• २०८३ आश्विन २३, शुक्रबार

काव्य डबली’मा १५ कविले सुनाए जीवनका अनेक रङ

सुनसरी ।

इटहरीमा आयोजित ‘काव्य डबली’को चौथो शृङ्खलामा १५ कविले प्रेम, पीडा, स्मृति, सामाजिक विसङ्गति र समकालीन जीवनका विविध आयाम समेटिएका कविता सुनाएका छन् । इटहरीस्थित कोसी कलेजको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कविहरूले आफ्ना सिर्जनामार्फत जीवनका भोगाइ, समाजका प्रश्न र समयका अनुभूति प्रस्तुत गरेका हुन्। शान्त साँझमा प्रस्तुत कविताले मानवीय संवेदना र समकालीन जीवनका विविध पक्षलाई अभिव्यक्त गरेका थिए ।

कार्यक्रममा सीमा आभासले प्रार्थना, गगन योक्पाङ्देनले पानीको जीवन, करुणा राईले सपथ, प्रकाश दिप्साली राईले डोजर र प्रदीप योङहाङले भस्मासुर शीर्षकका कविता सुनाए । त्यस्तै दीपा दाहालले चुरोट र प्रेम, प्रयाग न्यौपानेले अन्पी मुसहरको माटो, प्रज्ज्वल पराजुलीले यादहरूको गन्तव्य, मीना श्रेष्ठले अनवरत युद्ध र रामप्रसाद खरेलले बा कविता वाचन गरे । चन्द्र गुरुङले चुपचाप बगिरहेको त्रिशूली, देवान किरातीले मृत्युको गुलाफ, पुष्पा बोगटीले प्रश्नहरूको घेरा, मनु मञ्जिलले दसैँ र विवश पोखरेलले बग्दै बग्दै जाने छोरासँग शीर्षकका कविता प्रस्तुत गरे ।

फरक–फरक विषय र भावमा लेखिएका कविताले प्रेम, पीडा, स्मृति, सामाजिक यथार्थ र समयका प्रश्नलाई आ–आफ्नै ढङ्गले अभिव्यक्त गरेका थिए । कवितामा व्यक्तिगत अनुभूतिदेखि सामाजिक सरोकारसम्मका विषय समेटिएका थिए । कार्यक्रमको सहजीकरण नाट्यकर्मी सोनु जयन्तीले गरेकी थिइन्। इटहरीमा ‘काव्य डबली’ हरेक दुई महिनामा आयोजना हुँदै आएको छ ।


I feel love

एहसास