गीत
काठमाडौँ ।
कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन गरिएको छ। बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको कृतिमाथि समीक्षकहरूले वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, सङ्घर्ष र आशालाई कथात्मक रूपमा प्रस्तुत गरिएको बताएका छन्। समीक्षक नवीन विभाषले ‘खदामा’लाई नेपाली समाजका श्रमजीवी वर्गको प्रतिनिधि कथासङ्ग्रहका रूपमा व्याख्या गरे। उनका अनुसार कथाहरूमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, विशेषगरी महिला पात्रले भोग्ने उत्पीडन र त्यसबीचको आशावादी स्वर प्रस्तुत भएको छ। बहुभाषिक तथा पारलैङ्गिक पात्रमार्फत नेपाली भाषाको अभिव्यक्ति–क्षेत्रलाई समेत कृतिले विस्तार गरेको उनले बताए ।
समीक्षक विभूति भट्टराईले ‘खदामा’लाई वैदेशिक रोजगारीको पीडा र त्यससँग जोडिएका सामाजिक यथार्थ समेटिएको महत्त्वपूर्ण कथासङ्ग्रहका रूपमा चर्चा गरिन्। खाडी मुलुकमा रोजगारीका लागि जाने नेपाली महिलाले भोग्ने पीडालाई कृतिले प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले कथाहरूले नेपाली युवालाई प्रेरणा दिन सक्ने बताइन् । कथाकार महकले वैदेशिक रोजगारीका क्रममा अरबमा रहँदा आफूले देखेका, भोगेका र महसुस गरेका श्रमिक जीवनका अनुभवलाई कथामा रूपान्तरण गरेको बताए। कार्यस्थलदेखि अरबका गल्लीसम्म देखेका श्रमिकका दुःख, सङ्घर्ष, एक्लोपन, आशा र ससाना खुसीलाई कथासङ्ग्रहमा समेटिएको उनको भनाइ थियो ।
सल्यानको ग्रामीण परिवेशदेखि भारतको सिमला हुँदै संयुक्त अरब इमिरेट्ससम्मको श्रम–यात्रा महकको जीवनको महत्त्वपूर्ण अध्याय हो । किशोरावस्थामै श्रमको संसारमा प्रवेश गरेका उनले न्यून वेतनमा काम गर्ने श्रमिकका विविध अनुभव नजिकबाट अनुभूत गरेका थिए । तिनै अनुभव उनका कथाका विषय र संवेदनामा रूपान्तरित भएका छन् । नेपाल फर्किएपछि लोकसेवा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका महक हाल नेपाल सरकारका उपसचिव छन् । प्रशासनिक जिम्मेवारीसँगै साहित्यिक यात्रालाई निरन्तरता दिइरहेका उनका कथामा प्रवासी श्रमिक जीवन, सामाजिक विस्थापन र मानवीय संवेदनाका विविध तह देखिन्छन्। ‘खदामा’ उनको पहिलो कथासङ्ग्रह हो ।
