २५ हजार प्रदान गरिने पनि जनाइएको छ ।

त्यस्तै, २०८१ सालको ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान’ तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि ज्योति जंगललाई र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ दुई दशकदेखि कविता विधामा दिएका योगदानका लागि युवाकवि रमेशचन्द्र अधिकारी (मोरङ)लाई प्रदान गरिने निर्णय गरिएको छ । यी दुई पुरस्कारका साथ नगद राशि क्रमशः १५ हजार र ११ हजार प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धि र सेवामा लामो समयदेखि पुरयाएको योगदानका लागि कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरानलाई सम्मान गर्ने समेत निर्णय गरेको प्रतिष्ठानका महासचिव विवश पोखरेलले जानकारी दिएका छन् । पुरस्कार तथा सम्मान आउँदो पुस १९ गते विराटनगरमा समर्पण गरिने पनि जानकारी गराइएको छ ।