समाचार
काठमाडौँ ।
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट वीणाको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो ।
सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाच परम्पराको सङ्कलन, अभिलेखीकरण र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले उक्त कृतिलाई पुरस्कारका लागि योग्य ठहर गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कार ग्रहण गर्दे लेखिका वीणा जोशी (राजभण्डारी)ले मदन पुरस्कार नेपाली साहित्य आकासमा बलिरहेको चम्किलो दिपक भएको उल्लेख गर्दै सोही पुरस्कार आफूले ग्रहण गर्न पाउँदा गौरव महसुस भएको बताइन् ।
यस वर्षको मदन पुरस्कारका लागि प्रारम्भिक रूपमा १० पुस्तक मदन पुरस्कार श्रेष्ठ सूचीमा समावेश गरिएको थियो । नेपाल तथा नेपालबाहिर नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक कृतिलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ ।
