• २०८२ बैशाख ५ शुक्रबार

कोमल मन

बसन्त चौधरी

बसन्त चौधरी

यो जीवनमा म को हुँ
कहिले लाग्छ सञ्चित पुँजी हुँ
कहिले लाग्दछ म ऋण हुँ,
धरतीलाई छायाँ दिने विशाल वटवृक्ष हुँ
कहिले लाग्दछ आँधी हुँ, हुरी हुँ
कहिले लाग्दछ म तृण हुँ ।
म एक प्रतीक्षा हुँ
एक अपुरो इच्छा हुँ
कहिले लाग्दछ धर्मराउँदो रहर हुँ
कहिले लाग्दछ भीष्मप्रतिज्ञा हुँ
कहिले लाग्दछ कृष्ण-प्रण हुँ ।

म चाहन्छु, धरती यो शीतल होस्,
हर एक समस्या हल होस्
चाहना यही छ,
मान्छेभित्र झरनाको कलकल होस्
मान्छेभित्र बसेको
आदिम पशु निर्बल होस् ।

कहिले लाग्दछ म शान्ति हुँ
कहिले लाग्दछ एक भीषण रण हुँ
कहिले लाग्दछ म शाश्वत समय हुँ,
वा बितिहाल्ने क्षण हुँ,
जे भए पनि मलाई लाग्छ
मान्छे भई जन्मेको म
दुनियाँको एक कोमल मन हुँ ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)